२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढुवानी गर्दा पशुलाई चरम यातना

पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वा वध गर्नुअघि चरम यातना दिन नपाइने कानुन नेपालमा पटक पटक बनेका छन्। तर, यसको कार्यान्वयन भने अझै हुन सकेको छैन। यसको उदाहरणका रुपमा मासुका लागि काठमाण्डौँ लगिने राँगा र भैँसीको ढुवानीलाई लिन सकिन्छ।

नारायणगढ-मुग्लिन सडक खण्डबाट दैनिक सयौं राँगा, भैँसीलाई कष्टपूर्ण यातना दिएर काठमाडौँ लगिन्छ। यसरी पशु ढुवानी गर्दा सामान्य मापदण्ड पनि पुरा नगर्ने गरेको एनिमल नेपालकी सुपरभाइजर दिपा केसीले बताइन्।

‘राँगा भैँसीलाई १ दशमलव २७ वर्गमिटर स्थान उपलब्ध गराउनुपर्छ। दोहोरो राखेर लैजान पाइँदैन। ड्राइभर तर्फ मुन्टो बनाउनुपर्दछ,’ उनले भनिन्, ‘यहाँ धेरै अटाउनका लागि दोहोरो राखिन्छ। पुच्छर र नाकमा बाँधेर यातना दिँदै लगेको भेटिन्छ।’

उनका अनुसार एउटा ट्रकमा २० वटाभन्दा बढी भैँसी बोक्न पाइँदैन। तर यहाँ बढी राख्ने गरिएको छ। राँगा तथा भैँसीका चोटपटक लाग्ने गरी बाँधेर लैजाने गरिन्छ।

पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको त्यति चासो देखिँदैन। हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्छ। तर भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिन्छ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ। त्यो पनि पालना गरेको पाइँदैन। आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा व्यवसायीले गन्तव्यमा नपुगुन्जेल दाना पानी नखुवाउने एनिमल नेपालले जनाएको छ।

शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नुपर्ने हुन्छ। राँगा र भैँसीसँग पाडा पाडी समेत मिसाउन पाइँदैन। तराईबाट खरिद गरिएका राँगा, भैँसी रातारात भोक भोकै राजधानीसम्म ढुवानी गरिन्छ।

रामनगरमा रहेको क्वारेन्टइनले समेत पशु ढुवानीलाई कडाइका साथ नहेरेको सरोकारवाला पक्ष बताउँछन्। सामान्य अवस्थामा दैनिक ५ देखि १२ वटासम्म र चाडपर्वमा २० देखि ४० सम्म राँगा, भैँसी र पाडा, पाडी बोकेका ढुवानी साधनहरू राजधानी भित्रने गर्छन्।

यसरी लैजाने राँगा भैँसीलाई रगताम्य हुने गरी कुटपिट गर्दै लगिन्छ। धेरै जसोले त गाडीमा चढाएदेखि नओरालेसम्म खानेकुरा र पानीसमेत नखुवाई लैजाने गर्दछन्। कानुन बने पनि राजमार्ग भएर राजधानी लगायत देशका विभिन्न भागमा लगिने पशुहरूलाई यातना दिने क्रम रोकिएको छैन।

प्रकाशित: २१ कार्तिक २०८० ११:५७ मंगलबार

पशुलाई चरम यातना पशु भैँसी राँगा