७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सुत्केरी र बालबालिकाको बिजोग

जाजरकोटको भेरी नगरपालिका–३ की शर्मिला विक एक महिनाकी सुत्केरी हुन। शुक्रबार राति भूकम्प जाँदा उनी ३० दिनकी छोरीलाई दुध खुवाउँदै थिइन्। घर हल्लिन थालेपछि हतारहतार बाहिर निस्केकी उनले आफूसँगै छोरी पनि बचाइन्।खुला आकाशमुनि आइपुगेकी उनले आराम गर्न, राम्रोसँग पेट भर्न पाएकी छैनन्। आराम गर्ने र पोसिलो खाने समयमा भूकम्पले घरबाट सडकमा पुर्‍यायो।

आफैँले राम्रो सँग खान पाएकी छैन, छोरीका लागि पुग्ने दुध कहाँबाट खुवाउनु ? ’उनले भनिन, ‘कसरी छोरीलाई बचाउने होला भन्ने चिन्ता छ।’भएका कपडा र खानेकुरा घर लडेर पुरिए। उनले छोरीका लागि न्यायो कपडा पाएकी छैनन्। चिसोमा सेक्न पाएकी छैनन्।

ओत लाग्न उनले मंगलबार मात्रै एकसरो पाल, आढ्न ब्ल्यांकेट र ओछ्यान म्याट्रेस पाएकी छन्। भाँडाकुडा भने पाइनन्। छिमेकीले दिएको एकसरो भाँडाबर्तनले काम चलाएकी छन्।

वडा कार्यालयले दिएको पालबाट राति शीत झरेर भिजाउँछ। ‘शीतबाट बचाउन रातभरि छोरीलाई काखीमा च्यापेर राख्छु,’ उनले भनिन्, ‘कति दिन यस्तै कष्टकर दैनिकी बिताउनुपर्ने हो भनेर चिन्तित छु।’ लक्ष्मी विकले आफ्नी नौ महिने छोरीको नाम सहारा राखेकी छन्। बुढेसकालमा छोरी आफ्नो सहारा बनून् भन्ने उद्देश्यले त्यस्तो नाम राखिएको हुन सक्छ। तर अहिले छोरीलाई सहारा दिन लक्ष्मीलाई समस्या भइरहेको छ। भूकम्पले घर भत्काएपछि उनको बास अहिले बारीमा छ। 

भूकम्पको पाँच दिनपछि वडा कार्यालयले एकसरो राहतका सामग्री दिएको छ। सासूससुरासहित पाँच जनाको परिवार वडाले दिएको पालभित्र अटाउँदैनन्। ६ दिनदेखि पोसिलो खानेकुरा उनको मुखमा गएको छैन। ‘दुई छाक त नखाएरै बिताएँ, छोरीलाई छिमेकीले भात दिए,’ उनले भनिन्, ‘अहिले वडाले एक बोरा चामल र पाँच किलो दाल लिएको छ, त्यसैले गुजारा चलाइरहेका छौं।’

कल्पना शाहको अवस्था पनि शर्मिला र लक्ष्मीको जस्तै छ। भूकम्पले घर भत्काएदेखि उनले राम्रोसँग खान पाएकी छैनन्। डेढ महिनाको छोरो अनुषले अघाउने गरेर दुध खान पाएका छैनन्। यहीँ विपत्तिमा छोरो बिरामी हुँदा कल्पनालाई झन् चिन्ता बढेको छ। ‘छोराको शरीर सुन्निएको छ, आँखा पाकेका छन्,’ उनले भनिन्, ‘डाक्टरले आमाले पोसिलोे, झोलिलो खानेकुरा खाएपछि छोरालाई सन्चो हुन्छ भन्छन्, कहाँबाट यस्तो समयमा पोसिलो खानेकुरा खुवाउनु ?’

कमला सुनारको आठ जनाको परिवार छ। साथमा पाँच महिनाको छोरा छ । वडा कार्यालयबाट उनको परिवारले एकसरो पालबाहेक केही पाएको छैन। भएको अन्न र लत्ताकपडा भूकम्पसँगै ढलेको घरमुनि च्यापिएका छन् । कमला सुत्केरी र गर्भवतीको पीडा र समस्या सरकारले नबुझेको बताउँछिन्। ‘हामीले खान नपाउँदा हाम्रा बालबालिकाले खान पाउँदैनन्, चिसोमा न्यानो चाहिने बेला अहिलेसम्म एकसरो पाल मात्रै पाएका छौं,’ उनले भनिन्, ‘राहत आएको देख्छौं, हाम्रा लागि आएको राहत सामग्री अहिलेसम्म हामीले प्रयोग गर्न पाएका छैनौं ।’ उनी आफ्ना सन्तानलाई न्यानो कपडा दिने दाताको खोजीमा छिन्।  

‘किन्न पैसा छैन, अहिलेसम्म कोही दिन आएका छैनन्,’ उनले भनिन्, ‘जुन दिनदेखि घरबाट भूकम्पले सडकमा पुर्‍यायो, त्यहीँ दिनदेखि छोरालाई सन्चो छैन।’ पालमुनि चिसो भुइँमा सुत्नुपर्दा छोरासँगै परिवारका सबै सदस्य बिरामी परेको उनको भनाइ छ। ‘पालबाट चुहिने शीतका थोपाले सबैलाई बिरामी बनाएको छ, रात कठ्यांग्रिएर कटाउनुपर्छ,’ उनले भनिन्, ‘परिवारका सबै सदस्य अट्ने, शीत नचुहिने पालका साथै ओढ्ने र ओछ्याउने कपडा भइदिए सहज हुन्थ्यो।’

सरकारी तथ्यांकअनुसार जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ सदस्य विस्थापित भएका छन्। जाजरकोटको भूकम्पमा परेर २९ बालक र २२ बालिकासहित १०१ जनाले ज्यान गुमाएका छन्। बालरोग विशेषज्ञ डा. नवराज केसीले भूकम्पको असर बालबालिकामा देखिन सुरु भएको बताए। ‘अहिले बालबालिकामा रुघाखोकी, पखाला देखिन थालेको छ,’ उनले भने, ‘चिसो र पोसिलो खान नपाउने हो भने यसले ठुलो समस्या निम्त्याउने सम्भावना छ।’

उनले अभिभावक गुमाएका बालबालिकामा मानसिक समस्या देखिने सम्भावना रहेको भन्दै बेलैमा यसतर्फ सरकारले सोच्नुपर्ने बताए। डा. केसीका अनुसार आवश्यकताका आधारमा भन्दा पनि दाताले सहयोगस्वरूप दिएक सामानहरू पीडितसम्म पुर्‍याउन नहुने बताए। ‘चिसो ठाउँमा राज्यले त्रिपाल वितरण गरेको छ, यसले सीतालाई छेक्न सक्दैन्, राज्यले सहयोगीहरूलाई बरु २० वटा त्रिपालको सट्टा एउटा मात्रै टेन्ट दिनुहोला भन्नुपर्ने हो,’ उनले भने, ‘त्रिपालमा ओत लागेका बालबालिकामा शीतांग देखिन थालेको छ।’ 

प्रकाशित: २३ कार्तिक २०८० ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App