१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरको ८९ लाख भेटी कहाँ हरायो ?

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छानबिनसँगै गाउँपालिकाले गरेको अध्ययनमा ८८ लाख ८३ हजार एक सय २४ रुपैयाँको हिसाबकिताब नमिलेको देखिएको हो।

पालिकाका अनुसार आर्थिक वर्ष २०७५ असोज २२ देखि ०७९ माघसम्म कुल तीन करोड १४ लाख ६२ हजार रुपैयाँ आम्दानी भएकामा दुई करोड २० लाख ९१ हजार खर्च र बैंक मौज्दात १७ लाख ६६ हजार रुपैयाँ छ। बाँकी रकम (८८ लाख ८३ हजार) को दायित्व तत्कालीन समितिले नै बेहोर्नुपर्ने अवस्था देखिएको पालिकाको तर्फबाट अध्ययनमा संलग्न चार्टर्ड एकान्टेन्ट प्रज्ज्वल अधिकारीले बताए। ‘यो हिसाब–किताब पनि तत्कालीन समितिले दिएको विवरण र बिल–भरपाईका आधारमा मात्र निकालिएको हो,’ उनले भने, ‘कतिपय हिसाब–किताब पारदर्शी नभएकाले पछि कुनै प्रमाण प्राप्त भए अहिलेको तथ्य फरक पर्न सक्नेछ।’  

उनका अनुसार मन्दिरको आम्दानी र खर्चको लेखापरीक्षण पनि आर्थिक वर्ष २०७७/०७८ सम्मको मात्रै पाइएको छ। ‘पाँच आर्थिक वर्षको हिसाब–किताब हेर्दा अनुमानित बिलको एक लाख ५१ हजार, नाम नभएको बिलको ५० हजार, बैंक भौचर १७ हजार र निवेदनमार्फत्को छ हजार रुपैयाँको भुक्तानी आधिकारिक मान्न सकिएन,’ उनले भने, ‘कुनै आर्थिक वर्ष निर्माणको कामै नभई निर्माण शीर्षकमा भुक्तानी भएकोसमेत देखिन्छ।’ आव ०७९/०८० मा निर्माण नभई सात लाख ६९ हजार र त्यही आवमा भरपाईमार्फत् भुक्तानी भएको पाँच लाख ७० हजार आधिकारिक मान्न नसकिने देखिएको उनले जनाए।  

आव ०७५/०७६ मा ८६ लाख छ हजार रुपैयाँ आम्दानी भएकामा ९१ लाख ९१ हजार रुपैयाँ खर्च भएको देखिएको छ। आव ०७६/०७७ मा ७१ लाख ४३ हजार आम्दानी र ५० लाख २५ हजार खर्च, आव ०७७/०७८ मा ४२ लाख तीन हजार आम्दानी र ३६ लाख ५० हजार खर्च, आव ०७८/०७९ मा ८२ लाख आम्दानी र २८ लाख १३ हजार खर्च तथा आव ०७९/०८० मा ३३ लाख आम्दानी र १४ लाख खर्च भएको देखिएको चार्टर्ड एकाउन्टेन्ट अधिकारीले जानकारी दिए।  

उनका अनुसार शिला, दानपेटिका, भक्तजन, आजीवन सदस्यता, पैसा सटही, साधारण सदस्य, अतिथि कोठाभाडा, पार्किङ फर्म विक्री, पार्किङ शुल्क, ढुङ्गा बिक्री, शौचालय शुल्क, खानेपानी सञ्चालन, ब्याज, घरभाडालगायत मन्दिरका आम्दानीका स्रोत हुन्। ‘आन्तरिक लेखाप्रणाली व्यवस्थित नभएकाले कागजी विवरणभन्दा पनि बाहिरी कारोबार भएको हुनसक्ने प्रसस्त सम्भावना छन्,’ उनले भने, ‘रकम सहयोग हाताहाती लिएर हाताहाती नै खर्च गरेको देखिएकाले हिसाब–किताब स्पष्ट छैन।’  

सार्वजनिक निकाय भएपनि मन्दिरले योजना छनोट र सामग्री खरिदमा कानुनी प्रक्रिया नपु¥याइ काम गरेको देखिएको अधिकारीको भनाइ छ। उनले प्रशासनमा बुझाइएको प्रतिवेदनमा हिसाब–किताबको अंक गाउँपालिकाको अध्ययन प्रतिवेदनसँग मिल्ने भएपनि कतिपय शब्दावली र लेखाइको भाषा चाहिँ फरक रहेको बताए। ‘छानबिन प्रतिवेदनमा कतिपय तथ्य मोड्न खोजिएको छ,’ उनले भने, ‘अंक समान छन् तर शब्दावली फरक बनाइएका छन्।’

पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएर छानबिन गरेपछि त्यसैका आधारमा पालिकाले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बताए। ‘प्रशासनले गठन गरेको छानबिन समितिमा पालिकाबाट चार्टर्ड एकाउन्टेन्ट सदस्य हुनुहुन्छ। समितिले भदौ ३१ मै प्रशासनमा प्रतिवेदन बुझाएपनि लुकाउन खोजेको देखिन्छ,’ उनले भने, ‘हामीले प्रशासनलाई प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न दबाबस्वरूप आफूले देखेको यथार्थ सार्वजनिक गरेका हौं।’  

अध्यक्ष स्याङ्बोले प्रशासनले पालिकालाई छानबिन प्रतिवेदन दिन आनाकानी गरेको आरोप लगाउँदै छानबिन समिति र प्रशासनको काममा पालिकाले शंका गर्ने धेरै ठाउँ रहेको बताए। ‘छानबिन समितिले छानबिनक्रममा पालिकालाई विभिन्न दबाब र प्रभावमा राख्न खोजेको थियो,’ उनले भने, ‘तर, हामी चल्मलाएनौं, यथार्थ बाहिर आओस् भन्ने हाम्रो चाहना छ, प्रशासनले प्रतिवेदन बाहिर ल्याएन भने सचेत इलामबासीले त्यो प्रतिवेदन प्रशासनबाट थुतेर निकाल्नेछन्।’ उनले प्रतिवेदनबारे कार्यपालिका सदस्य प्रशासनमा बुझ्न जाँदा अपमानित गरिएको भन्दै आपत्तिसमेत जनाए।  

गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले पालिकाले मन्दिर व्यवस्थापनको जिम्मा लिएको आठ महिनामा एक करोड छ लाख आम्दानी भएपनि पुरानो समितिले पाँच वर्षमा तीन करोड १४ लाखमात्रै आम्दानीको हिसाब देखिनुमा रकम अपचलनको प्रसस्त सम्भावना देखिएको बताइन्। उनले प्रशासनले कार्यपालिका सदस्य इन्दिरा विश्वकर्मालाई पाथीभराको छानबिन प्रतिवेदनबारे बुझ्न सिडिओ कार्यालय गएका बेला प्रशासनले अपमानितसमेत गरेको गुनासो गरिन्।  

मन्दिरको रकममा नियमितता भएको विषयमा पालिका र प्रशासनबीच सुरुदेखि नै किचलो छ। २५ दिनको म्याद दिएर जेठ २३ मा गठन भएको सहाजक सिडिओ नेतृत्वको छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी सिडिओलाई बुझाएको छ। सहायक सिडिओ ध्रुव कोइराला संयोजक रहेको समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालय, सहरी विकास तथा भवन कार्यालय, रोङ गाउँपालिकाका प्रतिनिधि र एक अडिटर सदस्य छन्।  

गाउँपालिकाले मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न गत पोहोर असोजयता प्रशासनमा पटक–पटक पत्राचार गरेको थियो। तर, त्यतिबेला प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेको भन्दै तिक्तता सिर्जना भएको थियो। मन्दिरको पाँच वर्षदेखिको हिसाब–किताब पारदर्शी नभएको गाउँपालिकाको भनाइ छ। छ वर्षदेखि नवीकरण नभएको पाथीभराको पुरानो समितिमाथि छानबिन गर्न पालिकाले प्रशासनलाई पत्राचार गरेको थियो। त्यसपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो।  

सिडिओ श्रवणकुमार पोख्रेलले प्रशासनले छानबिन प्रतिवेदनको यथार्थ सार्वजनिक गर्ने बताउँदै आएका छन्। उनले प्रशासनले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता सामाजिक सञ्जालमार्फत् पनि दोहो¥याएका छन्। ‘छानबिन समितिमा सिडिओमाथि वा समितिमाथि कुनै शंका गर्नुपर्छजस्तो लाग्दैन,’ उनले भने, ‘छानबिनमा प्रशासनले हस्तक्षेप गर्ने कुराको कल्पनासम्म गर्न सकिँदैन।’  

आठ महिनामा करोड आम्दानी

पालिकाले गत फागुनदेखि आफूमातहतको पाथीभरा व्यवस्थापन समिति गठन गरेको छ। समितिले फागुनदेखि असोज ३ गतेसम्मको आठ महिनामा एक करोड छ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको समिति अध्यक्ष दिलीप राईले बताए।  

उनका अनुसार यो अवधिमा ९७ लाख ५६ हजार रुपैयाँ नगद र आठ लाख ५४ हजार रुपैयाँको जिन्सी सामान अनुमानित आम्दानी भएको हो। नगद रसिदबाट १६ लाख ८९ हजार, दानपेटिकाबाट तीन लाख ९२ हजार तीन सय ७७, लिलाम विक्रीबाट ११ हजार दुई सय २० र सिंहदेवी शिलाबाट चार लाख १० हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ।  

प्रकाशित: ५ आश्विन २०८० ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App