५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेश सरकारसँग राउटेहरुले मागे ‘दसैँ खर्च’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीसंग दसैँ खर्चको माग गर्दै राउटे समुदायका नागरिकहरु।

लोपोन्मुख राउटे समुदायले दसैँ पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारसँग ‘दसैँ खर्च’ माग गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री डिल्ल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री कार्यालयमै भेटेर यो समुदायका प्रतिनिधिहरुले दसैँ आफ्नो समुदायले धूमधामका साथ मनाउने भन्दै सरकारबाट आर्थिक सहयोग गरिदिन आग्रह गरेको हो।

राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीले आफूहरू दसैँ खर्च जुटाउनका लागि दैलेखबाट हिँडेको बताएको थियो। राउटे समुदायले दसैँको जोहो गर्न आर्थिक सहयोग माग गर्दै हिँड्ने गरेको छ। यो समुदाय हाल दैलेखमा बसोबास गरिरहेको छ।

‘दसैँ पर्व आईगो,’ राउटे मुखिया बिर्खेले भने ‘दसैँमा बली चढाउनु पर्छ, जनतालाई खसी बाँड्नु पर्छ, खसी किन्न पैसा (सहयोग) माग्न आएका हौँ।’

उनिहरुले दसैँमा आफ्नो समुदायमा बली दिने परम्परा रहेको र खसी समेत बस्तीमा बाँड्नु पर्ने भन्दै दुई लाख रुपैयाँ सहयोग चाहिने बताएका थिए। बिर्खेका अनुसार यो समुदायले खसी खरिद गरेर समुदायमा बाँडेर खाने प्रचलन रहेको छ।

‘हामीहरुले दसैँमा खसी किनेर हाम्रा जनतालाई बाँड्नु पर्छ,’ बिर्खेले भने ‘यसका लागि हामीलाई धेरै पैसा सहयोग चाहिन्छ, सबै मन्त्रीहरुले हामीलाई दुई लाख रुपैयाँ दिनु पर्‍यो।’ बिर्खेका अनुसार अहिले राउटे समुदायमा ८६ घर परिवार बसोबास गर्दै आएका छन्।

दसैँका लागि आर्थिक सहयोग माग्न दैलेखबाट दाङ आइपुगेको राउटे समुदायको टोलीलाई मुख्यमन्त्री चौधरीले प्रदेश सहयोगले आर्थिक सहयोग गर्न बचन दिएका छन्।

मुख्यमन्त्री चौधरीले यस अघिका सरकारले पनि प्रदेश सरकारले आर्थिक सहयोग गरेको भन्दै वर्तमान सरकारले पनि राउटे समुदायलाई दसैँ खर्च उपलब्ध गराउने आश्वासन दिए।

‘यसअघिका सरकारले पनि तपाईँहरूलाई दसैँ खर्च दिएको परम्परा रहेछ,’ मुख्यमन्त्री चौधरीले राउटे समुदायका प्रतिनिधिलाई भने ‘यो सरकारले पनि सक्दो सहयोग गर्छ।’

उनले अबको दुई/तीन दिनमै राउटे समुदायलाई आर्थिक सहयोग रकमको व्यवस्था गरिने बताए।

यसअघि पनि यो समुदाय लुम्बिनी प्रदेश सरकार समक्ष दसैँ खर्चका लागि सहयोग माग्न आउने गरेको थियो। दसैँ खर्चको जोहोका लागि संघीय सरकार समक्ष आर्थिक माग गर्दै काठमाडौँ सम्मै पुग्ने गरेका छन्। दसैँ पर्वलाई धूमधामका साथ मनाउने यो समुदायले सरकारी कार्यालय तथा स्थानीय तहहरूसँग पनि सहयोगको अपिल गर्ने गरेका छन्।

प्रकाशित: ४ आश्विन २०८० १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App