टीकापुरमा रहेका विद्युतका फलामे पोलले दुर्घटना निम्त्याउने खतरा छ। धेरैजसो फलामे पोल टीकापुर नगरपालिका वडा नम्बर-१ का विभिन्न ठाउँमा छन्। वर्षौदेखीका फलामे पोल जीर्ण समेत बन्दै गएका छन्।
कतिपय फलामे पोल ढल्ने अवस्थामा छन्। यस्ता पोलले कुनैपनि बेला दुर्घटना हुनसक्ने देखिन्छ। बस्ती सँगैका जीर्ण फलामे पोल देखेर डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
‘अहिलेसम्म त त्यस्तो मानवीय क्षति भएको छैन’ स्थानीय बलबहादुर बोहराले भने –‘करेन्ट लागेर गाईबस्तु भने मरेका छन्।’
वर्षाको समयमा पानी पर्दा फलामे पोलमा करेन्ट प्रवाह हुन्छ। जसका कारण करेन्ट लाग्ने सम्भावना अधिक रहन्छ। मान्छेले होसियारी देखाए पनि गाई वस्तुलाई भने फलामे पोलका कारण करेन्ट लाग्ने गरेको छ।
नेपाल विद्युत् प्राधिकरणको टीकापुरस्थित कार्यालय नजिकै समेत यस्ता पोल देख्न सकिन्छ। कार्यालय परिसर भित्रै पनि फलामे पोल रहेका छन्। अझ कतिपय ठाउँमा त फलामे पोल माथि ट्रान्समिटर समेत राखिएको छ।
टीकापुर नगरपालिका वडा नम्बर-१ पार्करोडमा फलामे पोल माथि ट्रान्समिटर देख्न सकिन्छ। विगत लामो समयदेखिको फलामे पोलमा खिया समेत लागेको छ। हावाहुरी चलेको समयमा ट्रान्समिटर सहितको फलामे पोल ढल्न सक्ने खतरा रहेको स्थानीय बताउँछन्।
नेपाल विद्युत् प्राधिकरण टीकापुरका प्रमुख कपिल जोशीले कुनै दुर्घटना नभएसम्म फलामे पोल हटाउन आवश्यक नरहेको बताए। उनले फलामे पोलकै कारण जोखिम छ भन्न नमिल्ने बताए।
‘त्यति धेरै जोखिम छैन। अहिले नै सबै फलामे पोल हटाउन आवश्यक पनि छैन’ उनले भने –‘कुनै समस्या भयो भने हटाउनु पर्छ। त्यतिबेला हटाउनु पर्ला।’
नेपाल विद्युत् प्राधिकरणले सकेसम्म फलामे पोल हटाउने नीति लिएको छ। उसले तत्काल सबै फलामे पोल हटाउने कुरा कठिन भएकाले पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन। तत्काल काम गरेको छ भने त्यस्तो पोल हटाउन आवश्यक नहुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। ‘बिग्रेको छ भने त हटाउने नै हो’ उनले भने –‘काम गरिरहेको छ भने हटाउन परेन।’
उनले बस्तीमा फलामे पोल हुनुले जोखिम निम्तिने कुरा भने स्विकारेका छन्। उनले त्यस्तो जोखिम भएको ठाउँबाट समेत फलामे पोल तत्काल हटाउन सकिने बताए।
टीकापुर नगरपालिका वडा नम्बर १ का कतिपय ठाउँमा विद्युत् विस्तारका क्रममा तत्कालीन समयमा फलामे पोल प्रयोग गरिएका थिए। ती मध्ये कतिपय फलामे पोल भने हटाइएका छन्। विद्युतले पछिल्लो समय फलामे पोलको सट्टा सिमेन्टको पोल प्रयोग गर्न थालेको छ।
प्रकाशित: १९ कार्तिक २०८० १५:०३ आइतबार