बर्खाको समयमा सुनसरी दुहवी वडा नं. ११ तनमूना मुसहर टोलकी पुसोदेवी ऋषिदेवको परिवारलाई कहिल्यै आनन्दले दिन बिताएको याद छैन।
उनको घरमा असारदेखि भदौंसम्म सामान्य पानी पर्दा पनि घरभित्र पसेर जलमग्न हुने गथ्यो। जसले गर्दा उनको परिवारले बर्खाको बेला कहिल्यै आनन्दले बस्न पाएका थिएनन्। तर, अब भने उनको परिवारलाई ती दुःखका दिन हटेका छन्।
‘जहिल्यै बर्खाको बेला घरभित्र पानी पस्ने अनि राति पानी फ्याकेर गाईबस्तुलाई ओछ्याउने पराल ओछ्याएर सुत्नुपर्ने दिनबाट अब चाहिँ पार पाइयो,’ पुसोदेवीले भनिन, ‘अब भने नगरपालिकाले घर नै बनाएर बस्न दिएपछि दुःखका दिन हटे।’
पुसोदेवीको परिवारका लागि एक महिनाअघि दुहवी नगरपालिकाले अति विपन्न परिवारका लागि निर्माण गरेका ८० वटा घर हस्तान्तरण गरेसँगै पुसोदेवीको परिवारले पनि घर पाएको हो। तनमूनाका वर्षेनी बाढीबाट पीडित भएका ऋषिदेव समुदायका थुप्रै परिवारले घर पाएका छन्।
‘अब त हाम्रा लागि नयाँ युग सुरु भए जस्तो लागेको छ,’ उनले विगतको अनुभव सुनाउँदै भनिन, ‘रातिको समयमा त हाम्रो बस्तीमा अब त हरेक दिन मेला लागेजस्तो हुन्छ।’ उनका अनुसार बस्तीमा पुरै झलमल्ल बत्ती बालिन्छ। अनि बस्तीभित्र खुल्ला बाटाहरु रहेका छन्। तिनै खुल्ला बाटामा सबै जना भेला भएर सुख दुःखका कुराकानी गरेर राति अबेरसम्म बस्छन्।
‘पुरुष जति प्रायः सबै बिहान ७ बज्दा बज्दै काममा हिडि हाल्छन,’ उनले भनिन, ‘महिलाको कामको सिजन भनेको धान रोप्ने र थन्काउने बेला हो। दिनभरि काम गरेर बस्ने कामकाजीहरुको बसोबास रहेको हाम्रो ठाउँमा राति खाना खाएपछि अबेरसम्म सबै जना भेला भएर सुख दुःखका कुराकानी गरेर बस्छौ, अनि बिहानै भएपछि आ–आफ्नो काममा लाग्छौँ।’
ऋषिदेव, पासवान, मण्डल, विश्वकर्मा, उराव, राम, खातुनलगायतका समुदायको बसोबास रहेको नगरप्रमुख आवास योजना अन्तर्गत निर्माण भएका घरहरु पाएपछि विपन्न परिवार दङ्ग परेका छन्।
‘दुई वर्षअघि बुढी खोला नदीले घर बगाएपछि दुहवी बजारमै कोठा भाडा लिएर बसेकी थिए, अहिले घर पाएर खुसी छु,’ रेखा विकले भनिन, ‘श्रीमानको भर नभएपछि तीन जना छोराहरु पाल्ने जिम्मेवारी काँधमा भएकाले हरेक महिना कोठा भाडा तिरेर बस्न गाह्रो भएको थियो। अहिले सारै सहज भएको छ।’
उनका श्रीमान् सम्पर्कविहीन भएको दस वर्ष बितिसकेको छ। ‘छोराछोरी र श्रीमती पाल्ने जिम्मेवारीबाट पन्छिनकै लागि सम्पर्कविहीन भएको पनि दस वर्ष बित्यो,’ उनले भनिन, ‘बुढी खोला नदीले घर बगाएपछि सारै समस्या भएको थियो। नगरपालिकाले ठूलो सहयोग गर्यो।’
दुहवी वडा नं. ११ कै रविना ऋषिदेवले सडक छेउ पूर्व कुसाहामा ऐलानी जग्गामा बस्ने गरेकी थिइन्। यति बेला नगरपालिकाले घर दिएको छ।
‘पहिला सडक छेउको ऐलानी जग्गामा फुसको घर थियो, छोराछोरीलाई सडक छेउ हुँदा जोगाउने समस्याले पिरोल्ने गथ्यो,’ रविनाले भनिन, ‘अब त्यस्तो कुनै समस्या छैन।’
दुहवी वडा नं. १० कै त्रेतरी मण्डललाई पनि अब हाइसन्चो भएको छ। ४५ वर्षीया उनले भनिन, ‘२२ वर्षदेखि ऐलानी जग्गामा बर्षैपिच्छे फुसको घर टाल्दा टाल्दा हैरानी हुनुपथ्यो, अब सधैंभरीका लागि पक्की घर पाइयो।’ उनका दुई छोरा र श्रीमान् दुहवी बजारमा राजमिस्त्री काम गर्छन्। तीन जनाको आम्दानीले गर्दा परिवार चलाउन पनि सहज छ।
आवास योजनामा लागि झन्डै सात करोड रुपैयाँ खर्च गरिएको छ। जसमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत दुई वर्षमा ९० लाख, करुण फाउन्डेसन संस्थाले ५० लाख र बाँकी नगरपालिकाकै बजेटमा घर निर्माण गरिएको इन्जिनियर हेमनारायण माझीले बताए।
प्रत्येक घरमा २ कोठासहित घर र शौचालय रहेको छ। नगरप्रमुख आवास योजना अन्तर्गत बनेका सबै घरमा यति बेला सबै जना विपन्न परिवारका कामकाजी बस्ने गरेका छन्। राति र बिहानै मात्र पुरुष भेटिन्छन्। दिउँसोको समयमा नगन्य मात्र भेटिन्छन्। महिलाहरू पनि प्रायः काम गर्न जान्छन्।
यहाँ दुहवी क्षेत्रका विभिन्न ठाउँका विपन्न परिवारलाई राखिएकाले गर्दा यो यस वर्ष भने नयाँ शैक्षिक सुरु भएको आधा वर्ष बिती सकेकाले गर्दा बालबालिकालाई पनि सकस भएको छ।
‘अरू सबै कुरामा हामीलाई सहज भएपनि बालबालिकालाई पढ्न पठाउन चाहिँ गाह्रो भइरहेको छ,’ बस्तीकी परमेश्वरी ऋषिदेवले भनिन्।
नगरप्रमुख वेदनारायण गच्छदारले भने विद्यालय स्थापना गर्ने योजना रहेकाले गर्दा यस वर्ष गाह्रो भएपनि आगामी वर्षदेखि सहज बनाएर लैजाने बताए।
प्रकाशित: ११ कार्तिक २०८० १३:१३ शनिबार