२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

प्रभावित क्षेत्रका जनतालाई सेवा दिन भेरी किनारमा नयाँ कार्यालय

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिंचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको छ।

भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाट गाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिंचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका-९ गुर्भाकोटमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले बिहीबार उद्घाटन गरे।

‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकाहरूमा सडक, विद्युतीकरण, सिंचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो,’ कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकाहरूमा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौं।’

कार्यवाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन दिए। भेरी-बंबई आयोजनासँगै भेरी करिडोर सिंचाइ विकास आयोजना सन्चालन गरिएको थियो। तत्कालीन अवस्थामा आयोजनाको शिलान्यास गर्दा प्रभावित क्षेत्रका नागरिकहरूका लागि छुट्टै राहत प्याकेजको कार्यक्रम नहुँदासम्म खड्काले आयोजना शिलान्यास हुन दिएका थिएनन्।

सुरुमा १२५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरु गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।

कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए। उनले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर कामहरू भइरहेको बताए।

कार्यवाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए।

‘हामीले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएका छौं,’ उनले भने, ‘आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ।’

प्रकाशित: ११ आश्विन २०८० १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App