७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

तनहुँमा डेंगी संक्रमण एकसातामै दोब्बर

तनहुँको दमौलीमा डेंगी संक्रमण नियन्त्रणका लागि गरिएको सर्च एण्ड डिस्ट्रोय अभियान। तस्बिरः नागरिक

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।  

अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ। प्रदेशको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला वर्ष पनि प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण देखिएपनि संक्रमितको संख्या अहिलेको जति पुगेको थिएन। यसअघि सबैभन्दा बढी सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो।  

यो सरकारी तथ्यांक मात्र हो। तर, औषधि व्यावसायीले यो संख्या अझै बढी हुनसक्ने बताएका छन्। किनकी सर्वसाधारणले परीक्षण नै नगराई लक्षणका आधारमा औषधि सेवन गर्दा संक्रमितको यकिन तथ्यांक नभएको उनीहरुको भनाई छ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार सदरमुकाम दमौलीमा दिनमा कम्तिमा एकसय जना डेंगीका बिरामी थपिने गरेका छन्। ‘पछिल्लो एकसाता दोब्बर हुनेगरि संक्रमण बढेको छ। दमौली क्षेत्र बढी प्रभावित भएको छ,’ अधिकारीले भने, ‘नियन्त्रणको प्रयास जारी छ। तरपनि सदरमुकाम क्षेत्रमा संक्रमणले बढी गति लिएको छ।’ यो वर्ष तनहुँमा डेंगीले ३ जनाको ज्यान पनि गईसकेको छ।

सदरमुकाम समेत रहेको ब्यास नगरपालिकाको १, २,३ र ४ नम्बर वडाका बासिन्दामा संक्रमण बढी रहेको उनले बताए। ‘करिब ९० प्रतिशत बिरामी सदरमुकाम क्षेत्रका छन। बाँकी आसपासका गाउँका बासिन्दा हुन्,’ उनले भने, ‘अस्पतालमा लक्षण सहित परीक्षणमा आएका ९० प्रतिशत बिरामीमा डेंगी पुष्टि भएको छ। डरलाग्दो अवस्था बनेको छ।’ बिरामी बढेपछि अस्पतालमा समेत शैया अभाव हुने देखिएको उनले बताए।

बिरामीको संख्या बढी भएपछि प्रदेश स्वास्थ्य निर्देशनालयबाट पुगेका स्वास्थ्यकर्मी एकसातासम्म दमौली क्षेत्रमा खटिएका थिए। अधिकारीका अनुसार पाँचजना चिकित्सक र अरु स्वास्थ्यकर्मी दमौली गएका थिए। उनीहरु एकसातासम्म दमौलीमा बसेर बिरामीको उपचार गरेका थिए। त्यस्तै ब्यास नगरपालिकाले पनि स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालमा खटाएको थियो। ‘संक्रमण अलि कमजोर हुने अपेक्षा थियो। तर, वर्षा थपिएपछि संक्रमण अझै थपिने त्रास बढाएको छ। वर्षाको पानी जम्ने भएकोले डेंगी फैलाउने लामखुट्टे बढ्ने त्रास रहेको छ,’ उनले भने।  

अधिकारीका अनुसार भदौ २५ पछि निकै नै डेंगी संक्रमण बढेको हो। भदौ २५ अघिको तुलनामा त्यसपछि दिनहुँ थपिने संक्रमितको संख्या बढिरहेको अधिकारीले बताए। खुला क्षेत्रको सरसफाई गरेर डेंगी फैलाउने लामखुट्टे नियन्त्रण सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियान समेत चलाएको उनले बताए। ‘सचेतनाका कार्यक्रम निरन्तर गरिरहँदा पनि नियन्त्रणमा आएन। सहरी क्षेत्रमा संक्रमण झनै बढ्यो। सहरी क्षेत्रका बासिन्दाले नियन्त्रणमा उत्तिसारो सचेतना अपनाएनन,’ उनले भने।  

अहिले डेंगी फैलिएको ब्यासको १ नम्बर भादगाउँ हो । त्यस्तै २, ३ र ४ नम्बर वडा सदरमुकाम दमौलीको मुख्य बजार क्षेत्र पर्छ। नगरपालिकाभित्रै ग्रामिण क्षेत्रमा भने संक्रमण कम रहेको उनले बताए। दमौली बाहेक शुक्लागण्डकी र भिमाद क्षेत्रमा पनि डेंगी फैलिने त्रासले सचेतनाका कार्यक्रम संचालन गरेको अधिकारीले बताए। तर, शुक्लागण्डकी र भिमाद क्षेत्रमा भने संक्रमण निकै नै कम रहेको अधिकारीले जानकारी दिए। ‘गाउँमा भन्दा सहरमै डरलाग्दो अवस्था आयो,’ उनले भने।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो।

‘यो वर्ष अलि नै बढी संक्रमण बढेको हो। डेंगी फैलाउने लामखुट्टे धेरै नै फैलिएको छ,’ गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरज गुरौ भन्छन, ‘तनहुँको दमौली क्षेत्र अलि नै बढी प्रभावित भएको छ । तनहुँमा नै सबैभन्दा बढी बिरामी छन्।’  

उनले पनि अघिल्ला वर्ष भन्दा यो वर्ष प्रदेशकै सबैभन्दा बढी बिरामी संख्या तनहुँमा देखिएको बताए । फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ। पानी परिरहेकोले अझै पनि संक्रमण बढ्ने त्रास रहेको गुरौले बताए।  

तनहुँमा फैलिएको डेंगी संक्रमण रोक्न प्रवेश सरकारले चिकित्सकहरुलाई नै परिचालन गरेको थियो। त्यसबाहेक आवश्यक परीक्षण किट पनि पठाएको मन्त्रालयका प्रवक्ता गुरौले बताए। ‘लामखुट्टेको खोजी र नष्ट नै यो संक्रमण रोक्ने सबैभन्दा बलियो आधार हो, यसले धेरैलाई संक्रमित बनाएको छ,’ उनले भने, ‘सबैजना सचेत हुने हो भने संक्रमण कम हुनेछ।’  

खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: १६ आश्विन २०८० १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App