४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा बजार अनुगमन, म्याद नाघेका वस्तु फेला

जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजार अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद सकिएका सामग्री जफत गरेको छ।

शनिबार जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा पुगेको अनुगमन टोलीले दोभान बजारका ३५ भन्दा बढी पसलहरुको अनुगमनका क्रममा म्याद सिद्धिएका सामान जफत गरी नष्ट गरेको अनुगमन समिति सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिए।

उनका अनुसार बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भएका तथा नवीकरण प्रक्रियामा सामेल हुन नसकेका पसल सञ्चालकलाई दसैँ अघिको म्याद समेत दिइएको घोर्साईले बताए।

‘दर्ता तथा नवीकरण प्रक्रियामा आउन बाँकी रहेका पसललाई निश्चित अवधि दिएका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने। उनले अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरु जफत गरी नष्ट गरेको समेत जानकारी दिए।

सबैभन्दा बढी साधारण पेय पदार्थ (कोक, फ्यान्टा, जुस) र तथा स्वयाबिन र सस सहितका सामान म्याद सकिएको र प्रयोग गर्न नमिल्ने अवस्थाका सामान जफत गरी नष्ट गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ। 

पछिल्लो समयमा जिल्ला अनुगमन समितिले ताप्लेजुङका विभिन्न बजार क्षेत्रहरुमा रहेका पसलहरुमा नियमित कार्यतालिका बनाएर अनुगमन गर्दै आइरहेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयको संयोजनमा मदिरा पदार्थ बिक्री वितरण गर्ने पसल तथा होटलहरुको समेत अनुगमन भइरहेको कोष नियन्त्रक गणेशकुमार पोखरेलले जानकारी दिए।

जिल्ला अनुगमन समितिले फुङलिङ बजारबाट सुरु गरेको अनुगमन फुङलिङपछि जिल्लाका प्रमुख तथा सहायक व्यापारिक केन्द्रहरुमा समेत विकेन्द्रित गरिएको घरेलु कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा अखाद्यय बस्तुको व्यवस्थापन, खाद्यान्न र मरिदा सहितको पेय पदार्थको व्यवस्थापन सहितका कार्यहरुमा पसल सञ्चालकहरुलाई सल्लाह समेत दिने गरिएको घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता नविन भट्टराईले जानकारी दिए।

जिल्ला अनुगमन समितिले ताप्लेजुङ सदरमुकाम फुङलिङपछि जिल्ला भित्रका अन्य स्थानमा रहेका बजार तथा पसलहरुको अनुगमन कार्यलाई नियमित र तीव्रै रुपले अघि बढाउने योजना बनाएको र एक पटक अनुगमन भएका क्षेत्रहरुमा सेवा सुधारको अवस्था मापनका लागि छाड्न अनुगमन गर्ने तालिका बनाएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए।

उनले प्रत्येक पालिकालाई समेत पालिका क्षेत्रका बजार तथा पसलहरुको अनुगमनका लागि आग्रह गर्ने योजना बनाइएको जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०८० १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App