२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

शुक्रबार उद्घाटन भएको सुनसरीकै लामो झोलुङ्गे पुल। तस्बिर: रोहित राई

धरानको वडा नं ५ स्थित आँपटारका बासिन्दा वडा कार्यालयमा केही काम पर्दा अधेरी खोला तरेर पूर्वतर्फ जानुपर्छ। खोला झरेर पारी पुग्न समय त लाग्छ नै, अझ वर्षाको बेला त ज्यानै जोखिममा पर्छ।

स्थानीयले वर्षा रोकिने समयको प्रतीक्षा गर्नु वा घुमेर अर्को वडा ६ पानवारी हुँदै जानुको विकल्प थिएन। खोला पारी ठिंगबारीका बासिन्दाहरूको अवस्था पनि उस्तै थियो। किनमेल गर्न, केटोकटीलाई स्कुल पठाउन, उत्पादन भएको कृषिजन्य सामग्री बजार लैजान समस्या थियो। धरान उपमहानगरपालिका भएर पनि अधेरी खोलामा पुल नहुँदा ठिंगबारी र आँपटारबासीले आवतजावतमै सास्ती भोगिरहेका थिए।

यो दुई गाउँको बिच भएर बग्ने अधेरी खोलामा अहिले झोलुङ्गे पुल बनेको छ। उक्त पुलको शुक्रबार एक कार्यक्रमबिच उद्घाटन भएर सञ्चालनमा आउँदा गाउँलेहरू असाध्यै खुसी देखिए। पुलको उद्घाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मेयर हर्क साम्पाङले रिबन काटेर गरेका थिए। ‘यो पुल बनेर हामीलाई धेरै नै सजिलो भएको छ। पहिला जस्तो वर्षाको बेला घुमेर जानुपर्ने बाध्यता हट्यो,’आपटारकी बासिन्दा रमिता राईले भनिन्,‘हामो केटाकेटीलाई बाल विकास पटाउँदा, मिलमा धान पेल्न जाँदा, वडा कार्यालय जाँदा धेरै समस्या हुन्थ्यो। अब त सजिलै खोला पार गछौं।’

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो। पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अर्थात ५०३ जना मानिसहरूको रहेको छ। पुल १ करोड ८ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा निर्माण गरिएको वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए। ‘यो पुल बनेर वडाका जनतालाई धेरै राहत मिलेको छ। केटाकेटी स्कुल जान, वडामा काम पर्दा आउजाउ गर्न, कृषि उत्पादन बजारतिर लैजान अब दुःख हुँदैन,’वडाअध्यक्ष लिम्बुले भने,‘यो सुनसरी जिल्लाकै लामो पुल पनि हो, त्यसैले पर्यटन विकास हुने आशा पनि गरेका छौँ।’

प्रकाशित: ३ कार्तिक २०८० ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App