२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान

नेपालगन्जबाट लैजाँदै गरेको अवस्थामा सुर्खेतमा बरामद भएको अवैध चिनी। तस्बिर: नागरिक

नेपालगन्जबाट दैलेख लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले शनिबार राती एक लाख ५२ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गर्‍यो।

प्रहरीका अनुसार भे १ ख ३१४४ नम्बरको ट्रकमा ५० किलोका २६ र २५ किलोका २४ बोरा गरेर कुल ५० बोरा चिनी लोड गरिएको थियो। सुर्खेतस्थित सुब्बा कुना चेकपोष्टले बरामद गरेको उक्त चिनीका विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

जबकि भन्सार कार्यालयले सर्वसाधारण नागरिकका लागि भने एक सय रुपैयाँ भन्दा बढीको सामानको पनि भन्सार शुल्क लिने गरेको छ।

सर्वसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सीमापारिबाट सेटिङमा भने करोडौं मूल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन्। पछिल्लो यस घटनाले पनि सर्वसाधारणको आरोपलाई पुष्टि गरेको छ।

नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहादेखी चौलिका चोकसम्म भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी आधा दर्जन बढी चेकपोष्टहरु राखिएका छन्। यिनै चेकपोष्ट भएर भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा तस्करले भन्सार शुल्क नतिरेरै ठुलो परिमाणको सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीको भनाई छ।

भारतबाट अवैध रुपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, व्यवसायी समेत निराश भइरहेका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सीमा क्षेत्रमा थरी–थरीका चेकपोष्ट हुँदा पनि ठुलो परिमाणको सामान अवैध रुपमा भित्रिनु लज्जाको विषय भएको बताए।

‘चोरी निकासी पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं, तर पनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ‘अवैध रुपमा सामान भित्रिँदा निजी क्षेत्रले जसरी घाटा बेहोर्नु परेको छ, सरकारले पनि ठुलो मात्रामा राजश्व गुमाइरहेको छ।’

कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो बिना सीमापारिबाट अवैध रुपमा सामान भित्रिनै नसक्ने उनको जिकिर छ। पछिल्लो समयमा बाँकेका विभिन्न अवैध नाकाबाट समेत तस्करले अवैध रुपमा सामान भित्र्याउने क्रम चलिरहेको स्थानीय बासिन्दाले बताएका छन्।

जिल्लाको नरैनापुर, डुडुवा, जानकी, खजुरा गाउँपालिका अन्तर्गत पर्ने अवैध सीमा नाकाबाट पनि सुरक्षाकर्मीको मिलेमतोमा सामान भित्रिने क्रम चलिरहेको बताइएको छ।

सीमापारिबाट अवैध सामान भित्रिरहेको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले फोन उठाएनन्।

कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले भने भन्सार नियम अनुसार सामान जाँच पास गरेर भन्सार शुल्क लिने गरिएको दाबी गरे।

‘हामीले नियम अनुसार काम गरिरहेका हुन्छौंं, तर कसरी र कहाँबाट अवैध रुपमा सामान भित्रियो भन्ने विषयमा हामीलाई जानकारी हुँदैन,’ कार्यालयका सूचना अधिकारी शर्माले भने।

नेपालगन्जबाट लगिएको ठुलो परिमाणको चिनी सुर्खेतमा बरामद भएको घटनाका विषयमा भने कार्यालयलाई जानकारी नभएको उनले बताए।

प्रकाशित: २९ आश्विन २०८० १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App