९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सेनापतिको रोलक्रममा पाण्डे

नेपाली सेनाले भावी प्रधानसेनापतिको रूपमा उपरथी ताराध्वज पाण्डेलाई अघि सारेको छ । सेनाले युद्धकार्य महानिर्देशनालय प्रमुख उपरथी पाण्डेलाई रथी पदमा बढुवा सिफारिस गर्दै भावी प्रधानसेनापतिको रूपमा अघि सारेको हो । प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।  

अनिवार्य अवकाशमा जान लागेका रथी सरोजप्रताप राणा आइतबारदेखि बिदामा बसेपछि सैनिक मुख्यालयले उपरथी पाण्डेलाई रथी पदमा बढुवा सिफारिस गरेको हो । पाण्डे रथीमा बढुवा सिफारिस भएसँगै हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका हुन् ।  

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी सातदिने सूचनामा सैनिक सेवा नियमावली, २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ । 

सेनाको दोस्रो नम्बरमा रहेका बलाधीकृत रथी राणा आइतबारदेखि बिदामा बसेका छन् । सेनामा राणासँगै अर्का रथी सीताराम खड्का पनि उमेर हदका कारण पुस ३ गते अवकाशमा जाँदै छन् । उनले अवकाश पाएपछि अर्का उपरथी अशोकराज सिग्देलको पनि बढुवा हुनेछ । सिग्देलभन्दा पाण्डे करिब तीन महिनाअघि रथी हुने भएपछि उनलाई प्रधानसेनापति हुने बाटो खुलेको हो ।  

सेनाको अहिलेसम्मको परम्परालाई हेर्दा मर्यादा क्रममा पहिलो नम्बरमा रहेका रथी नै प्रधानसेनापति भएका छन् । प्रधानसेनापति शर्माले चीन भ्रमण जानुअघि नै आफ्नो उत्तराधिकारी तयार गरेका हुन् । पाण्डे रथीमा बढुवा भएको तीन महिनापछि मात्र सिग्देल सेनाको रथीमा बढुवा हुने अवस्था भएकाले राणाको पदावधि थप सेनाको भावी नेतृत्वसँग जोडिएको थियो । प्रधानसेनापति शर्माको चीन भ्रमण मिति तय भइसकेको र दसैं बिदासमेत परेकाले पाण्डेको बढुवामा समस्या हुनसक्ने सम्भावनालाई चिर्दै बढुवा सूचना प्रकाशित गरिएको थियो ।  

हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरी अवकाश हुनेछन् । त्यसपछि पाण्डे नेपाली सेनाको ४५औं प्रधानसेनापति हुनेछन् । सेनामा अहिलेसम्म वरीयतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेकाले राणाको पदावधि थप नभएसँगै पाण्डेको प्रधानसेनापति बन्ने प्रायः निश्चित छ । उपरथी पाण्डेले चीनबाट नेसनल डिफेन्स कोर्स गरेका छन् । 

सेनामा एनडिसी (नेसनल डिफेन्स कलेज) कोर्स नेतृत्वमा पुग्‍नका लागि महत्त्वपूर्ण खुड्किलो मानिन्छ । सेनामा सहायक कार्यकारी भइसकेपछि करिब एक वर्षको एनडिसी कोर्स गरेपछि मात्र उपरथी हुन पाइने व्यवस्था छ । हालसम्म नेपाली सेनाको सहायक रथीहरू सीमित कोटामा प्रतिस्पर्धा गर्दै एनडिसी कोर्स गर्नका लागि विदेश जानुपर्नेछ ।  

तनहुँ घर भएका उपरथी पाण्डले संभाररथी विभागको पनि जिम्मेवारी सम्हालेका थिए । सम्भाररथी विभाग हुँदै हाल उनी युद्धकार्य महानिर्देशनालयको प्रमुख भएका हुन् । संभाररथि विभागभन्दा अघि उनले डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डिएमआई) मार्फत हुने सैनिक गुप्तचरी विभागको प्रमुखका रूपमा पनि काम गरेका थिए । सो हानिर्देशनालयबाट भन्दा अलग्गै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्नुपर्ने उनकै अवधारणा थियो । सो अवधारणा कार्यान्वयनमा भने आएको छैन । उनले नेपाली सेनामा सैनिक इन्टेलिजेन्स सेवाका रूपमा विशेष संरचना बनाउने प्रस्ताव समेत गरेका थिए । सेनाभित्र व्यावसायिक छवि निर्माण गरेका उपरथी पाण्डेको बढुवासँगै नेपाली सेनाले सेनाले अलग्गै गुप्तचर सेवा बनाउने सम्भावना छ ।

प्रकाशित: १ कार्तिक २०८० ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App