२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

छाडा चौपाया व्यवस्थापनको प्रगतिको विवरण पठाउन पालिकालाई अदालतको निर्देशन

छाडा चौपाया व्यवस्थापनका लागि एक महिना अघि आदेश गरेको कपिलवस्तु अदालतले छाडा चौपाया व्यवस्थापनमा गरेको प्रगति विवरण बुझाउन कपिलवस्तुका १० वटै पालिकालाई अर्को आदेश गरेको छ।आदेशको कार्यान्वयन नभएको भन्दै चौतर्फी कुरा उठे पछि अदालतले यस अघि दिइएको निर्देशन अनुसार के कस्ता काम सम्पन्न भएका छन त्यसको जवाफ लेखी पठाउन आदेश गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनले गत भदौ १२ गते पालिकाको नाममा छाडा चौपाया व्यवस्थापन गर्न अदालतको आदेश दिएको थियो । एक महिना बिति सक्दा पनि त्यस बारे पालिकाले केही जानकारी नगराए पछि अदालतको अर्को आदेश आएको बताए । गत असोज ९ गते जिल्ला रामानन्द प्रसाद अधिकारीले छाडा चौपाया व्यवस्थापनमा पालिकाहरूले हाल सम्म के कस्ता काम सम्पन्न गरेको छन त्यसको जवाफ यथाशीघ्र पठाउन निर्देशन दिएका हुन।निर्देशन बमोजिम गत असोज ११ गते १० वटै पालिकालाई पत्राचार गरिएको जिल्ला न्यायधिवक्ता मरासिनीले बताए। 

गत भदौ १२ गते छाडा चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गरी राजमार्गलाई निर्बाध आगमनको व्यवस्था मिलाउन कपिलवस्तु अदालतले जिल्लाका १० वटै पालिकालाई आदेश दिएको थियो।छाडा चौपायाको नियन्त्रणका लागि पालिकाहरूलाई अदालतले पहिलो पटक आदेश गरेको थियो । गत साउन ४ गते मध्यरातमा बसले ठक्कर दिँदा बुद्धभ्मी नगरपालिका २ पानी पोखरीमा एकै पटक १० वटा गाई गोरु मरे पछि चालक दाङ तुलसीपुर उप महानगरपालिका ३ का भुप बहादुर बिक विरुद्ध प्रहरीले पशुपक्षी सम्बन्धी  कसुरमा मुद्दा चलाएको थियो । सोही मुद्दाको फैसलाका क्रममा चालक विकलाई ३ लाख धरौटी लिई तारेखमा छाडने अदालते आदेश दिँदै छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको  थियो। 

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (२) ञ अनुसार छाडा चौपायाको नियन्त्रण गर्ने जिम्मा पालिकाहरूको रहेकोले पालिकाहरूले आफ्नो कर्तव्य निर्वाह नगरी छाडा गाईबस्तुहरूलाई राजमार्गका छाडी दुर्घटनाको स्थिति उत्पन्न भएको देखिएको आदेशमा उल्लेख रहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका राजमार्गहरूमा कानुनले निर्धारण गरेको कार्य सम्पादन गरी राजमार्गलाई खुलारुपमा आवागमनको व्यवस्था मिलाउन भनी निर्देशन दिएको थियो ।सो आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । यो आदेश पालना नभएको खण्डका अब पालिकाका जन प्रतिनिधिहरूलाई कसैले पनि अदालतमा मानहानिको मुद्दा समेत दायर गर्न सक्ने बाटो खुला भएको श्रेस्तेदार सुमन पाण्डेयले बताए।

दाङबाट काठमाडौँ तर्फ जानेक्रममा बाग्मती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले बाटोमा बसेको गाई गोरुलाई ठक्कर दिएको थियो । घटनामा १० जिउ गाई गोरु मरेको र ४ वटा र्घाईते भएका थिए।चालकले ३ लाख धरौटी जम्मा गरेर तारेखमा छुटेका थिए । छाडा चौपायाको व्यवस्थापन नहुँदा दुर्घटना बढेका तथा कृषकहरू समेत मर्कामा परेका छन । छाडा चौपाया व्यवस्थापनमा सुद्धोधन, मायादेबी, यशोधाराले केही काम गरेको बताएका छन। 

प्रकाशित: १२ आश्विन २०८० १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App