२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकीमा पक्की पुल बनेपछि सहज बन्याे स्थानीयकाे दैनिकी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर तीन स्थित हर्दिमा ६५ घरधुरी छन् । नदी र जङ्गलको बिचमा रहेको हर्दि गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य उपचारदेखि किनमेल गर्ने ठाउँ तनहुँको देवघाट हो।

देवघाट पुग्न कालीगण्डकी नदी पार गर्नुपर्छ । तर, उनीहरूलाई वारपार गर्न पुल नहुँदा सास्ती हुन्थ्यो।एक वर्षदेखि भने कालीगण्डकी नदी माथि पक्की पुल बनेपछि उनीहरूलाई सहज भएको छ।

तनहुँ र नवलपुर जोड्न पुल बनेपछि नवलपरासी र तनहुँका मानिसहरूलाई आवत जावत गर्न धेरै सजिलो भएको हर्दि टोल विकास संस्थाका अध्यक्ष ठाकुरप्रसाद गुरुङ बताउँछन्। ‘उपचारदेखि दैनिक सामान नुन तेल किन्न देवघाट जानुपर्छ । पहिले त्यहाँ जाँदा डुङ्गाको प्रयोग गर्नुको विकल्प थिएन । एक दुई घण्टासम्म डुङ्गा कुर्नुपदथ्यो’, विगतका तितो अनुभव सम्झना गर्दै गुरुङले भने ‘माथिबाट पसेको तल पुगिन्थ्यो । भेलमा डुङा पल्टने डर उस्तै हुन्थ्यो ।’ 

पुल नहुँदासम्म देवघाट जान तीन चार घण्टासम्म लाग्ने ठाउँमा अहिले १५ मिनेटमा पुग्ने गरेको उनले बताए । त्यतिखेर यहाँ मानिसहरूलाई बर्खामा वारपार गर्न निकै समस्या थियो । डुङ्गामा जोखिम मोलेर तर्दा कति मानिसहरूको ज्यान समेत जाने गरेको देवघाट गाउँपालिका वडा नम्बर पाँच देउपुरकी गौरी गुरुङ बताउँछिन् ।

 ‘बर्खा लागेसँगै कालीगण्डकी उर्लेर आउँछ । हर्दि जाँदा डुङा तर्नुपर्ने । डुङ्गामा दुई तीन जनाभन्दा चढ्न नपाउने । कोसेली बोकेर पालै पालो तर्नुपर्ने । कहिले त दिनभर लाग्थ्यो । कतिलाई कालीगण्डकीले बगायो,’ स्कुटरमा आएकी गुरुङले तल बगेको कालीगण्डकी देखाउँदै भनिन् ‘एक किलोमिटरको दुरीमा रहेको माइत जान हिउँद कुर्नुपथ्यो ।’ पुल बनेपछि जतिखेर पनि आउजाउ गर्न सकिने उनले बताइन् ।

अहिले बनेको पक्की पुलका छेउमा पाँच वर्षअघि मात्र झोलुङ्गे पुल बन्यो । त्यसले डुङा तर्नुपर्ने बाध्यता त हट्यो । तर यातायातका सवारी साधन भने पुगेका थिएन । देवघाटमा सवारी साधन राखेर नै मानिसहरू हर्दि तर्फ लाग्थे । हर्दि ससुराली भएका देवबहादुर गुरुङ पक्की पुल बनेपछि सवारी साधनमै जान सहज भएको बताउँछन् । ‘पारी(हर्दि) जान दुई घण्टा लाग्थ्यो, अहिले १५ मिनेटमै पुगिन्छ, खुसी हुँदै’, गुरुङले भने ‘सडक पनि पिच भए अझ सहज हुने थियो ।’

गुरुङ, मगर, क्षेत्री, भुजेल समुदायको बसोबास रहेको हर्दिमा स्वास्थ्य चौकी छैन । एउटा प्राथमिक विद्यालय छ ।  हर्दिबाट गैँडाकोट जान आठ किलोमिटर जङ्गलको बाटो छिचोल्न त्यति सम्भव थिएन ।  विद्यार्थीहरू पढ्नका लागि कालीगण्डकीको भेलसँग पौठेजोडी खेल्दै देवघाट नै जाने गर्दथे । अहिले पुल बनेपछि विद्यार्थी र स्वास्थ्य उपचारका लागि जान समेत यहाँका मानिसहरूलाई सहज भएको छ । विद्यार्थी लिन निजी स्कुलका बसहरू घरघरमा पुग्छन्।

कालीगण्डकी नदीको अन्तिम बिन्दुमा बनेको यो पक्की पुल हो । यसले तनहुँ र नवलपुरलाई जोडेको छ । सरकारले मुख्य राजमार्गको बाइपास सडक निर्माण गर्ने गरी यहाँ पुल बनाएको हो । संघिय सरकारले २०७३ सालमा पुल निर्माण गर्न २४ करोड ५५ लाख रुपैयाँमा ठेक्का दिएको थियो । ठेक्का पाएका चुँदी कन्स्ट्रक्सनले २०७९ असोज महिनामा सरकारलाई हस्तान्तरण गरेको छ। यस पुले नवलपुर र तनहुँको विकासमा सहज हुने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउँछन् । ‘पुलले देवघाट गाउँपालिकालाई धेरै फाइदा पुराएको छ। 

बुटवल, पाल्पा जाने गाडी नारायणगढ नगई गैँडाकोटबाट छिरेर देवघाट, दासढुंगा निस्केर काठमाडौँ, पोखरा जान सकिन्छ’, उनले भने ‘हर्दि, केलादी र देवघाटको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत धेरै टेवा पुग्छ।’

दुई सय मिटर लम्बाईमा बनेको पुलको चौडाइ ११ मिटरको छ । जसमा साढे तीन मिटरको फुटपाथ र साढे सात मिटरको गाडी गुड्ने भाग रहेको चुँदी कन्स्ट्रक्सनका साइड इन्जिनियर शम्भु शाहले जानकारी दिए । उनका अनुसार, कोरोनाको समयमा दुई पटक म्याद थप भएर निर्माण सम्पन्न भएको हो।

सडक विभागले नारायणगढ मुग्लिन सडक खण्डको वैकल्पिक मार्गको रुपमा यस सडकलाई हेरेको छ।गैँडाकोटदेखि तनहुँ हुँदै मुग्लिङसम्म नयाँ ट्र्याक खोल्ने गरी सडक विभागले मन्त्रालयमा प्रस्ताव पठाएको छ। हर्दिदेखि पाँच किलोमिटर रहेको कालीगण्डकी कोरिडोरसम्मको सडक विस्तार गर्ने हो भने यात्रा सहज हुने गैँडाकोट नगरपालिका वडा नम्बर तीनका अध्यक्ष शिवकान्त  तिवारी बताउँछन् । पुल बनेपछि दासढुंगा गैँडाकोट जोड्ने रिङ रोड भएको उनले बताए । 

अहिले दासढुंगादेखि देवघाटसम्म पक्की सडक छ।हर्दिदेखि कालीगण्डकी कोरिडोरसम्मको पाँच  किलोमिटरको ट्र्याक भर्खर खोलिएको छ। उता ब्रिटिस क्याप तर्फको आठ किलोमिटर भने ट्र्याक समेत खोलिएको छैन। नवलपरासी–तनहुँ तर्फको ३८ किलोमिटर दुरीमा ट्र्याक खोल्न सके नारायणगढ–मुग्लिन सडकको वैकल्पिक राजमार्ग बनाउन सकिने यातायातका कर्मचारीहरू बताउँछन्। 

प्रकाशित: १४ कार्तिक २०८० ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App