१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

विपद्मा हातेमालो

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।

भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो।लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड सहयोग गर्ने निर्णय गर्यो।पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो।

दुई वडाध्यक्षको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी, नगरप्रहरीसहितको उद्धार टोली रुकुम पश्चिम र जाजरकोटमा खटिएको थियो ।महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगसमेत घोषणा गरेको छ। महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको महानगर प्रमुख धनराज आचार्यले बताए।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् ।नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यको १५ दिन बराबरको तलब भूकम्पपीडितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का प्रदेशसभा सदस्यले एक हप्ताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन्।

बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका स्थानीय तहले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए।जिल्लाबाट सबैभन्दा पहिला बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए।‘विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो, हामीले त्यसैलाई सक्दो रुपमा निभाएका हौँ, भूकम्पपीडितको राहतमा सबैले हातेमालो गरौँ’, उनले भने।

भूकम्पपीडितलाई राहत वितरण 

पोखरास्थित पब्लिक फोरके टेलिभिजनको पहलमा रुकुम पश्चिमका भूकम्पपीडितका लागि सङ्कलित राहत सामग्री शनिबार वितरण गरिएको छ।आठबिसकोट नगरपालिकाका एक सय भूकम्प प्रभावित परिवारका लागि प्याकेजसहितको राहत सामग्री प्रदान गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए।

‘त्रिपाल, ओढ्ने, ओछ्याउने कपडा, खाद्यान्नलगायत झण्डै रु १० लाख बराबरको राहत सामग्री भूकम्पपीडित परिवारलाई वितरण गरेका छौँ’, उनले भने ‘टेलिभिजनको पहलमा विभिन्न शुभेच्छुक सङ्घसंस्था र व्यक्तिबाट राहत सामग्री जुटाइएको हो।’

भूकम्पबाट घरबारविहीन भएका परिवारको आहतमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले पोखरामा राहत सङ्कलन गरिएको प्रबन्ध निर्देशक क्षेत्रीले बताए।आठबिसकोटका एक सय परिवारलाई एक महिनासम्म खाना र बस्न सहज हुने गरी राहत सामग्री उपलब्ध गराइएको उनको भनाइ छ।

राहत लिएर गएको टेलिभिजनका पत्रकारसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत रिर्पोटिङसमेत गरेको प्रबन्ध निर्देशक क्षेत्रीले बताए।उक्त राहत टोली शुक्रबार साँझ पोखराबाट रुकुम पश्चिम पुगेको थियो।  

प्रकाशित: २६ कार्तिक २०८० ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App