९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

धनगढी विमानस्थल घेराउ

दसैंमा राजधानी काठमाडौंबाट धनगढी फर्कने यात्रुहरूले साविकको भन्दा दोब्बर बढी मुल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ कैलालीले आइतबार धनगढी विमानस्थल घेराउ गरेको छ। महान पर्व वडादसैंका बेलामा छुट दिनुको साटो दोब्बर बढी भाडा लिनु पनि भ्रष्टाचार भएकाले आन्दोलन गर्नुपरेको नेविसंघका कैलाली अध्यक्ष मनिष कुँवरको भनाइ छ। सो रूटमा सामान्यत ७ हजार ९ सय रुपैयाँ भाडा रहेपनि पछिल्लो केही दिन देखी हवाई यातायात कम्पनीले १७ हजार  १ सय रुपैयाँसम्म असुल्दै आइरहेका छन्।

भेरीबाट पानीको भारी बोक्नुपर्ने बाध्यता हट्यो

वर्षैदेखि भेरी नदीको धमिलो पानी खान बाध्य पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका तीन हजार बढी नागरिकको घरघरमा पानीको धारा पुगेको छ। एशियाली विकास बैंकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण लगानी र उपभोक्ताको पाँच प्रतिशत गरेर ६२ करोड ४८ लाख रुपैयाँको लागतमा नगरको ६, ७, ८ र ९ वडाका ३२ सय ५१ घरधुरी लाभान्वित भएका छन्। उपभोक्ता संस्थाले मोबाइल र कम्प्युटरबाटै पानीको धारा खोल्न र बन्द गर्न मिल्ने प्रविधि पनि जडान गरेको छ।

उद्घाटनको एक वर्षपछि कार्यालय सञ्चालनमा आउँदै

उद्घाटन भएको झन्डै एक वर्षपछि कोहलपुरमा नापी र भूमिसुधार तथा मालपोत कार्यालय सञ्चालनको अन्तिम तयारीमा छ। कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वटा वडा कार्यक्षेत्र हुने गरी कात्तिक १ गतेबाट यी दुई कार्यालय सञ्चालनमा आउने छन्।

मुस्ताङबाट पोखराका लागि हिडे ५४ सय च्यांग्रा

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्दै छन्। अहिलेसम्म ५ हजार ४ सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिडिसकेको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख ऋषिराम पोखरेलको भनाइ छ।

दोहोरो करविरुद्ध कवाडी व्यवसायी आन्दोलित

भरतपुर महानगरपालिकाले सरसफाई तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर संकलनका लागि टेण्डर आह्वान गरेपछि व्यवसायीहरूले संगठित आन्दोलन गर्दै छन्।  कवाडी सामाग्रीमा ठेक्का प्रथा प्रणालीको विरुद्धमा सरसफाई तथा पुनः उपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघ संयुक्त आन्दोलन गर्ने भएका हुन्।

उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड

उखु बेचेको सात महिनासम्ममा पनि आफूहरूले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम नपाएको सर्लाहीका उखु किसानको गुनासो छ। पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले अनुदानबापतको रकम नदिँदा दसैं मनाउन सकस परेको छ।

कोशीमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन

नेपाली कांग्रेसका आठ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीद्वारा तीन सदस्यीय मन्त्रीपरिषद गठन भएको छ। एमालेका तर्फबाट रामबहादुर राना र  कांग्रेसबाट शम्शेर राई बिना विभागीय मन्त्री नियुक्त भएका छन्। मन्त्रीहरूद्वारा आजै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सफत ग्रहण गरेका छन्।

प्रकाशित: २८ आश्विन २०८० १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App