१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अपराध नियन्त्रणमा उच्च प्रविधि अपनाइँदै

नयाँ प्रहरी प्रमुख एसपी रमेश थापाले उदयपुरको विद्यमान आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्चस्तरीय सूचना प्रविधि उपयोग गर्ने बताएका छन्। उदयपुरको सुरक्षा कमान्ड सम्हाल्न आइपुगेका एसपी थापाले भर्खरै पत्रकार भेटघाट कार्यक्रम गरी सो प्रतिबद्धता जनाएका हुन्।

अहिलेको आपराधिक घटनामा उच्चस्तरीय प्रविधिको धेरै दुरूपयोग हुने गरेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्न पनि प्रविधिकै उच्चतम उपयोग गर्नुपर्ने योजना आफूले बनाएको सुनाए। ‘आपराधिक समूहसँग जस्तालाई तस्तै (काउन्टर) गर्न पनि प्रविधिकै प्रयोग अत्यावश्यक भइसकेको छ, त्यसले हामी पनि प्रविधिकै माध्यम र प्रयोग गरेर अपराध नियन्त्रण योजना बनाएका छौं’, थापाले भने।

प्रहरीका कामकारबाही, संगठन शुद्धीकरण र सबैखाले अपराध न्यूनीकरण गर्न नयाँ र पछिल्लो प्रविधि उपयोग गर्नुपर्ने निष्कर्षसहित यस्तो योजना अघि बढाएको उनले बताए।

उदयपुर प्रहरीले मोबाइल एप्स र क्युआर कोडका माध्यमबाट सेवा नियमित गरिसकेको बताउँदै एसपी थापाले यो प्रविधिले विशेषगरी तत्काल प्रहरी परिचालन गर्न र सबै खाले घटना विवरणका सूचना पाउन सकिने बताए। त्यस्तै क्युआर कोडमार्फत जिल्लाभरिका सबै युनिटमा सम्पादन हुने कामकारबाहीको अभिलेख राख्न र सेवाग्राहीबाट प्राप्त सुझावअनुसार सहजीकरण गर्न सकिने एसपी थापाको भनाइ छ।

प्रहरीले गर्ने सबै युनिट र शाखागत कामकारबाही चित्तबुझ्दो र कानुनसम्मत भएनभएको कुरा क्युआर कोडमार्पत पत्ता लाग्ने तथा कुनै शाखा र व्यक्तिबाट काममा ढिलासुस्ती र असहयोग भए सो पनि उल्लेख हुने प्रविधिको विकास गरिएको उनले बताए। यो प्रविधिबाट सेवाग्राहीले नाम उल्लेख नगरी उजुरी दिए हुने र भोलि अप्ठेरो पर्छ कि भनेर डराउनुनपर्ने सुविधा छ।

 ‘उजुरीकै आधारमा भोलि समस्या हुन्छ भन्ने कसैले नसोच्दा हुन्छ, त्यसको जिम्मेवारी कार्यालयले लिन्छ’, एसपी थापाले भने, ‘यदि प्रहरीबाट नियतवश ढिलासुस्ती, असहयोग र प्रलोभन दिएको पत्ता लागे उनीहरूमाथि विभागीय कारबाही हुन्छ।’

जिल्लाको शान्तिसुरक्षा, अमनचयन कायम गर्न, फैलँदो लागुऔषध, भयावह आत्महत्या समस्या, सामाजिक विकृति बिसंगति, बालविवाह तथा अनलाइन ठगीजस्ता अपराध निस्तेज गर्न पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना उनले सुनाए।

एसपी थापाले आपराधिक समस्या पहिचान गरी आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन स्थानीय तहका जनप्रतिनिधिसँगै अन्य विभिन्न सरोकारवाला व्यक्ति तथा संघसंस्थासँग साझेदारी गरेर अघि बढ्ने बताएका छन्।

अपराधीमाथि कानुनी कारबाही गर्नु नै अन्तिम निकास नभएको ठहर गर्दै त्यसअघि सुधार गर्न सकिने ठाउँ रहेछन् भने सबै पक्षको सुझाव र सल्लाह अनुसार मिलेर सुधार गर्नेतर्फ लाग्ने बताए। शान्ति सुरक्षासँगै प्रहरी सेवालाई चुस्तदुरुस्त राख्दै त्यसबाहेक जिल्लाका नागरिकसँग साझेदारी कार्यक्रम चलाउने योजना उनको छ।

कार्यक्रममा सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले प्रहरी कार्यालयले गरेका क्रियाकलाप, घटना विवरणका सूचना व्यवस्थित रूपले समयमै सञ्चारकर्मीसमक्ष प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए।

भेटघाट कार्यक्रममा सहभागी पत्रकारले जिल्लामा हुँदै आएका आपराधिक घटना, अन्य समस्या र चुनौतीको शान्तिपूर्ण र दीर्घकालीन समाधान गर्न आवश्यक सुझाव र सल्लाह एसपी थापा र समग्र प्रहरीलाई सुझाएका थिए।

प्रकाशित: २ आश्विन २०८० ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App