कर्णालीमा गाडी पुगेपछि यहाँका बासिन्दाको मनमा कम्ता हर्ष थिएन। ‘दुःख’ का दिन सकिए भन्दै कर्णालीवासीले उत्सव नै मनाए। तर, राजमार्गको यात्रा यति कष्टकर छ कि–कर्णालीका दुःखका दिन सकिएकै रहेन छन्। किनकी यो मार्गमा यात्रा गर्दा भगवान् पुकार्नुपर्छ। कर्णालीको लाइफ लाइन मानिएको राजमार्गको अवस्था झन्–झन् दयनीय छ।
सडक डिभिजनले हरेक वर्ष बिग्रेको ठाउँमा (टालटुल गर्न) सडक कालोपत्र गर्छ। तर, साता दिन पनि टिक्दैन। सडक विभाग बनाउँदै जान्छ, पछाडि बिग्रँदै जान्छ। जसका कारण पटक–पटक सडक अवरुद्ध हुने गर्छ। कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा घण्टौं जाम हुन्छ। सडकमा परेका ठूल्ठूला खाल्डाहरूले सवारी साधन चल्न निकै कठिन हुन्छ। सडकहरूमा ट्राफिक संकेत नहुँदाका हैरानी त छँदैछन्।
कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा सधैं उही समस्या भोग्नुपर्छ। कालिकोट सान्नीत्रिवेणी गाउँपालिका – १ का पुष्पा गिरीले कर्णाली राजमार्गको यात्रा बर्सेनि कष्टकर बन्ने गरेको बताउँछिन्। ‘सुर्खेतबाट कालिकोट १ सय ५५ किलोमिटर सडकमा यात्रा गर्न तीन दिनसम्म लाग्छ,’ गिरीले भनिन् ‘ठाउँ–ठाउँमा पहिरोको समस्या छ। साँघुरो सडकमा एक गाडीले अर्को गाडीलाई साइड दिन कठिन हुन्छ। हिलाम्मे सडकमा मालबाहक गाडीहरू फस्दा डोजर लगाएर निकाल्नुपर्छ। यो राजमार्गमा यात्रा गर्दा गन्तव्यमा पुग्नै मुस्किल हुन्छ।’
जुम्ला चन्दनाथका प्रकाश कठायतले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताए। ‘हाम्रा नेताहरू यही बाटो हिँड्छन्। तर, सडकको बेहाल देख्दैनन्,’ उनको गुनासो छ। सरकारले ल्याउने हरेक वर्षको बजेटमा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भनिन्छ। तर, राजमार्गको अवस्था सधंै उस्तै रहन्छ। कहिल्यै स्तरोन्नति हुँदैन। हामी त काल नआएर बाँचेका मानिस हौं। कर्णाली राजमार्गको यात्रा गर्दा कहाँनेर पो खसिन्छ भन्ने पिर मनमा बोकेर यात्रा गर्नुपर्छ।’
प्रदेश प्रहरीका अनुसार कर्णाली राजमार्गको सुर्खेत,कालिकोट र जुम्ला खण्डका दर्जनौं ठाउँहरूमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ। ती ठाउँमा पहिरो खस्ने समस्या छ। ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि गुड्छन्। सडक पूरै खाल्डाखुल्डी र हिलाम्मे छ। कति ठाउँमा गाडी फस्दा उकास्नै दिन बित्छ। गाडीको पनि बिजोग हुने गरेको प्रहरी बताउँछन्।
कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ। अहिले सडक डिभिजन कार्यालयले काम पनी गरीरहेको छ। कालिकोट र दैलेखको सिमाना दहिखोलादेखि जुम्लासम्म दहिखोला,गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, रारालीलगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ। सडक जिभिजन कार्यालयले अहिले मोड मर्मत कार्यक्रम गरीरहेको छ।
सास्ती कहिलेसम्म ?
सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक पुग्न लाग्यो। कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ।
२०६३ साल चैत ३० गते पहिलो पटक जुम्लामा गाडी पुगेको थियो। यो राजमार्गमा गाडी चल्न थालेपछि यहाँका नागरिकको जीवनस्तरमा धेरै परिवर्तन ल्यायो। यसले कर्णालीका नागरिकलाई कैलाली,बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो।
कर्णालीमा यातायात सेवा पुगेसँगै यहाँका नागरिक र बाहिरबाट आउने नागरिकको आवातजावतले तिला र कर्णालीका उजाड बगरहरू बजारीकरण भए। यहाँका पसलेहरू होलसेल बिक्रेतामा रूपान्तरण भए। पैदलयात्रा गरेर २६ दिन लगाएर जाने हाट एक दिनमा नजिकियो। विगतमा हिँडेका गोरेटाहरू अहिले बाटोहरू बने। ठाउँ–ठाउँमा होटलहरू खोलिए। बगरको बालुवामा हटेरु–नुन तेल लिन हाटबजार जानेहरूले खाना पकाएर खाने दिन पनि गए। मानिस हाटबजार जाँदा होटलमा पैसा तिरेर खाना खान थाले। यसले यातायात सेवा पुगेपछि गाउँहरू सहरहरूसँग जोडिँदा कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव दिलायो।
मुगु, जुम्ला र कालिकोटका स्याउ, सिमी, फापरलगायतका स्थानीय बालीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुगे। यो राजमार्गले सहरका वस्तुहरू गाउँमा, गाउँका वस्तुहरू सहरमा, सहरको संस्कृति गाउँमा, गाउँको संस्कृति सहरमा घुलमिल गरायो। जसको प्रतिफल आधुनिकताले सडक छेउ मात्र होइन, गाउँ बस्तीलाई समेत छोडेन।
कर्णाली राजमार्ग सञ्चालनपछि यहाँका हरेक नागरिकलाई ‘सहरिया’ बनायो। गाउँमा कुटो कोदालो गरेर बसेका मानिसहरू राजमार्ग छेउका डरलाग्दा भीरमा पनि घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गर्न थाले। यहाँका भीरपाखामा व्यापार व्यवसाय गरेर होस् वा यहाँका विकट बस्तीहरूमा जागिर खाएर कमाएको पैसाले सुर्खेत, नेपालगन्ज, काठमाडौंका साथै मुलुकका अन्य ठूला सहरमा घ घडेरी जोड्न थाले। यहाँका कमाउने हरेक परिवारको सपना ठूला सहरमा घडेरी जोड्ने सपनामा परिवर्तन भयो। प्रायः यहाँका कमाउने हरेक परिवारहरूले अहिले सुर्खेत, नेपालगन्ज, कैलालीदेखि काठमाडौंमा, कहीँ न कहीँ घरघडेरी बनाएका छन्।
कर्णालीमा सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई त सफलता मिल्यो। तर, यहाँका बिकट बस्तीका अन्य नागरिकले भने धेरै सास्ती भोग्नु परेको छ। कर्णाली राजमार्गअन्र्तगत बढीजसो कालीकोट र केही दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरू बाढी र पहिरोको उच्च जोखिममा छन्। साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोकिने हो भन्ने समस्या छ। कहिले भिरै भत्केर कर्णाली नदीमा परिएला कि भन्ने पीर पनि उस्तै छ। साँघुरो र जीर्ण यो राजमार्गमा यात्रा गर्ने कैयौंले ज्यान पनि गुमाएका छन्।
कर्णाली राजमार्ग कर्णालीवासीहरूका लागि मृत्युमार्गका रूपमा लिने गरिएको छ। यो राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुबाहक बस, ट्याक्टर, मिनी टाटा, मिनी ट्रक, जिपलगायत साना ठूला गरी २ सयभन्दा बढी सडक दुर्घटना भएका छन। एक सयभन्दा बढी दुर्घटना त कालीकोट खण्डमा मात्र भएका छन्। दैलेख र जुम्लामा पनि सयभन्दा बढी दुर्घटना भएका छन्। कर्णाली राजमार्ग मात्र होइन, कर्णालीका दशवटै जिल्ला जोड्ने सबै राजमार्गको अवस्था नाजुक छ। हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ।
कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोडहरू छन्। राजमार्गको एक मोडबाट अर्को मोडमा आएको गाडी देख्न सकिँदैन। कर्णालीका धेरै सडकमा ट्राफिक संकेत पनि छैन। यसले दुर्घटनाको जोखिम बढाइरहेको छ।
तर अहिले कर्णाली राजर्मागको सुधारको लागि ठाउँ–ठाउँमा टेन्डर गरी कामसुरु भएको छ। कालिकोटको सेरीघाट देखि नाग्म सम्मको सडकको ठाउँमा मोड मर्मत कार्यक्रम सुरु गरीएको सडक डिभिजन कार्यालयले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८० ११:५२ सोमबार





