१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आनन्द वियोगमा शोकमग्न सपही ‘आब हम केकरा बेटा कहब’

लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीकी शुभकलीदेवी साह ओछ्यान परेको दुई दिन भयो। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा आनन्द साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मुर्छा पर्छिन्।

सोमन साह पनि आइतवार रातिदेखि ओच्छ्यानमै ढलेका छन्। होसमा आएपछि छोराको बिलौना गर्दै भुइँमा ढल्छन्। छाती पिट्दै सोमन विलाप गर्छन्, ‘हौ बाउ, आब हम केकरा बेटा कहबै।’ (अब मँ कसलाई छोरा भन्ने ?)। साह निवासमा जम्मा भएका हितयसीहरु भारी आवाजमा सम्झाउँन खोज्छन्। पानी छर्केर होस्मा ल्याउँछन्। उनी चिच्याउँदै फेरी मूच्र्छा पर्छन्।  

सुनिता साह दाईको वियोगमा बिलौना गर्दै आँगनमा ढलेकि छिन्। सरश्वती र आरत्ती दाईको विलौना गर्दै बेहोस् भएपछि अस्पताल भर्ना भएकि छन्। उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको हो।

७० वर्षीया हजुरआमा बसमतिया देवीका आँसु सुकिसकेको छ। उनी आफन्त र आगन्तुकलाई एकहोरिएर टोलाइरहेकि छिन्। प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा २५ वर्षीय आनन्द साहको मृत्युको खबरसँगै साह परिवार मूच्र्छीत छन्। शनिवार रातिदेखि आफन्त र छरछिमेकी जम्मा भएर साह परिवारलाई सान्त्वना दिइरहेका छन्। तर सम्झाएर कहाँ सम्हालिन्छ र फाटेको मन।  

आनन्दका परिवारको चिच्याहटले साह निवास पुगेका सबैका आँखामा आँसु देखिन्थ्यो। बृद्ध हजुर आमा, बुवाआमा, बहिनी सबैको निश्चल आँखाले आनन्द खोजिरहेको थियो।

सोमन र सुभकलीको तीन छोरी र एक छोरामध्ये पहिलो सन्तान थिए आनन्द। आनन्द परिवारको एक्लो साहारा थिए। आनन्दलाई पढाउन सोमनले १० वर्ष खाडीमा पसिना बगाएका थिए। आनन्दले जनकपुरकै एन्जल्स बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका थिए। जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लस–टु पास गरी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा एग्रिकल्चरमा बीएससीएजी पढे । अन्तिम वर्षको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । आनन्द २४ भदौमा मात्र इजरायल गएका थिए।

घरमा दैनिक कुराकानी गर्ने गरेका थिए। परिवारका सदस्यहरुसँग अन्तिम कुराकानी गत शुक्रवार राति ८ बजेतिर भएको थियो। आनन्दले भिडियो कल गर्दा बुबा सोमन बाहिर थिए। आमा र बहिनीहरुसँग लामै कुराकानी भएको थियो। माहिली बहिनी सरस्वतीले आफ्नो खुट्टा अलि सुन्निएको बताएपछि आनन्दले राम्रो डाक्टरलाई देखाएर उपचार गराइदिन आमालाई भनेका थिए। कक्षा १२ पास गरेपछि छात्रवृतिमा नाम निकाल्नका तयारी गर्न काठमाडौं पुगे। एक वर्षमा नाम निकाल्न सफल भएनन् तर अर्को वर्ष नाम निकाल्न सफल भए । आनन्दका बहीनी भन्छिन् ‘पछि काठमाण्डौंबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिफ क्याम्पस, कैलालीमा एग्रिकल्चर बीएससीएजी पढे, अन्तिम वर्षको पढाइ सकिएपछि क्याम्पसले नै अभ्यासका इजरायल पठायो।’

आनन्दकी जेठी बहिनी सुनिताले भनिन् ‘दाइसँग शुक्रवार भिडियो कलमा कुरा भएको थियो। दाइले बुवासँग कुरा गर्न खोजे तर बुवा बाहिर हुँदा कुरा हुन सकेन। शनिवार कुरा गर्न फोन गर्दा रिङ गइरहेको थियो रिसिभ भएन, दिनभरि प्रयास गरे पनि दाईसँग कुरा भएन।’  

आइतबार इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको समाचार आउन थाल्यो। मेरो परिवारको बेचैनी बढ्दै गयो, चार/पाँच बजेतिर दाईको पनि मृत्यु भएको खबर पाए, सुनिता भक्कानिँदै भनिन्।’

‘मेरो छोराले छोराछोरीमा विभेद गर्नु हुँदैन भनिरहन्थ्यो त्यसैले मैले छोराछोरीमा कहिले विभेद गरिन सोमन बिलौना गर्दै भने,‘ छोराकै करले छोरीहरुलाई पनि बोर्डिङ स्कुलमै पढाए।’ जेठी छोरीकी बिहे भइसकेको छ। माहिली सरस्वती भेटनरी र कान्छी छोरी आरती जनकपुरमै स्नातक गरिरहेकी छिन्।  

इजरायल जानु अघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी रहेछिन् । ‘म पढाइ सकेर फर्किएपछि राम्रो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्र्याउँछु। तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएको सम्झँदै सुनिताले भनिन्,‘सबै सपना चकनाचुर भयो।’

एक करोड विरुवा रोप्ने सपना

आनन्दमा समाजसेवी भावना रहेको उनका गाउँले बताउँछन्। उनी प्रकृति प्रेमी पनि थिए। समाजसेवाका लागि भविश्यमा अक्सिजन उद्योग, सुविधासम्पन्न अस्पताल खोलेर समाजको सेवा गर्ने उनको धोको थियो। रमदैयाको जानकी मेडिकल कलेज नजिक बुबा सोमनले पाँच कठ्ठा जति जग्गा जोडेका छन्। त्यहाँ अझै जग्गा थपेर भविश्यमा सुविधासम्पन्न अस्पताल बनाउने योजना उनले सुनाउथे। यही कुरा लेखेर उनले सामाजिक सन्जाल फेसबुकको कभर फोटो पनि बनाएका छन्। चैत २०७८ मा बुद्धजयन्तीको दिन मातृभाषा मैथिली र अंग्रेजीमा लेखेको संकल्पमा उनले आफ्नो जीवनमा एक करोड विरुवा रोप्ने, अक्सिजन फ्याक्ट्री र सुविधासम्पन्न हस्पिटल खोल्ने प्रतिज्ञा गरेका थिए। तर अब आनन्दको त्यो सपना अधुरै रहने भयो।

प्रकाशित: २३ आश्विन २०८० ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App