१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोरिया जान तालिम लिएका युवा ‘अन्योल’ मा

तालिम सञ्चालक भन्छन्– बाचा पूरा गर्छु

रोजगारीका लागि ‘कोरिया पुगिने’ सपना बुनेर सिप सिकेका इलामे युवा अन्योलमा परेका छन्। कोरियाको पानीजहाज कम्पनीमा काम गर्न पाइने आश्वासन पाएपछि वेल्डिङको तालिम लिएका युवा अहिले कोरिया जान पाइने वा नपाइने दोधारमा भौंतारिन थालेका छन्।

सदरमुकामको एसिई स्किल ट्रेनिङ सेन्टरले जिल्लाका चार सय युवालाई जनही ९१ हजार रुपैयाँ लिएर तीन महिनाको वेल्डिङ तालिम सञ्चालन गरेको थियो। थप २४–२४ हजार रुपैयाँ लिएर काठमाडौंमा उनीहरूको सिप परीक्षण समेत गरियो। सिप परीक्षणमा उत्तीर्णलाई पुनः अर्काे तालिम गराइँदैछ। तर, तालिम सेन्टरले आफूहरूलाई इ–सेभेन भिसामार्फत् कोरिया लैजाने आश्वासनसमेत दिएकाले तालिम लिएको युवा बताउँछन्।

‘कोरिया लैजाने भनेकै कारण मोटो रकम खर्चेर तालिम लिइयो,’ एक युवकले अन्योल पोखे, ‘अहिले सरकारले रोजगारीका लागि इपिएसबाहेक अन्य बाटोबाट कोरिया जान नसकिनेबारे सचेत गराउन थालेपछि अन्योल भएको छ।’

तालिम सेन्टरले युवालाई सुरुमा पाँचदेखि सात लाख रुपैयाँ खर्चिँदा कोरिया जान सकिने बताए पनि अहिले १६ लाख रुपैयाँसम्म लाग्ने भन्दै पैसा माग्न थालेको युवा बताउँछन्।

‘पहिलो किस्ता भन्दै अहिलेलाई चाहिँ पाँच–पाँच लाख रुपैयाँ मागिँदैछ,’ अर्का एक युवकले भने, ‘यतिको लगानी गर्नुपरेपछि हामी वैधानिक हिसाबले कोरिया पुग्न पाइने हो कि होइन भन्नेमा चाहिँ ठूलो अन्योल छ।’

कोरियामा कामदारका रूपमा जान १२ कक्षा उत्तीर्ण र ३५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड केही समयअघि इपिएस कोरिया शाखाले सार्वजनिक गर्‍यो। यो मापदण्डमा नपरेपछि यसअघि वेल्डिङ तालिम लिएका १७ जनाले भने जिल्ला प्रशासन कार्यालयमा तालिम केन्द्रविरुद्ध उजुरी दिई रकमसमेत फिर्ता लगेका छन्। तालिम सेन्टरले उनीहरूलाई जनही एक लाख रुपैयाँ फर्काइदिएको जिल्ला प्रशासनले जनाएको छ।

प्रशासनले भने इलामका युवालाई तालिम दिने एसिई स्किल ट्रेनिङ सेन्टर नै वैधानिक नभएको जनाएको छ। सेन्टरले तालिमको अनुमति नलिएको विषयमा प्रशासनले पत्राचार गरेपछि प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सेन्टरमाथि छानबिनसमेत गरिरहेको छ। सिडिओ श्रवणकुमार पोख्रेलले सरकारले वैधानिक रूपमा पठाउनेबाहेक अरू कसैले अहिले कुनैपनि प्रकारका कामदार कोरिया पठाउन नसक्ने बताए। उनले कसैले ‘कोरिया पठाउँछु’ भन्ने आश्वासन दिए त्यो भ्रममा नपर्न पनि सबैलाई सचेत गराए।

सेन्टरका प्रोप्राइटर सुरेन्द्र राईले भने सेन्टर वैधानिकताको प्रक्रियामै रहेको दाबी गरे। उनले आफूले तालिम लिने युवाका लागि देखाएको सपना पनि पूरा गर्ने दाबी गरे।

‘मैले वैदेशिक रोजगारीमा जान तालिम अनिवार्य हुन्छ भनेर युवालाई सिप सिकाएको हुँ,’ उनले भने, ‘तालिम लिएका युवासँग गरेको बाचा जसरी पनि पूरा गरेरै छाड्छु। यद्यपि, म कोरिया वा अन्य कुनै वैदेशिक रोजगारीमा कामदार लैजाने आधिकारिक व्यक्ति होइन।’

राईले केही कारणले आफूले गरेको बाचा पूरा गर्न नसके तालिम लिएका युवाप्रति आफू एकल रूपमा जबाफदेही हुने बताए।

‘कुनै कारणले मैले बाचा पूरा गर्न सकिनँ भने त्यसको सबै दायित्व एकल रूपमा लिन्छु,’ राईले भने, ‘अहिले सबैको चासो ममाथि नै छ भन्ने मलाई राम्रोसँग थाहा छ, दुई–चार पैसा भेला गरेर कतै भाग्दिनँ, अहिलेसम्म कमाएको इमान पैसासँग साट्दिनँ।’ राईले कोरिया पठाउने भन्दै आफूले अहिलेसम्म कसैसँग रकम नलिएको पनि बताए।

प्रकाशित: ३१ भाद्र २०८० १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App