५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अझै रोकिएन सुन तस्करी

उच्च निगरानीमा उत्तरी नाका

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो। तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

केरुङ नाकाबाट सुन भित्रिन थालेपछि कडाइ गरियो। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थाल्यो।विमानस्थलमा पनि कडाइ हुन थालेपछि तस्करहरूले तातोपानी नाका उपयोग गर्न थाले।त्यो नाका बन्द भएपछि फेरि केरुङ नाकाबाटै सुन तस्करी भइरहेको छ।

गत पुस १० गते इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे। त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ। अहिले पनि दाओजिनहरू चीनमै रहेको र विभिन्न माध्यमबाट नेपालतर्फ सुन तस्करी गरिरहेको प्रहरी स्रोतको दाबी छ।

साउन २ गते त्रिभुवन विमानस्थलबाहिरबाट करिब ६१ किलो सुन बरामद भएपछि सरकारले चारैतिर कडाइ गर्न थाल्यो। ६१ किलो सुन तस्करीमा दाओजिनलगायतको संलग्नता भेटिएको थियो।

विमानस्थलबाट बाहिरिएको सुनको अनुसन्धान नसकिँदै केरुङ नाकाबाट भएको २ किलो सुन तस्करीमा पनि उनीहरूकै हात रहेको निष्कर्षमा प्रहरी पुगेको छ। नियमित जाँच गर्ने क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याइएको दुई किलो सुन जिल्ला प्रहरी कार्यालय रसुवाले बरामद गरेको थियो। नियमित चेकिङमा शंका लागेर जाँच गर्दा टिमुरेबाट स्याफ्रुबेंसी गइरहेका २४ वर्षीया सुदीप शेर्पाका साथबाट सुन बरामद भएको थियो। उनले त्यो सुन टिमुरेकै फुर्साङ्बु शेर्पाले दिएको र आफूले काठमाडौं ल्याउन लागेको बताएका थिए।

सरकारको ध्यान विमानस्थलतिर गएका बेला तस्करहरूले केरुङ नाकालाई सुन तस्करीका लागि प्रयोग गरिरहेको अनुमान यी घटनाक्रमबाट गर्न सकिन्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबै नाकालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला केरुङबाट सुन बरामद भएको हो।

तातोपानी र केरुङपछि अहिले सुन तस्करहरूको नजर दोलखाको लामाबगर नाकामा पनि परेको छ। प्रहरीले दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारबाट बुधबार राति चार किलो सुन बरामद गरेपछि तस्करको नजर नयाँनयाँ नाकामा परेको अनुमान गर्न सकिन्छ। बरामद सुन उत्तरी नाका लामाबगरको फलेक हुँदै ल्याइएको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणका क्रममा तीन दिनअघि मात्रै सो नाका खुला गरिएको थियो। बिहीबारको बजार भाउअनुसार बरामद सुन ३ करोड ७७ लाख ४७ हजार ८०५ रूपैयाँको छ।

उक्त सुन बिगु–१ का १८ वर्षीय पेम्बा तामाङले नेपाल ल्याएका थिए। आइतबार चीनले नेपाल आउन रोङजिया र कोल्दुम नाका एक साताका लागि खोलिदिएको थियो। तर यी नाकाबाट सुन तस्करी भइरहेको पाइएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार चिनियाँ नागरिकले काठमाडौं लैजान सुन पेम्बालाई दिएका थिए।पेम्बाले सुन लुकाउन बिगु–१ का २८ वर्षीय केशर तामाङलाई दिएका थिए। केशरले उक्त सुन बिगु–३ जामुनेस्थित डेरामा लगेर राखेका थिए।

सोही क्रममा प्रहरीले बरामद गरेको हो।त्यही क्रममा सिँगटीस्थित केशर तामाङको डेराबाट सुनका चारवटा बिस्कुट बरामद भए। सो घटनामा एक चिनियाँ नागरिक पनि संलग्न भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तस्करीमा संलग्न आरोपमा केशरसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वुछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको बयान प्रहरीलाई दिएका छन्। उनीहरूले नुर्वुछिरिङ र सुनमालालाई काठमाडौंसम्म सुन पुर्‍याउन भनेको बयान पनि दिएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाले उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको सहयोगमा सुन बरामद गरेको हो। ‘बरामद सुन पक्राउ परेका व्यक्तिको होइन, उनीहरू त केही भरिया र केही सुन लिन आएका बिचौलिया मात्रै हुन्। केही चिनियाँ र स्थानीयको पनि नाम आएको छ।खोजी गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक खड्काले भने।

सुन तस्करहरूले उत्तरी नाकालाई उपयोग गर्न थालेपछि प्रहरीले निगरानी बढाएको छ।नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीका नौवटा बिओपी छन्। दार्चुलाको टिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ (कोरला नाकानजिकै), रसुवाको रसुवागढी/केरुङ, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला गरी नौ ठाउँमा सशस्त्रको बिओपी रहेको स्थानमा सशस्त्र प्रहरीको सहयोग लिएर निगरानी थालिएको छ।

‘यी सबै स्थानबाट तस्करी हुन्छ भन्ने होइन तर कुनै न कुनै बेला चीन सरकारले स्थानीयका लागि केही समय नाका खोलेको हुन्छ। यस्तो मौकामा तस्करहरूले सुन ल्याउने मौकाका रूपमा लिन सक्छन्, जस्तो अहिले लामाबगरमा देखिएको छ,’ नेपाल प्रहरीका उच्च अधिकारीले भने। उनका अनुसार स्थानीयका लागि नाका खुलेका बेला कहिलेकाहीं गोरखाबाट पनि सुन बरामद भएको छ।

‘हिउँ पग्लेका बेला स्थानीय नागरिकलाई प्रयोग गरेर चिनियाँले तस्करी गरिरहेका हुन्छन्।यस्तो अवस्थामा हामीले सशस्त्र प्रहरीको समेत सहयोग लिएर नाका निगरानी गरिरहेका छौं,’ नेपाल प्रहरीका उच्च अधिकारीले भने।

केही दिनदेखि प्रहरीको ध्यान अन्त मोडिएका बेला शुक्रबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै तीन किलो सुनसहित एक फिलिफिनी महिला पक्राउ परेकी छिन्।दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको हो।उनका साथबाट तीन किलो सुन बरामद भएपछि प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई जिम्मा दिएको छ।

प्रकाशित: १४ आश्विन २०८० ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App