२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कामको खोजीमा ‘कालापहाड’

स्थानीय सरकार गाउँ–गाउँमा भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण जुम्लाका युवाहरू कालापहाड जान बाध्य भएका हुन्।

गाउँमा सिंहदरबार आएको भनिएको छ।तर रोजगारीको सम्भावना नदेखिएपछि युवाहरू विदेशिने क्रम रोकिएको छैन  । कामको खोजीमा कर्णालीका सर्वसाधारण ‘कालापाहाड’ जाने चलन अझै जारी छ।  जुम्लाको सिंजा गाउँपालिका –६ का देवीलाल रावतपनि त्यही क्रममा  मजदुरी गर्न भारत गएका छन्।

उनीसँगै गाउँका दुई दर्जन  युवाले एकै दिन घर छाडेको स्थानीय बुनकला रावतले बताइन्। ‘यति बेला हाम्रो सिंजा गाउँपालिकामा पुरुष भेटिने घर कमै छन्, ‘सिंजा–४  मिसन बुढा भन्छन्,  ‘छिमेकी गाउँपालिका कनकासुन्दी र हिमा गाउँपालिकाको अवस्था पनि उस्तै हो।’

सिंजा–६ वडामा मात्रै ४ सय ४१ घरधुरीको बसोबास छ। यहाँका अधिंकासं  पुरुष मजदुरीका लागि भारत पुगेको सिंजा–६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए।

‘यति बेला गाउँमा युवा कोही छैनन्। ज्याला मजदुरी गर्नसक्ने उमेरका सबै पुरुष भारत पसेका छन्, उनले भने, ‘गाउँमा महिला,वृद्धावृद्व र बालबालिका मात्रै छन्।

कामको खोजीमा पुरुष भारत गएपछि ग्रामीण क्षेत्रका अधिकांश गाउँघरमा महिला मात्रै भेटिन्छन्। जीविकोपार्जनका लागि गाउँघरमा आयआर्जनका गतिविधि नभएकाले पुरुषले गाउँ छाडेको स्थानीय महिला दिउली रोकाया बताउँछिन्।

‘गाउँघरमा रोजगार तथा ज्याला मजदुरीका कुनै गतिविधि नभएपछि युवा भारत पलायन रहर नभई बाध्यता हो, ’ उनले भनिन् ‘ज्याला मजदुरी गर्नसक्ने सिंजा क्षेत्रका सबै पुरुषहरू कार्तिक र मङ्सिरदेखि रोजीरोटीका लागि भारत पस्न थाल्छन्।’ 

गाउँ बस्ती पुरुषविहीन भएकाले महिला निकै समस्यामा हुन्छन्।‘हाम्रो गाउँमा त मर्दापर्दा पनि समस्या छ। रोकायाले भनिन्, ‘घर छाडेकाहरू फागुनदेखि नयाँ वर्ष सुरु हुने बेला सम्म मात्रै घर फर्किन्छन्।’  

 गरिबी सूचकाङ्कमा सबैभन्दा पछाडि रहेको सिंजा क्षेत्र बेरोजगारी अत्यधिक छ। आयआर्जनका अन्य उपाय नभएपछि भारत पस्नुपर्ने बाध्यता रहेको गाउँले बताउँछन्। अहिलेसम्म यहाँ एउटै पनि उद्योग वा कलकारखाना छैनन्। न त मजदुरहरू खप्ने कुनै आयोजना नै रहेको छ।

कृषि क्षेत्रमा व्यावसायिक खेतीका लागि कुनै प्रविधिसमेत कार्यान्वयन नभएकाले स्थानीयले आफूलाई व्यावसायिक बनाउन सकेका छैनन्। ‘गाउँघरमा केही काम नभएपछि पलायन हुनुको विकल्प छैन, अर्का युवा बिस्न बुढा भन्छन्, ‘काम गर्नसक्ने युवा जनशक्तिलाई गाउँमै टिकाइराख्न उनीहरूलाई व्यावसायिक सीप तथा लगानीको वातावरण आवश्यक छ। ’  

त्यस्तै  कृषि पेसा गर्ने रुचि भएकालाई प्रविधि सिकाएर उत्प्रेरित गर्नुपर्ने अन्य सर्वसाधारणको श्रम शक्ति जिल्लामै खर्च गराउन कुनै ठुलो आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन्।

यहाँका सर्वसाधारण  हिउँदे सिजनको खेतीपाती र घरायसी काम सकेपछि पुरुषहरू मजदुरी गर्न भारतका विभिन्न ठाउँमा जान्छन्। ‘भारतमा गएर मजदुरी नगरे खर्च चल्दैन, ‘युवा हरिबहादुर बुढाले भने, ‘घर छोडेर लामो समयका लागि मजदुरी गर्न नसक्ने मानिस २र४ महिना ज्यालादारीमा मजदुरी गरेर परिवारको खर्च जोहो गर्न भारत पस्ने गरेका हुन्।’  

खाली बस्नुभन्दा दुई तीन महिना घर बाहिर जान ऋण काढेर भए पनि लत्ताकपडा घर खर्च जुटाएर बाहिर निस्कनु राम्रो भएको उनको बुझाई छ।

कामको सिलसिलामा युवा र पुरुषहरू भारत तिर गएका कारण गाउँमा हुने काम देखि विकास निर्माण र अन्य काममा महिलाहरूको सहभागी हुने गरेका छन्।गाउँमा कोही बिरामी पर्दा समेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने गरेको सिंजाका स्थानीय बताउँछन्। स्थानीय सरकार गाउँ–गाउँ भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण युवाहरू कालापहाड जान बाध्य भएका हुन्। स्थानीय सरकारले रोजगारी सृजना गर्न नसकेको  उनीहरु बताउँछन्।

व्यवस्था परिवर्तन भएपनि आफूहरूको दैनिकी नफेरिएको जुम्लाका युवाहरूको पिडा छ।गाउँमा रोजगारीका लागि अवसर नै नहुँदा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता रहेको युवाहरूको दुखेसो  छ।

प्रकाशित: १ मंसिर २०८० ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App