२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रत्नपार्क-सूर्यविनायक खण्डमा ‘रातो कार्पेट’

भक्तपुरको राधेराधेनजिकको सडक खण्डमा गरिएको रातो मार्किङ। तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

रत्नपार्कदेखि सूर्यविनायकसम्मको १९ किलोमिटर दूरी पार गर्न सार्वजनिक यातायातमा कति समय लाग्ला? यसको कुनै निश्चित उत्तर छैन। कहिले एक त कहिले डेढ घन्टा। कार्यालय समयमा त यो समय अझै बढ्छ। अब यही सडक खण्डमा थोरै भए पनि निश्चितता आउने भएको छ। सरकारले संविधान दिवसको अवसर पारेर बुधबार सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रूत बस सेवा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।

‘डेडिकेटेड लेन’ सहितको द्रूत बस सेवाबाट यात्रा गर्दा यो दूरी ४० देखि ४५ मिनेटमा पूरा हुने अनुमान छ। यातायात व्यवस्था विभागले ५–५ मिनेटको फरकमा चल्ने गरी २५ वटा ठूला बस व्यवस्था गरेको छ। सेवा सुरु गर्नुअगाडि सडक विभागले गरेको रातो मार्किङले धेरैको ध्यान खिचेको थियो। कालो पिचमा कोरिएको रातो मार्किङ तस्बिर राख्दै कतिपयले सामाजिक सञ्जालमा ‘अब कसलाई यो रातो कार्पेट’ भनेर व्यंग्यसमेत गरेका छन्।

मार्किङको अर्थ बुझ्नेले यसको जवाफ पनि दिएका थिए। ‘यो राजा–महाराजा हैन सर्वसाधारणले चढ्ने सार्वजनिक यातायातको बाटो हो’, सामाजिक सञ्जालमा प्रदिप फुयाँलले लेखेका छन्, ‘आशा छ, यो रातो कार्पेटमा हाम्रो यात्रा सहज हुने छ।’

द्रूत बस चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। ‘यो सेवाबाट यात्रुले सहज सुविधा पाउने विश्वास लिएका छौं’, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘एकडेढ घन्टासम्म लाग्न सक्ने यो सडक खण्डको यात्रा ४० देखि ४५ मिनेटमा पूरा हुने विश्वास लिएका छौं।’

यो लेनमा बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन हुने उनले बताए। उक्त समयमा सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुवै तर्फबाट गुड्न पाउने भएको छ। हाललाई कार्यालय समयलाई ध्यानमा राखी द्रूत बस सेवा चलाउन लागिएको हो। अन्य समयमा भने अहिलेजस्तो सबै प्रकारका सवारी साधन ती लेनबाट पनि चल्न पाउनेछन्। रेड मार्किङ गरेको लेनमा तोकिएको समयमा अन्य सवारी साधन गुड्न नपाउने भट्टले बताए। त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बसले अत्यावश्यक अन्य सेवाका बसजस्तै प्राथमिकता पाउने छन्।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलले अहिलेलाई बसमा द्रूत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने योजना रहेको सुनाए। ‘संविधान दिवसको दिन ट्रायल रूपमा चलाउने छौं’, उनले भने, ‘त्यसपछि क्रमशः व्यवस्थित रूपमा अगाडि बढ्ने छौं।’

द्रूत बस सेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही समयअगाडि सडक विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति बनाएको थियो। उक्त समितिले दिएको सुझावका आधारमा डेडिकेटेड लेनसहितको द्रूत बस सेवा सञ्चालन थालिएको प्रवक्ता पोखरेलले बताए।

अहिले मनोहरा पुलदेखि माइतीघरसम्म सर्भिस लेनलाई नै डेडिकेटेडमा परिणत गरिएको छ भने माइतीघरदेखि रत्नपार्कसम्म दायाँपट्टिको लेनलाई डेडिकेटेडमा परिणत गरिएको पोखरेलले बताए।

यो सेवा सफल भएमा सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्रान्ति हुने ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सुनाउँछन्। ‘यो यातायात व्यवस्थापनमा देखिन लागेको सानो तर प्रभावशाली संकेत हो’, भट्ट भन्छन्, ‘यो सफल भए सार्वजनिक यातायातप्रति यात्रुको विश्वास बढ्ने छ।’

सार्वजनिक सवारीको समयको कुनै निश्चितता नहुँदा उपत्यकामा बर्सेनि लाखौं निजी सवारी साधन थपिँदै गएको उनी बताउँछन्। ‘यसपछि अन्य ठाउँमा यस्तो सेवा सञ्चालन गर्ने बाटोसमेत खुल्ने छ’, उनी भन्छन्, ‘त्यसैले यो सेवा हरेक अर्थमा महत्वपूर्ण रहेको छ।’

बुधबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म ‘द्रूत बस सेवा’ शुभारम्भ हुने छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिहान ९ बजे रत्नपार्कस्थित शान्ति वाटिकाबाट द्रूत बस सेवा शुभारम्भ गर्ने छन्। शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री, काठमाडौं महानगरका मेयर, मध्यपुर ठिमी, सूर्यविनायकका मेयरहरूको सहभागिता रहने छ।

प्रकाशित: ३ आश्विन २०८० ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App