रौतहटकाे सदरमुकाम गौर बजारको बिचमा अवस्थित शिवालय पोखरीमा डुंगा (मोटरबोट) संचालनमा ल्याइएको छ। पोखरीमा डुंगाकाे सञ्चालनले नगरको पर्यटन विकासका सघाऊ पुर्याउने हेतुले गौर नगरपालिकाले व्यावसायिक रुपमा डुंगा संचालनमा ल्याएको हो।
सोमबार एक समारोहबिच नगर प्रमुख शम्भु साह कानुले डुंगाको उद्घाटन गरे। प्रमुख साहले मोटरबोट चढेर शिवालय पोखरीको अवलोकन पनि गरे।
गौर बजारको बिचमा रहेको शिवालय पोखरी अत्यन्त फोहोर रहेको अवस्थामा नगर प्रमुख साहले पोखरीको सरसफाइमा जोड दिएका थिए। उक्त पोखरीको मर्मत र जीर्णोद्धार पछि मोटरबोट संचालनका ल्याइएको हो।
पोखरीको सौन्दर्यीकरण गरेपछि प्रमुख साहले स्थानीयको माग अनुसार पोखरीमा मोटरबोट संचालनमा ल्याइएको बताए।
मोटरबोटसँगै शिवालय पोखरीमा पाइडल बोट, पार्क/जिम र सेड पनि सोमबारदेखि नै संचालनमा आएको नगर प्रमुख साहले बताए। मोटरबोट नगरवासी तथा सदरमुकाम आउने पर्यटकहरुको लागि मनोरंजनको उपयुक्त गन्तव्य बन्ने र यसले नगरको पर्यटन विकासका टेवा पुर्याउने उनको भनाइ थियो।
यो सँगै मोटरबोटको मज्जा लिन टाढा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको एक स्थानीयले बताए। भारतबाट पनि ठूलो संख्यामा मानिसहरु आउने सम्भावना रहेकाले मोटरबोटले पर्यटन विकासका सहयोग पुर्याउने नगरपालिकाले विश्वास लिएको छ।
प्रकाशित: २२ आश्विन २०८० १४:०४ सोमबार