२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपमेयर सरिता सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ

बायाँबाट बग्दै गरेको नलगाड र दायाँबाट बगेको ठूली भेरी नदीको संगमस्थल त्रिवेणी घाटमा लहरै १२ वटा शवदाह स्थल तयार गरिएको थियो।

नलगाढ नगरपालिका भरीका स्थानीयहरू उपमेयर सरिता सिंहसहितलाई अन्तिम श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।

आइतबार दिउँसो भूकम्पमा परेर ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिन स्थानीयसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायत पनि उपस्थित थिएँ।

उपप्रधानमन्त्री खड्काले उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरे। केही बेर अघिसम्म शान्त रहेको त्रिवेणीमा कोलाहल सुरू भयो। आफ्ना प्रियजनको अन्तिम बिदाइमा त्रिवेणी पुगेकाहरूको आँखा भिज्न थाले। 

'भूकम्पले नवगाडले उपमेयरसहित ५५ जनालाई लग्यो,' वडाध्यक्ष छवि पन्तले भने, 'उहाँहरू गुमाउँदाको पीडा त छँदैछ, पालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ब्यत्तिहरू गुमाउँदा ठूलो क्षति व्यहोर्नु परेको छ।'

भूकम्प जाँदा उपमेयर जिल्ला सदरमुकाम खलङ्गा थिइन्। उनले त्यहीँ ज्यान गुमाइन्। श्रद्धाञ्जली र दाहसंस्कारका लागि सिंहलाई नलगाढ ल्याइएको थियो। वडाअध्यक्ष पन्तका अनुसार भूकम्पमा मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प पीडितहरूको उपचार, राहत र पुनर्स्थापना सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एक दिनमा घाइतेहरूलाई उद्धार गर्न आफूहरू सफल भएको बताउँदै आइतबारदेखि राहत सामाग्री वितरणको काम सुरू गरिएको बताए।

'दुई दिनभित्र सबै भूकम्प पीडित नागरिकसम्म पुग्ने गरेर राहत सामाग्रीहरू पठाएका छौँ, केही आउँदै छ,' उनले भने, 'जसरी भूकम्पमा परेर घाइते भएकाहरूको उद्धार गर्‍यौँ, त्यहीँ गतिमा तत्कालीन राहत पुर्‍याउने काममा लाग्छौँ।' 

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुन निर्माणको काममा आफूहरू लाग्ने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिइएको बताए।

प्रकाशित: १९ कार्तिक २०८० ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App