२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्डो–प्यासिफिक सैन्य सम्मेलन, प्रधानसेनापति भारत जाँदै

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी ।

इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् । नयाँ दिल्लीमा यही असोज ९ र १० गते १३औं ‘इन्डो–प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्स (आइपिएसिसी)’ हुँदैछ । सम्मेलनको आयोजना भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा गर्दैछन् । अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी मिक्खानोभिल र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले सम्मेलनको अध्यक्षता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

आइपिएसिसीसँगै ‘इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरम’ पनि हुँदैछ । यी कार्यक्रममा पनि प्रधानसेनापति शर्मा सहभागी हुनेछन् ।  

प्रधानसेनापति शर्मा आइपिएसिसी सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली जान लागेको कुरा नेपाली सेनाको जंगी अड्डाले पुष्टि गरेको छ । ‘प्रधानसेनापति असोज ७ गते यहाँबाट प्रस्थान गर्नुहुन्छ । सम्मेलनमा भाग लिएर सम्भवतः ११ गते फर्किनुहुन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने । भण्डारीका अनुसार यस प्रकारको सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति पहिलेदेखि नै सहभागी हुँदै आएका छन् । उनले भने, ‘विगतका सम्मेलनमा पनि सहभागी हुँदै आएको हो । यो निरन्तर प्रक्रिया हो ।’  

पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात पनि नेपाली सेनाका प्रधानसेनापति यस्ता प्रकारका सम्मेलनमा पहिलेदेखि सहभागी हुँदै आएको बताउँछन् । ‘यो विभिन्न देशका सेनाबीच मित्रभाव जनाउने, परस्पर सद्भाव कायम गर्ने कार्यक्रम मात्रै हो,’ उनले भने, ‘यस्ता सम्मेलन, कार्यक्रममा नेपाली सेना पहिलेदेखि सहभागी हुँदै आएको छ । यसको अर्थ अर्को देशको स्वार्थमा नेपाली सेना सहभागी भएको भन्ने होइन ।’ नेपाली सेना सरकारले अख्तियार गरेको परराष्ट्र नीतिभन्दा बाहिर जान नसक्ने उनी बताउँछन् ।  

सम्मेलनमा ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि  प्रवर्द्धन, सुरक्षा सहयोग र सामूहिक रणनीति, परस्पर क्षेत्रीय हित र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकालगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । सन् १९९९ देखि हरेक दुई वर्षमा आइपिएसिसी हुँदै आएको छ । यसको १२औं सम्मेलन सन् २०२१ मा हवाईको फोर्ट साप्टरमा भएको थियो ।

भारतको दाबी  

सम्मेलन तयारीका क्रममा बुधवार भारतीय सेनाले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा भारतीय सेनाका उपप्रमुख एमभी सुचन्द्र कुमारले सम्मेलनमा इन्डो–प्यासिफिक मुलुकका सेनाका प्रमुखहरूले यस क्षेत्रमा देखिएको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका, परस्पर सहयोग तथा अन्तर क्षमता अभिवृद्धि र आधुनिक सेनामा आत्मनिर्भरताको आवश्यकता विषयमा छलफल गर्ने बताए । ‘विश्व अर्थतन्त्रमा इन्डो–प्यासिफिक क्षेत्रको भूमिका ठुलो र निर्विवाद छ । विश्वका ६४ प्रतिशत मानिस इन्डो–प्यासिफिक क्षेत्रमा बस्छन्,’ उनले भने, ‘विश्व व्यापारको ४६ प्रतिशतसहित कुल ग्रार्हस्थ्य उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको छ ।’ स्वतन्त्रतापछि भारतीय सेनाले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको दाबी कुमारले गरे ।  

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत देशका सेना प्रमुख सहभागी हुने जनाइएको छ ।

क्यानडेली सेनाको सहभागितामा संशय

शिख नेता हरदीपसिंह निज्जारको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक तनाव चलिरहँदा भारतमा हुने आइपिएसिसीमा क्यानडेली सेनाको सहभागिताका विषयमा संशय उत्पन्न भएको छ । क्यानडाका सेना प्रमुख यसअघिका आइपिएसिसीमा सहभागी हुँदै आएका छन् । अहिले भारतमा सम्मेलन हुन लागेकाले क्यानडेली सेना प्रमुखको सहभागिताका विषयमा आशंका जन्मिएको हो ।

भारतीय सेनाका मेजर जनरल अभिनय रायले क्यानडासँगको कूटनीतिक विवादले सम्मेलनमा कुनै असर नपर्ने दाबी गरेका छन् । राय भारतीय सेनाको रणनीतिक योजनाका अतिरिक्त महानिर्देशक हुन । ‘क्यानडासँगको कूटनीतिक विवादले सम्मेलनमा सेनाको सहभागितालाई असर गर्दैन र क्यानडा आइपिएसिसी यात्राको महत्त्वपूर्ण साझेदार हो,’ मेजर रायले भने । सम्मेलनमा क्यानडेली सेनाको प्रतिनिधित्व डेपुटी कमान्डर मेजर जनरल पिटर स्कटले गर्ने भारतीय अधिकारीको दाबी छ ।

गत जुन १८ मा क्यानडामा शिख नेता निज्जारको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । निज्जारलाई भारतले आफ्नो भूमिलाई खण्डित गरेर ‘खालिस्तान’ बनाउने अभियन्ताका रूपमा लिएको थियो । उनले क्यानडामा बसेर भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको भारत सरकारको दाबी छ । 

निज्जारको हत्यामा भारत सरकारको संलग्नता रहेको वक्तव्य क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्मा दिएका थिए । जसलाई भारतले इन्कार गरेको छ । निज्जारको हत्यापछि क्यानडाले त्यहाँ रहेका भारतका एक कूटनीतिक अधिकारीलाई देश निकाला गरेको थियो । जसको बदलामा भारतले पनि क्यानडेली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न उर्दी जारी गरेको थियो ।  

प्रकाशित: ४ आश्विन २०८० ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App