२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने

गौरीगंगा नगरपालिका–८, लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने भएको छ। तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैँ मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो। वर्षौदेखि साविकको मसुरियास्थित लिक्मामा चतुर्दशी दसैँ मनाइने गरिन्छ।  

कैलालीको मसुरियाबासीहरुले हरेक वर्ष चतुर्दशीका दिन दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिने गर्दछन्। राँगालाई महिषासुरको प्रतिक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।  

राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ।

यसवर्ष तिथि अनुसार शुक्रवार नै चतुर्दशी परे पनि दसैंको चौथो दिन नै हरेक वर्ष लिक्मामा चतुर्दशी दसैँ मनाउने गरिएको दसैं व्यवस्थापन समितिका अध्यक्ष गोपाल कलेलले बताए। उनले भने, ‘दिन गन्ती अनुसार नै हामीले लिक्मामा दसैँको चौथो दिन पारेरै चतुर्दशी दसैँ मनाउने गरेका छौँ।’  

२०५२ सालदेखि लिक्मामा चतुर्दशी दसैँ मनाउने गरिन्छ। सशस्त्र द्वन्द्वकालमा पनि लिक्मामा दसैँ मनाउन नछाडेको बताउँदै कलेलले भने, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि हामीले सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्दै सङ्कल्प बोलेर राँगो बलि दिने गरेका छौँ।’  

चतुर्दशी दसैँमा मसुरियास्थित बढैपुरमा भिडभाड लाग्ने गरेको छ। दिनभर मानिसहरु भेटघाट गर्ने, भोस्सो तथा कवाज खेल्ने र रातभर डेउडा खेलिने गरेको सुदूर संस्कृतिका जानकार तथा डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ले बताए। उनले भने, ‘पहाडमा मनाइने दसैँको झल्को लिक्मा दसैँमा मेटिन्छ।’

चतुर्दशी दसैँमा डोटी, कैलाली, कञ्चनपुरका ग्रामीण भेगबाट दर्शनार्थीहरु डेउडा खेल्न तथा रमाइलो गर्न लिक्मा पुग्ने गर्दछन्। चतुर्दशी दसैँ कैलालीकै चर्चित दसैँका रुपमा दर्शनार्थीहरुले लिने गर्दछन्।  

प्रकाशित: १० कार्तिक २०८० ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App