जुम्लामा स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ।
जुम्लाको गुठिचौर-५ मा अवस्थित गुठिचौर एग्रो फर्म प्रालिले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन थालेको हो।
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

‘जुम्ला स्याउको जिल्ला हो, तर स्याउको गुणस्तरमा खासै चासो देखिएको पाइँदैन। स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ। अब यो मेसिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गरिमा उच्च बनाउनेछ।’ उनले भने।
ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघाउ पुर्याउने बताइएको छ। गुठिचौर एग्रो फर्मले उच्च घनत्वको स्याउ ३ हजार ८ हजार बिरुवा रोपेको छ। यस वर्ष दुई लाखभन्दा बढी केजी स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

जुम्लामा कुल ४ हजार २ सय ५० हेक्टरमा स्याउ रोपिएको छ। तर ग्रेडिङ मेसिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन। गुठिचौर एग्रो फर्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारी स्याउको ग्रेडिङ भइरहेको बताए।
उनका अनुसार ग्रेडिङ मेसिनले सुपर, ग्रेड ए, बी र सी आकारमा ग्रेडिङ गर्नेछ। ग्रेडिङ मेसिन जुम्लासम्म पुर्याएर जडान गर्दा झण्डै ३८ लाख रकम खर्च भएको उनले बताए।
‘यो ग्रेडिङ मेसिनले गुठिचौर एग्रो फर्म प्रालिको बगैंचाको स्याउ मात्रै ग्रेडिङ गर्ने छैन। आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गर्ने छ। स्याउ ग्रेडिङ गर्न झण्डै दुई दर्जन कामदारहरु परिचालन गरिएको छ। ग्रेडिङ मेसिन गाउँमै स्थापना गरेर सञ्चालनमा आएपछि किसानहरु हर्षित छन्।’ उनले भने।
यसअघि जिल्ला सहकारी संघ जुम्लामा ग्रेडिङ मेसिन ल्याए पनि सञ्चालनमा आउन सकेको थिएन। ग्रेडिङ मेसिन नहुँदा किसानहरुले जथाभावी स्याउ प्याकिङ गरेर पठाइएका थिए।
प्रकाशित: १४ आश्विन २०८० १७:०३ आइतबार





