१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीका २२७ जनाविरुद्ध मुद्दा, भ्रष्ट्राचारमा १७ जनप्रतिनिधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णालीका २ सय २७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

जसमा १७ जना जनप्रतिनिधि, १ सय ३० जना कर्मचारी, ७२ जना उपभोक्ता समितिका पदाधिकारी र ८ जना अन्य व्यक्ति छन्। अख्तियार कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमका अनुसार २ सय २७ जनाविरुद्ध कुल ४४ वटा मुद्दा परेका हुन्। जसमा सबैभन्दा धेरै गैरकानुनी लाभ तथा हानिमा २५ वटा मुद्दा परेका छन्। 

यस्तै, सार्वजनिक सम्पत्ति हानि नोक्सानीमा ९, शैक्षिक प्रमाणपत्र नक्कलीमा १, घुस/रिसवतमा १, परीक्षाको परिणाम फेरबदलमा १, गलत प्रतिवेदन तयारमा १ र बाँकी अन्य गरी ४४ वटा मुद्दा विशेष अदालतमा दायर भएका छन्।

विशेष अदालतमा दायर सबै मुद्दामाथि सुनुवाइ प्रक्रियासमेत अघि बढेको सूचना अधिकारी गौतमले जनाए। उनका अनुसार कुल ४४ वटा मुद्दामध्ये सबैभन्दा धेरै मुगु जिल्लाबाट १२ वटा मुद्दा परेका छन्।यस्तै, सुर्खेतबाट ७, कालिकोटबाट  ६, सल्यानबाट ५, हुम्लाबाट ४, डोल्पाबाट  ३, जुम्लाबाट  ३, दैलेखबाट २, रुकुम पश्चिम र जाजरकोटबाट १/१ मुद्दा गरी ४४ वटै मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेको हो।

कर्णालीका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले गैरकानुनी काममा संलग्नता बढाउन थालेका छन्। अख्तियारको तथ्यांकलाई हेर्दा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसँगै शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट पनि गैरकानुनी काममा संलग्नता बढेको देखिन्छ।

गौतमका अनुसार आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा कुल २ हजार ८२ मुद्दा दर्ता हुँदा स्थानीय तहसँग सम्बन्धित मात्रै एक हजार ८२ उजुरी रहेका थिए। अख्तियार सुर्खेत कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा कर्णालीका ७९ पालिकामध्ये ७५ वटा पालिकामा ६ सय ११ वटा उजुरी उपर छानबिन गरिरहेको छ।

प्रकाशित: १६ आश्विन २०८० १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App