मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुन्दरहरैंचा नगर अस्पतालका चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार भएको छ। हेटौंडाका चिकित्सकमाथि भएको कुटपिटका घटना सेलाउन नपाउँदै मोरङमा पनि चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार भएको छ।
सुरक्षाको ग्यारेन्टी र हेटौंडा घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने मागसहित देशभरका चिकित्सक आन्दोलित छन्। बारम्बार चिकित्सकमाथि कुटपिट तथा दुव्र्यवहार हुँदै आएकाले राज्यले गम्भीर भएर सोच्नुपर्ने र सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूले बताएका छन्।
बुढीगंगा गाउँपालिका ७ का ३८ वर्षीय शुक्रराज माझीले सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेका थिए। माझीले बिहीबार इमर्जेन्सी वार्डमा डिउटीमै रहेका डा. पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवले जानकारी दिए।
बिहीबार सार्वजनिक बिदा भएकाले अस्पतालको ओपिडी सेवा बन्द रहेको अवस्थामा शुक्रराजले आफ्ना बुबा तारिणीप्रसादलाई उपचारका लागि लगेका थिए। तारिणीलाई ज्वरो आएको भन्दै शुक्रराजले ओपिडी सेवा बन्द भएपछि अस्पतालको इमर्जेन्सी कक्षमा लगेको अस्पताल प्रशासनले जनाएको छ।
तारिणीलाई इमर्जेन्सी कक्षमा डिउटीमा रहेका डा. पोखरेलले स्वास्थ्य परीक्षणपश्चात् उनलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको छोरा शुक्रराजलाई जानकारी गराएका थिए। चिकित्सकको भनाइ सुन्नासाथ आक्रोशमा उत्रिएका शुक्रराजले डा. पोखरेलमाथि हातपात एवं गालीगलौज गरेको मेसु यादवले बताए। उनले भने, ‘एक्कासि शुक्रराजले डाक्टरमाथि मुक्का प्रहार गर्न खोज्दै गालीगलौज गरे। अस्पतालका सुरक्षा गार्ड र बिरामी कुरुवाले शुक्रराजलाई समातेर घटना हुन दिएनन्। उनका बुबाको अवस्था सामान्य छ।’
उपचारमा संलग्न कसैलाई पनि कुटपिट, गालीगलौज तथा दुव्र्यवहार गर्न नहुने र यस्ता घटना निन्दनीय भएको मेसु यादवले बताए। उनले भने, ‘पछिल्लो समय चिकित्सकले सबै ठाउँमा हातपात तथा दुव्र्यवहार सहनुपरेको छ। कोही पनि चिकित्सक बिरामीप्रति नराम्रो गरौं भन्ने कहिल्यै सोच्दैनन्, बरु आफूले उपचार गरेको बिरामीलाई निको पारेर घर फर्काउन पाउँदा आनन्द हुन्छ।’ डा. पोखरेलले डिउटीमै रहेको अवस्थामा आफूमाथि दुव्र्यवहार र हातपात भएको बताए।
हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै कोशी अस्पतालको ओपिडी सेवा दुई घन्टा बन्द गरी विरोध जनाएका छन्। चिकित्सकले ओपिडी सेवा अवरुद्ध गरेपछि लाइनमा रहेका अधिकांश सेवाग्राही उपचार नगरी घर फर्किएका थिए। डा. पोखरेलले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय हरैंचाले शुक्रराजलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका शुक्रराजविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थपेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी भनाइ छ।
प्रकाशित: ३० भाद्र २०८० ०२:०२ शनिबार