१५ चैत्र २०८० बिहीबार
समाज

काठमाडौंमा नयाँ कुमारी आउँदै

काठमाडौं- नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।
मतिना २०६५ सालमा कुमारीका रुपमा कुमारी घरमा प्रवेश गरेकी हुन् । उनको उमेर १२ वर्ष पूरा भएकाले दसैंको महाअष्टमीका दिन कुमारी घरमा नयाँ कुमारी भिœयाउने तयारी भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ । परम्परा अनुसार बहालवाला कुमारी १२ वर्ष पुगेपछि नयाँ कुमारी प्रतिस्थापन गर्नुपर्ने मान्यता रहेको कार्यालयका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार महिनावारी हुने उमेरलाई ध्यानमा राखेर नयाँ कुमारी प्रतिस्थापनको तयारी भएको हो । ‘९ वर्षदेखि जीवित देवी कुमारीका रूपमा पुजिँदै आएकी मतिना शाक्य १२ वर्ष पुगेकी छिन्,’ उनले भने, ‘सामान्यतया कुमारीको उमेर १२ वर्ष पुगेपछि नयाँ कुमारी चयन गरिन्छ ।’ यो परम्परा उपत्यकाका तीनै जिल्लामा चालू छ । कुमारीलाई जीवित देवीका रुपमा पुज्ने परम्परा  मल्ल कालमा सुरु भएको हो ।
वसन्तपुरस्थित कुमारी घरका प्रतिनिधि तथा इन्द्रजात्रा संरक्षण समितिका अध्यक्ष गौतम शाक्यका अनुसार ११ गतेसम्म नयाँ कुमारीको टुंगो लाग्नेछ । ‘अहिले शाक्य परिवारभित्र नयाँ कुमारी छनोटबारे चर्चा चलिरहेको छ,’ उनले भने, ‘अहिलेकी कुमारी मतिना शाक्यलाई राजकीय सम्मानका साथ नयाँ कुमारी प्रतिस्थापन हुनुअघि ‘कुमारी घर’ बाट बिदाइ गरिन्छ ।’ कुमारी छान्दा कालो कपाल, गहुँगोरो अनुहार, निडर, शरीरमा दाग नभएको, तेजिला आँखालगायत गुणमा ध्यान दिनुपर्छ ।
जीवित देवीका रुपमा कुमारी पुज्ने परम्परा काठमाडौंका धेरै जात्रा र पर्वसँग जोडिएको छ । इन्द्रजात्रा, घोडेजात्रा, रातो र सेतो मच्छिद्रनाथ जात्रालगायत पर्वका बेला वर्षमा १३ पटक कुमारीलाई कुमारी घरबाट बाहिर निकालिन्छ । यहाँका जात्रापर्व कुमारी कुमारी घरबाट बाहिर निस्कन पाउने अवसर पनि हुन् ।
कार्यालयका उपप्रशासक पाण्डेका अनुसार १८२५ साल पहिले जयप्रकाश मल्लको पालासम्म यहाँ वास्तविक कुमारी मानिने तुलजा भवानी बस्थिन् । ‘अभिलेख अनुसार जयप्रकाश मल्ल र तुलजा कुमारी एकदिन पासा खेल्न बसेछन्,’ उनले सुनाए, ‘खेल्ने क्रममा आपसमा भनाभन भएछ, त्यसपछि तुलजा यहाँबाट भागिछिन् ।’ उनले भाग्नुपूर्व  मेरो साटो यहाँ कुनै कुमारी ल्याएर प्रतिस्थापन गर्नु भनेकाले जीवित कुमारीलाई देवीका रुपमा पुज्ने  परम्परा रहेको बताए । सोही अनुसार राजा जयप्रकाश मल्लले २ सय ५८ वर्षअघि कुमारी घर निर्माण गरी कुमारी राख्ने परम्परा थालेको इतिहास छ । किंबदन्ती अनुसार तुलजा भवानीसहित सिमरौनगढका राजा हरिसिंहदेव नेपाल (काठमाडौं उपत्यका) आएका  थिए । उक्त समय हरिसिंहदेवकी रानी देवलदेवीले भक्तपुर दरबारमा तुलजा भवानी स्थापना गरेको र त्यसको केही समयपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा पूजा गर्न थालेको किंबदन्ती छ ।
 

यसरी गरिन्छ कुमारी छनोट
काठमाडौं दरबार क्षेत्रभित्र पर्ने स्थान लगन र ठहिटीबीच बौद्ध सम्प्रदायको १८ महाविहार छन् । यी १८ महाविहारभित्र ६ शाक्य समुदाय छन् । यीनै शाक्य समुदायबाट कुमारी छनोट गरिन्छ । कुमारी छनोट गर्दा समुदाय, जन्मकुण्डली, उमेर, गुण, कुल परम्परा, बावुआमाको विवाहलाई हेरिने गुठी संस्थान शाखा कार्यालय, काठमाडौंका निमित्त प्रमुख बैकुन्ठ रेग्मीले जानकारी दिए । उनका अनुसार कुमारी छनोटका लागि ६ वटा समुदायका मुख्य व्यक्ति (पञ्चबुद्ध) र राजगुर्जुलाई जिम्मा दिइन्छ । ‘कुमारी छनोट गर्दा धेरै विषयलाई हेरिन्छ,’ रेग्मीले भने, ‘कुमारी हुनका लागि बाबुआमा दुवै शाक्य थरका हुनुपर्छ, आमाको माइती अन्य थरका भए पनि कुमारी राख्न मिल्दैन ।’ कुमारी छान्ने अन्तिम अधिकार पञ्चबुद्ध र राजगुर्जुलाई नै दिइन्छ । यी दुई पक्षले छनोट गरेपछि गुठी संस्थान, केन्द्रीय कार्यालयले प्रक्रिया अघि बढाउँछ । अहिले कुमारी छनोटको लागि गुठी संस्थानले ५ सदस्यीय समिति बनाएको छ । समितिमा तलेजु मन्दिरका मूल पुजारी, जोशी समुदायका नाइके, पञ्चबुद्ध, राजगुर्जु र कुमारी घरका चिताइदारलाई राखिएको छ । समितिलाई १० गतेसम्म कुमारी छनोट गर्ने समयसीमा दिइएको गुठी संस्थान, केन्द्रीय कार्यालयले जनाएको छ । ‘सामान्यतया दुई वर्ष पुगेकी बालिकालाई जीवति देवी कुमारीका रूपमा छनोट गरिन्छ,’ निमित्त प्रमुख रेग्मीले भने, ‘बीचको समयमा कुनै अवरोध भएन भने उनी १२ वर्ष हुँदासम्म कुमारी देवीका रूपमा रहन्छिन् ।’ रेग्मीका अनुसार आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेमा शाक्य परिवारका आमाबाबुले कुमारी छनोट समिति र विहारसमक्ष निवेदन दिन्छन् । निवेदनमध्येबाट उपयुक्त गुण भएकी कुमारी छनोट गरी समितिले उनलाई  पुजारीसहित राष्ट्रप्रमुखकहाँ लैजाने चलन छ ।
कुमारी छनोट गर्नुपूर्व विहार र समितिबाट सिफारिस भएर आएपछि उनको चिना राजज्योतिषलाई देखाइन्छ । उनले चिना हेरेर बत्तीस लक्षणयुक्त बालिका छनोट गर्छन् । यसरी चिना हेराएर सबै कुरा मिल्ने भएपछि कुमारी राख्ने टुंगो हुन्छ ।
सेवा सुविधा
काठमाडौंकी कुमारीले मासिक ४० हजार तलब पाउँछिन् । सो तलब काठमाडौं महानगरपालिका, गुठी संस्थान र निवृत्तिभरण व्यवस्थापनबाट संयुक्तरूपमा आउँछ । कुमारीलाई परिवारले नै स्याहारसुहार तथा पठनपाठन गराउनुपर्ने व्यवस्था छ ।
त्यस्तै, ललितपुरकी कुमारीलाई परिवारले स्याहारसुहार र शिक्षा दिनुपर्ने परम्परा रहेको गुठी संस्थान, ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ललितपुरकी कुमारीको तलब मासिक आठ हजार रुपैयाँ छ । ललितपुरमा शाक्य र बज्राचार्य समुदायबाट कुमारी राख्ने चलन छ । पाटनस्थित रत्नानगर विहारमा कुमारीलाई राखिन्छ । भक्तपुरकी कुमारीको तलब भने मासिक चार हजार एक सय रुपैयाँ छ ।

प्रकाशित: ८ आश्विन २०७४ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App