२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ।

हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए। दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन्।

बिना जानकारी कार्यालय छाडेर हिँडे्का रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। 'कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन्। काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ। यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ', उनले भने, 'उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु। यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु। हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ।'

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छन्।  'आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु। बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु', उनले भने, 'दसैँ अगाडि फर्किने सम्भावना छैन। यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु।'

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। 

प्रकाशित: ३० आश्विन २०८० १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App