१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मेडिकल पसलमा लागू औषध बेच्ने सञ्चालक रंगेहात प्रकाउ

झाको मेडिकलबाट बरामद प्रतिबन्धित औषधि। तस्बिर: महेश्वर/नागरिक

आफैले सञ्चालन गर्दै आएको मेडिकलबाट प्रतिबन्धित लागू औषध बिक्री वितरण गरेको आरोप खेप्दै आएका यहाँका एक औषधि व्यवसायी रंगेहात प्रहरी नियन्त्रणमा परेका छन्।

औषधि पसलबाटै लागू औषध बेच्ने गरेको आरोप सहँदै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेलटार बजारका ५० वर्षीय वीरेन्द्रकुमार झालाई रंगेहात पक्राउ गरेपछि बुधबार अ‍ैषधि व्यवस्था विभाग पठाइएको छ।

आफ्नै घरमा सञ्चालन गर्दै आएको मेडिकलमा प्रतिबन्धित लागू औषध बेच्ने गरेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले छापा मारी खानतलासी लिएको थियो। इप्रकाका निरीक्षक र नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख लक्ष्मीप्रसाद चौधरीसहित सहभागी टोलीले असोज २ गते ४ः०० बजेको समयमा छापा मार्दा उनको मेडिकलको औषधि राख्ने गोदाममा प्रतिबन्धित लागू औषध फेला परेको थियो।

खानतलासीको क्रममा प्रतिबन्धित लागू औषध फेला परेपछि स्थानीयले लगाएको मेडिकलबाटै लागू औषध बेच्ने गरेको प्रमाणसहित झालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलटारमा राखिएको थियो। तर, एक्कासि अस्वास्थ्य भएपछि आफन्तको जिम्मा लगाइएकोमा उपचार पश्चात् हाजिर गराउने सर्त अनुसार मंगलबार आवश्यक कारबाहीका लागि पुनः प्रहरी कार्यालय ल्याइएको उदयपुर प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेल्टारमा हाजिर भएपछि थप अनुसन्धान र कारबाही गर्न बुधबार बरामद प्रतिबन्धित औषधि २९ बट्टामा ७ सय २८ थानको ७ हजार २ सय ८० ट्याब्लेटसहित विभाग पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए।

डिएसपी चौधरीका अनुसार झाको मेडिकल खानतलासी लिँदा प्रहरीले ट्रामाडोल, स्पासेन र ओपिडोल नामक लागू औषध फेला पारेको थियो।

ट्रामाडोल १० बट्टामा ३ सय २ पत्ताको ३ हजार २० ट्याबलेट,  स्पासेन नामक प्रतिबन्धित औषधि ४ बट्टामा २ सय १६ पत्ताको २ हजार १ सय ६० ट्याबलेट र ओपिडोल १५ बट्टामा २ सय १० पत्ताको २ हजार १ सय गरी २९ बट्टामा ७ सय २८ थानमा ७ हजार २ सय ८० ट्याबलेट बरामद औषधि झासँगै कारबाहीका लागि विभाग पठाइएको हो।

प्रकाशित: १० आश्विन २०८० १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App