यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौ १ गतेसम्म) दुई हजार आठ सय ८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु भएको छ । ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार एक सय ४१ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्य गरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा बाढीका दुई २३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । पहिरोका तीन सय १८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका दुई सय ८७ घटनामा चार र चट्याङका दुई सय ४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार एक सय २३ घटनामा १५, हावाहुरीका दुई सय ७७ घटनामा आठ, जनावर आक्रमणका एक सय ७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् । रासस
प्रकाशित: १ भाद्र २०८२ १९:५० आइतबार





