१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे

दुर्घटनामा दुर्इ छाेरा, बुहारी र नाति गुमाएका रमानाथ झाको घरमा जम्मा भएका अाफन्तजन । तस्बिर : जितेन्द्र

तिलाठी (सप्तरी) – छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको खबरलगत्तै परिवारमा रुवावासी चलेको छ।  

तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी गाउँका एकै परिवारका ६ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् । छठ पर्व मनाइसकेपछि शुक्रबार साँझ छोरा, बुहारी र नातिलाई आशीवार्द दिएर घरबाट बिदा गरेका ८० वर्षीय रमानाथ झा अहिले सन्तानवियोगको पीडाले स्तब्ध छन् । अत्यधिक पीडाले आँशु झार्नसमेत नसकेका उनलाई शान्त्वना दिन अहिले घरमा इस्टमित्र भरिभराउ छन् । 

दुर्घटनामा परी रमानाथका २ छोरा, एक बुहारी र एक नातिकोे मृत्यु भएको छ । उनका जेठा छोरा ३८ वर्षीय सञ्जित झा, जेठी बुहारी सिमी झा (३० वर्ष), नाति अभिनव झा (८ वर्ष) तथा कान्छो छोरा अञ्जित झा (३५ वर्ष) को मृत्यु छिमेकी दिनेश्वर मिश्रले बताए । सञ्जितका साला २० वर्षीय  बिटु झा र सासूआमा चन्द्रिकादेवी झाको समेत दुर्घटनामा मृत्यु भएको छ । सञ्जितका कान्छा छोरा ३ वर्षीय प्रतिक र साली २४ वर्षीय पूजा झा बेपत्ता छन् । सञ्जितको ससुराली घर राजविराज हो । 

काठमाडौं पढ्ने बिटु र पूजा दिदी भिनाजुसँगै घरबाट फर्कंदै थिए । सञ्जित नेपाल बैंक लिमिटेड। चावहिल शाखामा कार्यरत थिए । उनी जागिरमा लागेको ३/४ वर्षमात्रै भएको छिमेकी बाबुनारायण मिश्रले बताए ।  

सञ्जितसँगै दुर्घटनामा ज्यान गुमाएका भाइ अञ्जित काठमाडौंकै एक निजी क्याम्पसमा पढाउँथे ।  लगनशील दाजुभाइले जसोतसो पढाइ सकेर काम गर्न थालेपछि विस्तारै उन्नतितर्फ लम्कँदै गरेका झा परिवार यो दुर्घटनाले थप मर्माहत बनेको छ । 

पत्नी सिमि र दुई छोरासहित सञ्जित दसंमा घर आएका थिए । दसैं मनाएपछि छोरा र पत्नीलाई गाउँमै छाठेर काठमाडौं गएका उनी दीपावली र छठ मान्न भाइ अञ्जितसँगै घर आएका थिए । 

‘दैव लाग्यो यस परिवारलाई । संघर्षपूर्ण दुःखका दिन सकेर काममा लागेका उनीहरूलाई दैवले खोसेर लग्यो’, स्थानीय रेणु मिश्रले भनिन्, ‘परिवारका लागि केही गर्न सक्नै दुइटै छोरा गए, अब वृद्ध आमाबुबा र अरुको के होला ?’ 

बाबु रमानाथ अवकाश प्राप्त प्राथमिक शिक्षक हुन । सम्पत्तिका नाममा उनको नाममा घरबाहेक डेढ कट्ठा जति जग्गामात्र छ । उनका तीन छोरामध्ये दुईको मृत्यु भएको छ भने माहिला छोरा मञ्जित शाररिक तथा मानसिक रुपमा सक्षम छैनन् । मृतकमध्ये सप्तरीका २० जना रहेको शनिबार साँझ जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

प्रकाशित: १२ कार्तिक २०७४ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App