१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारत पुगेको गैंडालाई डुंगामा राखेर उद्दार

भारतको प्रिपासी भरपतीया क्षेत्रमा देखिएको चितवन निकुञ्जको गैंडालाई उद्धार गरी डुंगामा राखेर नदी तार्दै। फोटो सौजन्यः पुरुषोत्तम पाण्डे, चितवन निकुञ्ज ।

चितवन- गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै पनि जारी नै छ। बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार कार्य अरुभन्दा केही पृथक पनि भयो। भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा पनि चढाउनु परेको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले दिएको जानकारी अनुसार नेपालबाट करिब ७० किलो मिटर पर भारतको बिहार र उत्तरप्रदेश राज्यको सीमा क्षेत्र गण्डक नदीको भंगालो प्रिपासीको भरपतीया पुगेको गैंडालाई आइतबार नियन्त्रणमा लिइएको थियो । सो गैंडालाई सोमबार बिहान सबेरै चितवन निकुञ्जको सौराहा ल्याएर जंगलमा छाडिएको छ।

 ‘नदीको भंगालो तर्न गैंडालाई डुंगामा नै राख्नु परेको थियो’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने । सो गैंडा वयस्क पोथी भएको उनले बताए । यसअघि कात्तिक २३ मा मात्रै नवलपरासी त्रिवेणीसँग जोडिएको भारतको वालमिकी टाइगर रिजर्बको मदनपुर क्षेत्रमा पुगेको बयस्क पोथी गैंडालाई चितवन निकुञ्जको टोलीले उद्धार गरेको थियो । सोगैंडा नेपाली सिमानाभन्दा ३० किलो मिटर पर पुगेको थियो।

गएको साउन २८ मा निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा ठुलो बाढी आएको थियो । सो बाढीमा बगेर निकुञ्जका गैंडाहरु भारतीय क्षेत्रमा पुगेका थिए । यसरी बगेका मध्ये अहिलेसम्म भारतबाट नौ र नेपालबाट एक गैंडाको उद्धार गरिएको छ । अझै केही गैंडाहरु नेपालकै त्रिवेणी क्षेत्रमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

साउनको बाढीपछि भारतीय क्षेत्रमा गैंडा देखिएको भन्ने भारतीय वन अधिकारीकै सुचनाको आधारमा निकुञ्जको टोली गएको साउन ३२ गते गैंडाको खोजीमा गएको थियो । टोली साउन २० गतेसम्म २१ दिन भारतीय क्षेत्रमा बस्दा आठवटा गैंडाको उद्धार गरेको थियो । पहिलो पटक भदौ १ गते नेपाली सिमानाभन्दा ४२ किलो मिटर पर भारतको बगाहा क्षेत्रबाट एउटा पोथी गैंडाको उद्धार गरेको थियो।

त्यसपछि भदौ ४, ५, ६, ९, १०, १५ र १६ गते एक एकवटा गैंडाको उद्धार भएको थियो । भदौ १० मा नेपालको त्रिवेणी क्षेत्रमा भेटिएको एउटा भाले बच्चा गैंडा बाहेक अरु सवै गैंडा भारतीय क्षेत्रबाट उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । भारतीय क्षेत्रबाट उद्धार भएका गैंडाहरु सवै बयस्क पोथी हुन् ।  उद्धार गरिएका सवै गैंडा ट्रकमा राखेर ल्याइन्छ र सौराहा नजिक जंगलमा छाडिएको छ।

एक सिंगे गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा ६४५ वटा एकसिंगे गैंडा छन् । सवैभन्दा धेरै ६०५ वटा गैंडा चितवन निकुञ्जमा छन्। नयाँ वासस्थान र मानव बस्ति नजिक पुगेको गैंडा आक्रमक हुने र मान्छेसँग जम्काभेट भएमा आक्रमण गर्ने खतरा हुन्छ । यसका साथै तस्करको फन्दामा पर्ने डर पनि उत्तिकै हुन्छ ।

तस्करहरुले गैंडाको नाकमाथि हुने सिंग जस्तो बस्तु खागका लागि यसलाई मार्ने गर्छन् । गैंडा मार्नु कानुनी अपराध हो । गैंडा मारेमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैले गैंडा देखेमा नजिकको प्रहरी कार्यालय वा निकुञ्जको पोष्ट र मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा जानकारी दिन निकुञ्ज कार्यालयले सर्वसाधरणलाई अपिल गरेको छ।

 

प्रकाशित: ४ मंसिर २०७४ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App