६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भीमले राक्षसलाई बध गरेर मुक्ति दिएको सम्झनामा अट्वारी पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

थारु समुदायमा अट्वारी पर्वको उल्लास छाएको छ। दुई दिनसम्म मनाईने अट्वारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज आईतवार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिएको छ। थारु समुदायको बाहुल्यता रहेका केहि स्थानीय सरकारले आईतवार र सोमवार दुई दिन सार्वजनिक बिदा दिएका छन्। थारु समुदाय वसोवास गर्ने सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर र लुम्विनी प्रदेशका बाँके, बर्दिया र दाङमा उल्लासका साथ अट्वारी मनाइरहेका छन्।

थारु समुदाययले पाँच पाण्डव भाई मध्यका भीमको पुजा आजा गरेर कृष्ण जन्माष्टमीपछिको दोश्रो आईतवार र सोमवार दुईदिन अट्वारी पर्व मनाउने गर्छन। राक्षसले अत्याचार गरेर धेरै दुःख दिइरहेका वेला घुम्दै आएका भीमले राक्षसलाई बध गरेर मुक्ति दिलाएको सम्झनामा थारु समुदायले भीमको पुजाआजा गरेर अट्वारी पर्व मनाउने गरेको किवदन्ती रहेको थारु कल्याणकारी शभाका केन्द्रिय सदस्य तथा थारु समुदायका अगुवा प्रभाव चौधरीले बताए।

‘थारु समुदायले आईतवार र सोमवार दुई दिन भिमको पुजाआजा गरेर अट्वारी पर्व मनाउने गर्छन’ उनले भने,‘थारु समुदायमा अट्वारी पर्वको उल्लास छाएको छ।’ थारु समुदायको यो पर्वको बिशेष महत्व रहेको उनको भनाई छ ।

आईतवार आधा दिन व्रत वस्ने चलन छ। भीमको पुजाआजा गरेर आईतवार साँझ खाने चलन रहेको उनी बताउँछन। आईतवार राती र सोमवार बिहानै उठेर खानाका विभिन्न परिकार पकाउने गरिन्छ। सोमवार बिहान पुजापाठ गरिन्छ। पकाइएका खानाका सबै परिकारलाई दुई भाग बनाएर छुट्याईन्छ। दुई भाग मध्य एक भाग चेलिबेटीहरुलाई ‘अग्रासन’ दिइन्छ भने एक भाग व्रत वसेकाहरुले खाने गर्छन। खाना खाएपछि पहिले छुट्याइएको एक भाग बिवाहित चेलिबेटीको घर गएर दिने चलन छ। खाना खानु अघि नै खानाका परिकार लाई छुट्याई राखेर चेलिबेटीलाई दिनुलाई अग्रासन दिने भनिन्छ।

‘अट्वारी पर्वको महत्वपूर्ण पक्ष चेलिबेटीहरुलाई अग्रासन दिनु हो, अट्वारी पर्वमा चेलिबेटीहरु माईतबाट दाजुभाईले ल्याउने अग्रासन कुरेर बसेका हुन्छन’ उनले भने,‘दाजु बहिनी बिचको समधुर सम्वन्ध बनाउन पनि यो पर्वको महत्व छ।’ अट्वारी पर्वमा अग्रासन नदिएमा चेलीबेटीहरु चित्त दुःखाउने उनी बताउँछन। अग्रासन दिन जाने दाजुभाई दिदीबहिनीहरुले पनि मानसम्मान गर्ने चलन छ। अण्डीको चामल पिसेर बनाइएको रोटी, घुईयाको पत्ताको ‘खरिया’, बेसनको पकौडा अट्वारी पर्वमा महत्वपुर्ण परिकार मानिने उनले बताए। यी लगायत विभिन्न खानाको परिकार चेलिबेटीलाई अग्रासन दिइने गरेको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App