जुम्लाको गुठिचौर गाउँपालिकाले दसैँ तिहारलाई मध्यनजर गर्दै गाउँका सडक खोल्न थालेको छ।
गाउँपालिकाले पालिका भित्र रहेका २३ गाउँका सडकहरु सञ्चालनमा ल्याउने बताएको छ। यसअघि ५ वडाका २३ गाउँ सडक सञ्चालनमा जोडिसकेका छन्। तर अधिकांश ठाउँहरुमा बर्षायामको बाढी र पहिरोले बिग्रँदा सवारी साधन चल्न सकेका छैनन्।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सडकका खाल्डाखुल्डी पुर्ने, बाढी पहिरोले साँघुरिएका सडक फराकिलो बनाउने र हरेक बस्तीसम्म सवारीसाधन सहजै रुपमा पुग्ने सडक बनाउन थालिएको बताए।
सडकको ग्राभेल गर्ने, नाला बनाउने काम पनि एकसाथ भइरहेको अध्यक्ष बुढाले बताए। दुई साता भित्र हरेक बस्तीमा एम्बुलेन्स पुग्ने, दमकल गुड्ने र मालबहाक तथा यात्रुवाहक गाडीहरु गाउँमा पुग्ने गरेर काम भइरहेको उनको भनाइ छ।
ग्रामीण सडक मर्मतको लागि दुई ट्याक्टर र पालिकाको डोजर परिचालन गरिएको छ। गुठिचौर-४ खल्लाबाडा देखि ग्रामीण सडक स्तरउन्नतीको काम सुरु गरिएको हो। शुक्रबार दानसाँघु देखि गोरुओढार सम्मको सडक मर्मतको काम भइरहेको छ।

‘सडक जनसरोकारसँग जोडिएको कुरा हो’, अध्यक्ष बुढाले भन्छन्, ‘आफै डोजर लिएर गाउँमा पुगिरहेको छु।’
उनका अनुसार बिहान ७ बजे देखि रातिको ८ बजे सम्म सडकमा काम भइरहेको छ। सुरक्षित गुठिचौर अभियान अन्तर्गत सडक मर्मत पनि महत्त्वपूर्ण पक्ष हो। अधिकांश गाउँ जुम्ला डोल्पा सडक अन्तर्गत पर्ने भएकोले १५ गतेदेखि सडक मर्मतको काम थाल्न समेत सडक डिभिजन कार्यालयलाई भनिएको पालिका अध्यक्ष बुढाले बताए।
दसैँमा अधिकांश गुठिचौरवासी बाहिर जिल्लाबाट भित्रिन्छन्। पर्यटकीय गन्तव्य गुठिचौर नै पालिका भित्र पर्ने भएकोले पर्यटकहरु आवागमनको लागि सहज हुने अपेक्षा गरिएको छ।
गुठिचौरको सडक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु डोल्पाको ‘से फोक्सुण्डो’ जान चाहन्छन्। जसका लागि सडकहरु धमाधम मर्मत भइरहेका हुन।
यसअघि मदिरा सेवन गर्न र बेच्न अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेपछि गुठिचौर शान्त छ। अब हरेक बस्ती जोड्ने सडक सुरक्षित बनाउने अभियान सुरु भइसकेको पालिकाले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८० ११:०७ शनिबार





