भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं-४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा एक जनाको शव फेला परेको छ।
शनिबार जंगलमा घाँस काट्न गएका स्थानीयले रुखमा सलको पासो र भुईँमा मानिसको टाउको छिनेको अवस्थामा देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ अनुसन्धानको लागी वृत्त ठिमीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। शरीरमा कुर्था सुरुवाल लगाएको सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतक सूर्य विनायक नगपालिका-२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालकाे हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएकाे छ। निजको छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भनी वृत्त ठिमीको महिला सेलमा निवेदन दिएकाे भक्तपुर प्रहरी परिसरले जनाएको छ।
भेटिएको शव पोष्टमार्टमको लागी के.एम.सि अस्पताल दुवाकोट भक्तपुर लगिएको जनाइएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०८० ०९:५४ शनिबार

