२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

घोडा दौड प्रतियोगिताकी प्रतिस्पर्धी एक्ली सृष्टि कार्की

नेपालीको महान् चार्ड बडादसैँको हरेक वर्षको फूलपातीको दिन जुम्लामा घोडा दौड प्रतियोगितामा गरिन्छ।उक्त अवसरमा अहिलेसम्म सबै पुरुषले प्रतियोगितामा भाग लिने गरेको देखिन्थ्यो, तर यो वर्ष  जुम्लाको तातोपानी गाउँपालिका ३ लिताकोटकी १४ वर्षीया सृष्टि कार्की पहिलो पटक घोडादौडमा सहभागी भइन्।

उनी पुरुषहरूसँग घोडा दौड प्रतियोगितामा प्रतिस्पर्धी हुन सामेल भएको देखेपछि हेर्ने  दर्शकहरू अचम्मित भए।अचम्मित पर्नुको कारण थियो, घोडा दौडमा महिलाको सहभागिता विगत देखि अहिलेसम्म भएका घोडा दौडमा महिलाको सहभागिता भएको थिएन।

कार्की नै पहिलो हुन् जो घोडा दौड प्रतिस्पर्धामा उत्रिएकी। महिलाले घोडा चढ्न हुन्न भन्ने धार्मिक मूल्य मान्यता राख्ने गाउँमा उनी घोडा मात्रै चढिनन् पुरुषहरूसँग घोडा दौडको प्रतिस्पर्धामा उत्रिइन्।महिलाले घोडा चढ्ने कुरा मात्रै गर्दा पनि चौतर्फी कुरा काट्ने गर्थे।ती सामाजिक चुनौतीको सामना गर्दै उनी दसैँमा आयोजित घोडा दौडमा सहभागी भएकी हुन्। 

उनको घोडा कदम र चालमा उत्कृष्ट बन्यो।अघिल्ला वर्षमा कम उमेरका प्रतिस्पर्धी चर्चामा हुने गरेकोमा यो पटक सबैको चर्चाको केन्द्रमा सृष्टि परेकी थिइन।तातोपानी गाउँपालिकामा अवस्थित हिमशिखर माध्यमिक विद्यालय तातोपानीमा ८ कक्षामा अध्ययनरत सृष्टिले घोडा चढ्न थालेको एक वर्ष मात्रै भएको छ। 

पहिलो पटक घोडा चढ्दा निकै डर लागेको उनले बताइन्।डरलाई जित्दै घोडा चढ्न सिकेकी उनी घोडा दौडमा समेत सामेल भएकी छन्।ठूलो जीउ, बेलगाम दौडाइ र चर्को खिल्खिलाईका कारण नजिक जान डर लाग्ने जनावर घोडालाई सानो जिउ भएकी सृष्टिले सहजै नियन्त्रणमा लिइन ।

 उनको घोडा दौडाइमा सर्वत्र रुपमा चासो विषय बनेको थियो।सडक नपुगेको ठाउँमा यात्रालाई सरल र आरामदायी बनाउने घोडाको व्यापार पछिल्लो समय घट्दो छ।तर पनि सडक सुविधा नभएका ठाउँमा घोडा महत्त्वपूर्ण यातायातको साधन मानिन्छ ।रहर लागेर घोडा चढ्ने गरेको अनुभव सुनाउँदै सृष्टिले भनिन्, ‘एक वर्ष भयो। गाउँमा घोडा चढ्न सुरु गरेको ।’ उनको घरमा बुबा, आमा, दाइ र उनी छन्। बर्खायाममा घोडाघोडी पाटनको चरन क्षेत्रमा छोडिन्छ।

हिउँद लाग्ने बेला घर ल्याइन्छ।घोडा पाटन छोड्ने र घर ल्याउने काम उनका दाइले गर्छन्। घोडा घरमा भएको बेला बाजेसँगै चढेर गाउँ डुल्छिन्।प्रतिस्पर्धामा सृष्टिको घोडा दर्ता गर्न समितिले मानेको थिएन।१४ वर्षकी सानी मान्छेलाई प्रतिस्पर्धामा सहभागी गराउनु हुँदैन भन्ने समितिको जिकिर थियो । तर उनले मानिन्, घोडाको चाल र कदममा भाग लिएरै छाडिन्।घोडा दौडाउने क्रममा एकपल्ट लडिन् तर उनले हिम्मत हारिनन् । पुनः चढेर घोडा नियन्त्रण लिइन्। 

सानो भर्खर मात्रै चढ्न सुरु गरेको घोडा हुँदा उनले सोचे जसरी दौडाउन पाइनन्।‘यसपटक सृष्टिले प्रतियोगितामा सहभागीता जनाउँदा अत्यन्तै खुसी लागेको छ,’ कर्णाली कला केन्द्र तथा सांस्कृतिक मञ्चका अध्यक्ष आनन्द अधिकारीले भने, ‘सृष्टिको सहभागिताले आगामी दिनमा अरु दिदी–बहिनीहरूलाई पनि घोडा दौडमा सहभागी हुन हौसला मिलेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यका अनुसार पहिला जिल्ला पञ्चायत र पछि जिल्ला प्रशासनले नै घोडा दौडको आयोजना गर्ने गरेको थियो। ‘जिल्लाका सबै सरकारी कार्यालयका घोडा थिए।

हाकिम र बडाहाकिमहरू त्यसैमा सवार हुन्थे,’ उनले भने, ‘अहिले लोप हुने स्थितिमा पुगेपछि घोडा दौड गरेर जुम्ली घोडाको संरक्षण थालिएको हो ।विगतमा सरकारी तवरबाट घोडा दौड प्रतियोगिता हुन्थ्यो।यसको स्वार्थ भनेको सरकारी कामकाजमा यातायातको साधनको रुपमा उत्कृष्ट घोडा प्राप्त गर्ने थियो।अहिले भने घोडा संरक्षणका लागि प्रतियोगिता आयोजना हुन लागेका छन्।

प्रकाशित: ५ कार्तिक २०८० ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App