१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छठको अन्तिम तयारी:किनमेलमा व्यस्त महिला दिदीबहिनी

रौतहटकी प्रेमकुमारी यादव छठमा व्रत बस्न थालेको १० वर्ष पुग्यो। यस वर्ष पनि उनी व्रतको तयारीमा छिन्।यतिखेर उनी छठपर्वलाई आवश्यक सामग्री जुटाउन नारायणगढ बजारमा व्यस्त देखिन्छिन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन एक दिन मात्र बाँकी छ।छठमा चाहिने सामग्री किनमेल गर्न आएकी हुँ,’ शनिबार दिउँसो भरतपुर–६ गिता नगरबाट नारायणगढमा बजार किनमेल गर्न आएकी यादवले भनिन् ‘छठलाई चाहिने फलफूलदेखि पूजा सामाग्री लानु छ।’उनी चितवनमा पाँच वर्षदेखि बस्दै आएकी छिन्।छठका लागि शनिवार बेलुका नै खिर र रोटी पकाएर राख्ने उनले बताईन्।छठमा स्नान गर्न नारायणी नदी आउने योजना उनको छ।

क्षेत्रपुरकी सीता चौरसिया छठमा पहिलो पटक व्रत बस्दै छिन्।उनी पनि पूजा सामाग्री किन्न शनिवार व्यस्त थिइन्।‘पहिलो पटक व्रत बस्न लागेकी हुँ । सामान के के चाहिन्छ थाहा छैनन्,’ हाँस्दै उनले भनिन्, ‘पसले र साथीले भनेको आधारमा किनेकी छु।’

भारत घर भएकी सीता चौरासियाले यस पटकको यतै मनाउने तयारीमा छिन्।उनलाई पनि पूजाका सामाग्री किन्न भ्याई नभ्याई थियो।घरमा गएर पूजाको तयारी गर्नु छ,’शनिवार हतारमा देखिएकी चौरासियाले भनिन्, ‘किनमेल गरेर रोटी, खिर बनाउन जाने हो।’

छठमा बाँस र माटोका सामग्रीसँगै केरा, नरिवल, अमिलो, फलफूल, मर–मसला, धूप दीपलगायत सामान किनमेल गर्नेहरूको बजारमा निकै भिड थियो।

अर्घ्यका लागि आवश्यक बाँसबाट बनेका डाला, टोकरी, नाङ्लालगायतका सामानसँगै माटोबाट बनेका हात्तीको आकृति, ढकनी, दियो, कलशजस्ता सामानको किनमेलमा व्रतालुहरू भेटिएका थिए।

छठ गर्ने व्रतालुहरू सबैलाई एकै प्रकारका सामान चाहिने भएकाले त्यस्ता वस्तुहरूको माग अत्यधिक हुने गर्छ।अरू बेला बाँस र माटोका सामानको खासै बिक्री नभए पनि छठका बेला बिक्री बढ्ने गरेको व्यवसायी बताउँछन्।

आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।

छठको स्नानको लागि चितवनको नारायणी नदीलाई शृङ्गार गरिएको छ।तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ। 

समितिका पूर्व अध्यक्ष सुकेश कुमार गुप्ताले आइतबार दिउँसोसम्म सम्पन्न गर्ने काम भइरहेको बताए।उनका अनुसार शनिवार बेलुकासम्म ९० प्रतिशत काम सकिएको छ।भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेको उनले बताए। 

नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताए।पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ।३५ हजारको हाराहारीमा छठमा पूजा गर्न भक्तजन आउने उनको अनुमान छ। 

१६ वर्षदेखि नारायणी किनारमा व्यवस्थित रुपमा छठ पर्व मनाउन थालिएको हो।यस क्षेत्रमा नारायणी किनारसँगै माडीनगरपालिकाको रिउ,बाँदर मुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ।उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ।

प्रकाशित: २ मंसिर २०८० १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App