भक्तपुरको नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ रुपैयाँ लिइएको भेटिएको छ। चलनचल्तीको मूल्य भन्दा धेरै मूल्य लिएर उपभोक्ता ठगी गर्ने काम भएकाे चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले भेटाएको हो।
सोमबार नगरपालिकाको वडा नम्बर-६ नगरकोट क्षेत्रमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो। अनुगमन समितिले नगरकोट एरियामा रहेको मिनी मार्ट र खाद्य पसल अनुगमन गरेको थियो। उपभोक्ताको हित संरक्षणनार्थ त्यहाँ रहेका मार्ट र पसल अनुगमन गरिएको हो।
बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको थियो। अनुगमन अधिकृत सुरज पौडेलले अनुगमनमा बलराम स्टोरमा चिनी प्रति के.जी १३५ मा विक्री गरेको भइरहेकाे भेटिएको बताए।
विक्री बिलबाट यति चर्को मूल्य उठाइएको देखिएको तर खरिद बिल माग्दा देखाउन नसकेकोले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिएको उनले बताए। यो उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम भएकोले पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको उनले बताए। साथै उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ।
लामा कोल्ड स्टोरबाट म्याद नाघेको भुजिया ७ पाकेट, फुडचेक दूध ९ पाकेट, मेरी बिस्कुट २ पाकेट जफत गरी नष्ट गरिएकाे छ। साथै उक्त स्टोरलाई म्याद नाघेका सामानहरु छट्टै राख्न, मूल्य सूचि राख्न र अन्त शुल्कको अनुमति लिएर मात्र मदिरा विक्री वितरण गर्न निर्देशन दिइएको छ। नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिनभित्र व्यवसाय नवीकरण गर्न, मूल्य सूचि राख्न, ढक तराजु तत्काल नवीकरण गर्न निर्देशन दिइएको अनुगमनमा सहभागीहरुले बताए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरकोतर्फबाट अनुगमन प्रतिनिधि यादव मिश्रले साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको वटर २ पाकेट, सूजी ४९ पाकेट बरामद गरी नष्ट गरिएकाे जानकारी दिए। साथै उक्त सप्लायर्सलाई मूल्य सूचि राख्न, ढक तराजु नवीकरण गर्न र व्यवसाय दर्ता नवीकरण गर्न निर्देशन दिइएको उनले जनाए।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेललगायतको प्रतिनिधित्व रहेको थियो।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नियमित अनुगमन हुने गरेको तर दसैँ र तिहार चाडपर्व नजिक मूल्य बढ्न सक्ने भएको अनुगमनलाई बढाएको बताए। उपभोग्य बस्तुहरुको कालोबजारी र गुणस्तरहीन बस्तुहरु बिक्री वितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने उनले जानकारी दिए।
प्रकाशित: २२ आश्विन २०८० १४:४८ सोमबार