२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैध रूपमा भित्रिएको हुन सक्ने बताए।

‘बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ। त्यहाँ उल्लेख गरे अनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन’, उनले भने, ‘भारतबाट अवैध रूपमा भित्रिएको हुनसक्छ।’ अवैध रूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन्।

लु ३ च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौंतर्फ लैजान लागिएको थियो। जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले बताए। सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए।

‘भौतिक रूपमा हेर्दा माछामा गन्ध आएको छ’, उनले भने, ‘अवैध र गन्ध आएपछि नष्ट गरेका हौं।’

अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए। नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म रहेको गौतमले बताए। तर बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ।

मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताए। उनले १० महिनाको अवधिमा चितवनमा मात्रै चार पटक अवैध रूपमा भित्र्याइएको माछा नष्ट गरिएको बताए।

बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ।

चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ। माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ। यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App