२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘स्वस्थ र सन्तुलित खानाले दसैंको स्वागत गरौं’

फाइल तस्वीर

दसैंमा मांसाहारीहरू मासुका विभिन्न परिकार बनाएर खान रुचाउँछन्। शाकाहारीहरूलाई भने मिठाइका अनेक परिकार नभए दसैं नै अपुरो जस्तो लाग्छ। परम्परागत दसैंमा आधुनिकता थपिएर कोकाकोला, फ्यान्टा, मदिरा जस्ता पेय पदार्थ समावेश हुने क्रम बढ्दो छ। यस्ता परिकारसहित दसैं मनाउँदा स्वास्थ्यमा पर्ने असरबारे भने हामीले ख्याल राखेका हुँदैनौं। कतिपय त दसैंकै खानाले बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार चार वर्षअघि नवमीको दिन मदिरा सेवन गरेको अवस्थामा हृदयाघात भएपछि एकजना उपचारका लागि उनीकहाँ पुगेका थिए। उनलाई दसैंका गरिष्ठ परिकारसहित मदिरा सेवन गरेका कारण हृदयाघात भएको थियो। उनको एन्जिओग्राम गर्नुपरेको थियो।

दसैंमा सन्तुलन मिलाएर खाना नखाँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी उत्पन्न हुन्छ। दसैंमा गलत खानपानका कारण बिरामी भएर उपचारमा आउनेको संख्या बढ्दै गएको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल बताउँछन्। ‘दसैंमा खाइने गरिष्ठ परिकारकै कारण मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल बढ्न जान्छन्,’ उनले भने।

परम्परागत रूपमा दसैं भन्नेबित्तिकै मासुको पर्व भनेर बुझिन्छ। नेपालमा दसैंका लागि भनेरै भारत र चीनबाट हजारौंको संख्यामा खसी, बोका, च्यांग्रा ल्याइन्छ। मासुका परिकार मिलाएर नखाँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा धेरैले ख्यालै राखेको पाइँदैन।

नेपालीको ठुलो पर्व दसैमा मासुसँगै अन्य चिल्ला, गुलिया परिकार अत्यधिक खाने चलन छ। यस्ता परिकार धेरै खाँदा मधुमेह, कोलेस्ट्रोल, मिर्गौला, उच्च रक्तचापका बिरामी थप जोखिममा पर्ने र स्वस्थ व्यक्तिहरूको स्वास्थ्यमा पनि जोखिम थपिने पोषणविद् बताउँछन्। दसैंमा अनिवार्य बन्दै गएको मदिराले पनि स्वास्थ्यमा जोखिम निम्त्याउने उनीहरू बताउँछन्।

अहिले मासुका अनेक परिकार बनाएर खाने चलन बढेको छ। रोस्ट, सेकुवा, पकुवासँगै तारेका परिकार खाने चलन छ। शाकाहारीमा पनि धेरै प्रकारका मिठाइ एकै दिन खाने, पाहुनालाई कोकाकोला, फ्यान्टा दिएर स्वागत गर्ने चलन बढेको छ।

यस्ता परिकार स्वस्थ र अस्वस्थ दुवैका लागि हितकारी नहुने पोषणविद् बताउँछन्। कोकाकोला, बट्टा वा प्याकेटका जुस जस्ता पेय पदार्थमा रसायन र चिनीको मात्रा अत्यधिक हुन्छ। त्यसले मधुमेह, उच्च रक्तचाप निम्त्याउने न्युट्रेसन काउन्सिलिङ एन्ड रिसर्च प्रालिका डाइटिसियन मोदनाथ पौडेल बताउँछन्।

अझ काठमाडौं उपत्यकामा त घरमा सदस्य कम हुने परिवारले प्रशोधित खाना अनलाइनबाटै मगाएर खाने चलन बढेको छ। होटेल, रेस्टुरेन्टमा बनेका यस्ता परिकारमा तेल तथा मसलाको प्रयोग बढी हुनाले स्वास्थ्यका लागि हानिकारक हुने त्रिवि शिक्षण अस्पतालकी डाइटिसियन नानीशोभा शाक्य बताउँछिन्। उनका अनुसार शाकाहारीले दसैंको नाममा खाने मिठा परिकारहरू जेरी, मिठाई आदिमा चिनीको अत्यधिक मात्रा हुनाले त्यसले मधुमेह र मोटोपना बढाउँछ।

अरू बेला रक्सी नपिउनेले पनि दसैंमा मजाले पिउँछन्। यसरी एकैपटक धेरै रक्सी पिउँदा उच्च रक्तचाप बढ्ने, मुटुमा समस्या आउने, कलेजो बिग्रिने समस्या आउन सक्छ।

दसैंका बेला अत्यधिक प्रयोग हुने मासु र मिठाइका परिकारले स्वास्थ्यमा धेरैै असर पार्ने हुनाले सन्तुलन मिलाएर खाँदा दसैं स्वस्थकर हुने शाक्य बताउँछिन्। खानामा मासुसँगै तरकारी, फलफूल, सागपात, भिटामिन ‘सी’युक्त कागती, अमला अनिवार्य रूपमा समावेश गर्नुपर्छ। मासुका परिकारसँगै राइता, अम्बा या दही अनिवार्य समावेश गर्न सकिन्छ। यस्ता खानाले भिटामिन ‘ए’ जन्य खाना मासु, साग, तरकारीबाट प्राप्त हुने फलाम तत्व सोस्न सहयोग पुर्‍याउँछन्।

दसैंको अचार बनाउँदा आलसको प्रयोग गर्नुपर्छ। आलसको प्रयोगले कोलेस्ट्रोल उच्च भएकालाई फाइदा पुग्छ। दसैंमा उच्च कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा कलेजोका बिरामीले विशेष ध्यान दिएर खानुपर्ने चिकित्सकको सुझाव छ।

पोलेको र धेरै तारेभुटेका मासुहरूमा पनि कार्सिजोनिक तत्वहरू बढी हुने भएकाले यस्ता परिकारको सट्टा कम तेल, कम मसला प्रयोग गरेका मासुको परिकार बनाएर खान सकिने शाक्यको सुझाव छ।

मासुको अचार बनाएर पनि खान सकिन्छ। मासु भुटेर पकाउँदा त्यसको पोषण तत्व पनि उडेर जाने भएकाले सकेसम्म बिस्तारै छोपेर पकाएको मासु स्वस्थकर मानिन्छ। मासु खाँदा आफ्नो तौलअनुसार खान सकिने डाइटिसियन शाक्यको सुझाव छ। उनका अनुसार शरीरको एक केजी तौलको लागि १ ग्राम मासुले पुग्छ। त्यही अनुपातमा आफ्नो तौल अनुसार मासु खान सकिन्छ।

शाकाहारी भोजन गर्नेहरूले दसैंमा बढी मिठाइका परिकार, कृत्रिम पेयपदार्थ समावेश गर्नुको सट्टा घरमा आउने पाहुनालाई लस्सी, घरमै जुस बनाएर, कागती पानी बनाएर पनि स्वागत गर्न सक्छन्।

शाहाकारीहरूको भोजनमा प्रोटिनको मात्रा कम हुने हुनाले मिठाइको सट्टा पनिर, गेडागुडीको तरकारी, बदाम, काजु, ओखरजस्ता खानेकुरा भोजनमा समावेश गर्नु उचित हुन्छ। पोलेको मासुमा क्यान्सरजन्य तत्वहरू ‘कार्सिजेनिक’को मात्रा हुन्छ भने भुटे तारेको मासुमा चिल्लोको मात्रा बढी हुन्छ। चिल्लो पदार्थले शरीरमा बोसोको मात्रा बढाउँछ। त्यसमा पनि पहिल्यै तौल बढी भएका, बढी मोटो मानिसहरूमा थप तौल बढ्ने र उच्चरक्तचाप बढ्ने जोखिम बढ्छ।

पोषणविद्हरूका अनुसार प्यांक्रियाजको काम इन्सुलिन कोषिकामा पठाउने हो। यो क्रममा प्यानक्रियाजले १० देखि २० मिलिलिटरको इन्सुलिन निकालेको हुन्छ।

भात, कोकाकोला फ्यान्टामा चिनीको मात्रा बढी हुने हुनाले दिनहुँ यस्ता खानेकुराको प्रयोगले शरीरमा इन्सुलिन रेसिस्टेन्स भएर टाइप दुई मधुमेह हुन्छ।

दसैंमा खानेकुरा खाँदा मासुको परिकार पनि शरीरको संरचनाअनुसार खाँदा उचित हुने डाइटिसियन पौडेलको सुझाव छ। बजारमा शरीरमा कति मासु, बोसो छ भन्ने थाहा पाउने जाँच गर्ने मेसिन पाइन्छ।

यो मेसिनमा जाँच गरी आफ्नो तौलअनुसारको बोसो तथा मासुको अवस्था पत्ता लगाई थप मासु, भात कति खान मिल्ने भन्ने कुराको पहिला नै निर्क्याेल गर्न सकिने पौडेल बताउँछन्। भोजनमा मासु र अन्नको सन्तुलन मिल्नुपर्छ। नमिले जोखिम समूहका व्यक्तिहरूमा समस्या थपिने उनीहरू बताउँछन्।

प्रकाशित: ४ कार्तिक २०८० ००:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App