१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा विपद् व्यवस्थापन नमूना अभ्यास

आगलागीजन्य घटनाबाट बच्न सकिने उपाय र घटना भइहाले त्यसपछि गरिने प्रतिकार्यका बारेमा समुदाय अनुशिक्षणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङको दोभान बजारमा विपद् नमूना अभ्यास कार्य सम्पन्न गरेको छ।

फुङलिङ नगरपालिका सहित मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाको सहकार्यमा यस्तो नमूना अभ्यास शिक्षण कार्यक्रम सम्पन्न गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

ताप्लेजुङस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विपद् पूर्व तयारी, उद्धार तथा प्रतिकार्य योजनामा अनुभव हासिल गरेका व्यक्तिहरुले अनुशिक्षण गराएका थिए।

अभ्यासका क्रममा नमूनागत घर बनाई आगलागी भएपछि गरिने उद्धार, राहत, घाइतेको उपचार, तथ्याङ्क संकलन, आपत्कालीन राहत वितरण र पुर्नस्थापना सम्मका नमूनागत क्रियाकलाप सम्पन्न गरिएको थियो।

२०७७ साल फागुन १८ गते भएको आगलागीले ध्वस्त दोभान बजार पुनः आफै लयमा फर्कँदै छ। विपद्का बेला प्राप्त हुने सूचना र सो सूचनाको पुर्नपुष्टी, कार्यस्थलमा खटिने जनशक्तिको तयारी, कार्यस्थलमा गरिने राहत तथा उद्धारको कार्यको प्रयोग, उद्धारका क्रममा अपनाइने रणनीति समेत सो बेला प्रस्तुत गरिएको नेपाली सेनाको यहाँ स्थित भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटीले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्तिले ग्याँस सिलिण्डरबाट हुने आगलागीबाट सचेतना अपनाउन गरिने सावधानीका उपाय बारे अभ्यास शिक्षण गराएका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले विपद् जोखिम क्षेत्रहरुमा सम्भावित जोखिमको पहिचान गरी त्यसविरुद्ध सावधानी रहन र विपद् पछि प्रतिकार्यका क्रममा अपनाइने रणनीति बारे समुदायलाई जानकारी गराइएको बताए।

सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाँईले हिउँद याम सुरु लागेको यो बेला आगलागीको जोखिम बढी हुने भएकोले त्यसविरुद्ध जनचेतनाका लागि नमूना अभ्यास शिक्षण कार्यक्रम गरिएको जानकारी दिए।

त्यस क्रममा दोभान र आसपासका स्थानीयलाई आगलागी सुरुवाती क्रममा आगो निभाउन प्रयोग हुने ग्याँस एक्सिटिङग्युसरको प्रयोग गर्ने तरिका पनि सिकाइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

दमकल नपुग्ने क्षेत्रमा पानीको स्रोतबाट मोटर चलाई दमकलको झैं पानी प्रहार गर्न सक्ने उपकरण समेत प्रयोग गरेर नमूना अभ्यास गरिएको थियो। मोटर सहित पानी प्रवाह हुने यस्तो किसिमका सामानहरु फुङलिङ नगरपालिकालाई केही समय अघि प्राप्त पनि भएको छ।

प्रकाशित: २७ आश्विन २०८० १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App