लागू औषध सहित तीन पक्राउ
लागु औषधसहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ बाट १ ग्राम खैरो हेरोइनसहित २२ वर्षीय रोहित तामाङ, बेलौरी नगरपालिका–६ बाट ०।३७ ग्राम लागू औषधसहित २६ वर्षीय टेकबहादुर चौधरी र बेलौरी नगरपालिका–७ बाट ९.७८ ग्राम लागू औषधसहित भारतका ४० वर्षीय महेन्द्र सिंहलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।
कार र चिनी कारबाहीका लागि भन्सार पठाइयो
चाडपर्व लक्षित चेकजाँचलाई तिब्र बनाएपछि भन्सार छलेर सुर्खेत भित्र्याइएको कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–११ बाट ५० बोरा चिनी र बा १८ च २७२२ नम्वरको कारसहित वीरेन्द्रनगर–६ का दिनेश बस्याललाई नेपालगञ्ज भन्सार कार्यालय पठाएको प्रहरीको भनाइ छ।
गतवर्ष भन्दा सस्तो मूल्यका खसीबोका
दाङका बाख्रा पालक किसान गतवर्ष भन्दा सस्तो मूल्यमा खसीबोका बेच्न बाध्य छन्। गत वर्ष पाँच सय ७० रुपैयाँ प्रतिकिलोका दरले बिक्रि गरेका किसानले यो वर्ष आठ रुपैयाँ कममा बिक्रि गर्दा मर्कामा परेको गुनासो गरेका छन्।
जलवायु परिवर्तनको असर बुझ्दै प्रधानमन्त्री
जलवायु परिवर्तनको वास्तविक अवस्था र यसअघिका घटनाबाट भोगेको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाल पारीको जिल्ला मुस्ताङ पुगेका छन्। जलवायु परिवर्तनबाट हुने क्षति रोक्न ५० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने दाहालको आश्वासन छ। स्थानीयवासी, राजनीतिक दल, प्रशासनिक निकाय, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) लगायतका निकायका पदाधिकारीसँग सुझाव माग गरेका छन्।
२७ हजार बढी पशुमा लम्पी स्किनविरुद्ध खोप प्रदान
२२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुसहित गत जेठदेखि हालसम्म चितवन जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आठ हजार दुई सय ५० खोप उपलब्ध गराउँदा अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यको भनाइ छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको मागसहित अनशन
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको मागसहित सप्तरीका रामकुमार दासको नेतृत्वमा संघर्ष समिति गठन गरी अनशन थालिएको छ। २०७५ पुस १६ गते प्रदेशको मन्त्रिपरिषद्ले राजविराजमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गर्दा २०७८ जेठ २१ को अर्को बैठकले नगरपालिकाको–१० नम्बर वडामा ६२ बिघा जग्गा ३० वर्ष लागि लिजमा दिने निर्णय गरेपनि निर्माणको काम भने अझै अनिश्चित छ।
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाई बढीको विश्वासको मत पाएका छन्। राप्रपाका ५ सांसद विपक्षमा उभिदाँ एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ८६ सांसद कार्कीको पक्षमा छन्।
प्रकाशित: १ कार्तिक २०८० १३:३३ बुधबार