९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

व्यावसायिक मापदण्ड पालना नगरे जरिवाना

अनुगमन समितिले ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे हुन सक्ने दण्ड र जरिवानाबारे सचेत गराएको छ। बिहीबार फुङलिङ नगरपालिकाको संयोजनमा भएको अनुगमनका क्रममा दर्ता प्रमाणपत्र कारोबार स्थलमा राख्नेदेखि प्रचलित मूल्यमा मात्र बिक्री गर्न पाउने, अखाद्यवस्तु बिक्री गर्न नहुने जस्ता विषयको पालनाका सर्त र प्रकृयाबारे जानकारी गराइएको हो।

अनुगमनका क्रममा बिल लिने-दिने प्रक्रिया पालना नभएको देखि इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने वस्तुको बिक्री वा सञ्चय गरे हुनसक्ने दण्ड र जरिवानाबारे सचेत गराएको अनुगमन कार्यदलले जनाएको छ।

स्वदेशमा उत्पादित तथा बिक्रीवितरण एवम् उपभोग गरिने वस्तु तथा सेवामा लगाइने शुल्कलाई अन्तःशुल्क भनिन्छ। मूलतः मानवीय एवम् वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ। ‘के कस्तो अवस्था र कतिसम्म दण्ड र जरिवाना लागु हुन्छ भन्नेबारे व्यवसायीलाई सचेत गराएका छौं,’ अनुगमन कार्यदल संयोजक तथा फुङलिङ नगरपालिकाका कर्मचारी तुलसा निरौलाले बताइन्।

अनुगमन कार्यदलले बिहीबार फलफूल तथा तरकारीजन्य बस्तुको बिक्री गर्ने पसलहरूको अनुगमन तथा निरीक्षण गरेको थियो। बुधबार माछा तथा मासुजन्य बिक्रीस्थलको अनुगमन तथा निरीक्षण भएको फुङलिङ नगरपालिकाले जनाएको छ।

 करदाता सेवा कार्यालयले दर्ता प्रमाणपत्र कारोबार स्थलमा सबैले देख्नेगरी नराखे प्रत्येक पटक १ हजार रूपैयाँका दरले जरिवाना हुने बताएको छ। यस्तै तोकिए बमोजिम करपाटी नराखेमा २ हजार रूपैयाँ जरिवाना लाग्ने भएको छ।

जाँच परीक्षणमा बाधा अवरोध गरेमो पटकैपिच्छे पाँच हजार तथा बिलबिजक नदिएमा र नलिएमा पटकैपिच्छे १० हजार रूपैयाँका दरले जरिवाना लाग्नेछ। कारोबारको लेखा अद्यावधिक नगरेमा र खरिदबिक्री खाता स्वयं प्रमाणित गरी नराखेमा १०÷१० हजार रूपैयाँ जरिवाना लाग्ने भएको छ।

यस्तै १० हजार रूपैयाँभन्दा बढीको ढुवानीमा कर बिजक साथमा नराखेमा पटकैपिच्छे १० हजार तथा कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकैपिच्छे २० हजार रूपैयाँ दण्ड र जरिवाना लाग्ने भएको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले व्यवसाय दर्ता तथा नवीकरणसहितका वैधनिक प्रकृया पालना नगरे आफैं कानुनी फन्दामा पर्नेतर्फ सचेत भइदिन व्यवसायीलाई आग्रह गरेका छन्। ‘खरिद गर्नेले पनि बिल लिनु पर्छ र बिक्री गर्नेले अनिवार्य बिल दिनुपर्छ,’ थापाले भने।

खरिद गर्ने चिजबस्तुको उपभोग गर्न सकिने म्याद एकिन गरेर मात्र खरिद गर्न उनले क्रेतालाई आग्रह गरेका छन्। व्यवसायीले म्याद नाघेका बस्तु बिक्री स्थलबाट हटाएर म्याद सकिएको संकेत गरी छुट्टै राख्न, मूल्य सूची सार्वजनिक ठाउँमा सबैले देख्ने गरी राख्न र प्रचलित दररेटभन्दा बढी मूल्य लिएर सामान बिक्री नगर्न ताप्लेजुङ उद्योग वाणिज्य संघले व्यवसायीलाई आग्रह पनि गरेको छ। 

प्रकाशित: ३ कार्तिक २०८० ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App