२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

वृद्ध उद्धारमा गृह मन्त्रालय नै तगारो

उद्धारमा गृह मन्त्रालयले उदासीनता देखाउँदा वृद्धभत्ता लिन जाँदा भिरबाट लडेर बेहोस भएका गोरखाका एक वृद्धको ज्यान जोखिममा परेको छ । गोरखाको उत्तरी क्षेत्र गोरखा चुमनुव्री गाउँपालिका–२ का चेवाङ दोर्जी सोमबार बिहान वृद्धभत्ता लिन गाउँपालिका कार्यालय पैदलै हिँडेका थिए । पैदलयात्राका क्रममा बिहान ११ बजेतिर मनास्लु संरक्षण क्षेत्रमा पर्ने एक भिरमा उनी लडेका थिए । रक्ताम्य भएर अचेत अवस्थामा दोर्जी रहेको सो क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले बताए ।  

उक्त क्षेत्रमा नेटवर्कको समस्या भएकाले ढिलोगरी आफूलाई टेलिफोन भएको बताउँदै उनले भने, ‘२ बजेर २० मिनेटको आसपासमा मलाई खबर आएदेखि नै उद्धार गर्न हारगुहार गर्न थालें तर गृह मन्त्रालयको उदासीनताले आज उद्धार गर्नै सकिएन ।’ उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरका लागि प्रयास गरेको सांसद बजगाईंले बताए । 

‘मनास्लु संरक्षित क्षेत्र भएकाले सेनाले गृह मन्त्रालयको अनुमति चाहिँदो रहेछ,’ उनले भने, ‘त्यसपछि गृह मन्त्रालयको कन्ट्रोल रुमसँग २ः२७ मा मैले कुरा गरें ।’ उक्त कुराकानीका क्रममा मनास्लु संरक्षित क्षेत्र चीनको सुरक्षासँग जोडिएको संरक्षित क्षेत्र भएकाले हेलिकप्टर पठाउन नमिल्ने जवाफ आएको उनले बताए ।

 उनी भन्छन्, ‘ठुलो भूकम्प, पहिरो भए मात्र लागत गृह मन्त्रालय बेहोर्छ भन्ने जवाफ दिनुभयो । त्यसपछि मै बेहोर्छु हेलिकप्टरबाट उद्धारको अनुमति मात्रै दिनुस् भनेर आग्रह गर्दा बल्ल साढे ४ बजे सेनाकहाँ अनुमति पुगेछ ।’  

गृह मन्त्रालयका अधिकारीले आफूसँग कुराकानी गर्दा निर्वासित तिब्बती राजा दलाई लामा निर्वासन भएदेखि चीनको चाहनाअनुसार त्यहाँ हेलिकप्टर पठाउन नमिल्ने जवाफ पाइएको सांसद बजगाई बताउँछन् । ‘हाम्रो भूमिमा हाम्रै सेनाको हेलिकप्टर घाइतेको ज्यान जोगाउन पठाउँदा केको चीनको सुरक्षाको कुरा भनेर प्रश्न गर्दा पनि केही पार लागेन,’ सांसद बजगाईंले भने । 

धेरै हारगुहार गर्दा अन्तमा गृहसचिव दिनेश भट्टराईले सेनाको हेलिकप्टर पठाउने अनुमति दिन तयार भएको सांसद बजगाईंले बताए । अनुमति दिए पनि हेलिकोप्टर उद्धारको लागत भने गृह मन्त्रालयले बेहोर्ने नसक्ने बताएको उनी बताउँछन् । उनी भन्छन्, ‘ठुलो भूकम्प, पहिरो भए मात्र लागत गृह मन्त्रालय बेहोर्छ भन्ने जवाफ दिनुभयो । त्यसपछि मै बेहोर्छु हेलिकप्टरबाट उद्धारको अनुमति मात्रै दिनुस् भनेर आग्रह गर्दा बल्ल साढे ४ बजे सेनाकहाँ अनुमति पुगेछ ।’  

हेलिकप्टरबाट उद्धार गर्ने अनुमति गृह मन्त्रालयबाट सेनाको जंगी अड्डा पुग्दासम्म दोर्जी घाइते भएको स्थानमा मौसम परिवर्तन र टेलिफोन अवरुद्ध भइसकेको थियो । ‘त्यसपछि त्यहाँ हेलिकप्टर जान सक्ने अवस्था रहेन । एक व्यक्ति जीवनमरणको दोसाँधमा हुँदा यहाँ गृह मन्त्रालयको त्यस्तो व्यवहारले आजित बनाएको छ,’ सांसद बजगाईंले दुखेसो पोखे । उता टेलिफोन सम्पर्क विच्छेद भएपछि दोजीको अवस्था अज्ञात छ । मंगलबार बिहानसम्म राम्रो खबर आए सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी रहेको सांसद बजगाईंले बताए ।

प्रकाशित: ९ आश्विन २०८० ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App