२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘बादसाही’ले बदलेको राजपुरको पहिचान

खानपान

गौरदेखि करिब ६ किलोमिटरको दुरीमा आउँछ राजपुर। राजपुर गाउँको यस भेगमा बादसाहत् छ। कारण हो–बादसाही। ‘बादसाही’ अर्थात् छेनाबाट बनेको स्वादिलो मिठाई। यस भेगमा चर्चित भनाइ छ–राजपुरके मिठाईबिना दाँतवाला खाई।

बाहिरी आवरणबाट खैरो र दानेदार देखिने डल्लो हेर्नमा सुक्खा र मुखमा हाल्दा नरम र रसिलो हुन्छ। रसिलो डल्लोले अद्भुत स्वाद दिन्छ। शुद्ध दुधबाट बनेको छेनालाई डल्लो बनाएर शुद्ध घिउमा यो मिठाई पकाइन्छ।

यो अरू मिठाईजस्तो गुलियो हुँदैन। मिठाई खानमा रुचि नराख्नेहरूले पनि यो मिठाई एक वटाभन्दा बढी खाइहाल्छन्। खाएपछि बादसाहीको स्वाद जिब्रोमै बसिहाल्छ। स्वादकै कारणले यो मिठाई खाइराखू जस्तो लाग्छ। राजपुरको बादसाही नामी छ। बादसाहीका कारण राजपुरले पनि नाम कमाएको छ।

राजपुरका सेख सतारको बादसाही पसल यहाँको पुरानो र नामी छ। सेख अहिले ९५ वर्षका भए। उनी तीन दशक बढी समयदेखि बादसाही बनाउँदै आएको बताउँछन्। सेखपछि उनका छोरा सम्साद मिठाई पसल चलाउँथे। अहिले तेस्रो पुस्ताका उनका छोरा कलैन मुस्ताक पसल चलाउँछन्। उनको पसल राजपुर नगरपालिका १ बहुअर्वा चोकमा छ।

बादसाही बनाउने कच्चा पदार्थ दुध हो। ताजा दुधबाट ‘छेना’ निकाल्छन्। उक्त छेनाबाट बादसाही बन्छ। दैनिक रूपमा ताजा बनाएर बेच्ने कारणले नै राजपुरको यस मिठाईको स्वाद धेरै मान्छेको जिब्रोमा बसिसकेको छ। बादसाहीका कारण यस ठाउँले विशिष्ठ पहिचान प्राप्त गरेको सम्साद बताउँछन्।

यहाँको बादसाही छिमेकका जिल्ला बारा, पर्सा, सर्लाहीमा मात्र होइन, राजधानी काठमाडौं, भारतको मुम्बई र खाडी देशहरू साउदी अरेबिया, कतार र मलेसियासम्म जाने गरेको सम्साद बताउँछन्।

व्यापार भएर जानेभन्दा यस भेगका मानिस बाहिर बस्दा यहाँबाट कोसेलीका रूपमा बादसाही लैजाने गरेका छन्। दैनिकजसो यहाँबाट पाँच सयदेखि एक हजार पिस बादसाही बाहिर जान्छन्। कोही खाडी मुलुक जाने छ भने त पाँच हजार पिससम्म बनाउनुपर्छ।

यहाँको बादसाही स्वादकै कारण मिठाईको बादसाहको पहिचान बनाउन सफल छ। राजपुरको बादसाहीको स्वादलाई प्रवद्र्धन गरी विदेश निर्यातको बलियो सम्भावना छ। राजपुरको बादसाहीको इतिहास धेरै पुरानो नभए पनि स्वादले धेरैको जिब्रोमा अमिट स्वाद छोड्न सफल भएको छ।

भारतको विहार राज्यका धेरै सहरमा बादसाही पुरानो मिठाई हो। त्यतातिर ठेलादेखि रेल गाडीमा समेत बादसाही सजिलै पाइन्छ। उता यो मिठाई मिसावटका कारण मिठाई पारखीको मनबाट दूर हुँदै गएको छ। तर, राजपुरको बादसाहीले भने आफ्नो बादसाहत कायम राखेको छ। यहाँ तीन दशक बढी समयदेखि बादसाहीको शुद्धि र प्रसिद्धि कायम रहेको स्वादका पारखी बताउँछन्।

९५ वर्षीय सेख सत्तारको मिठाई पसलमा बादसाही बनाउने कालिगड त्रिवेणी पटेल एक दशकदेखि काम गर्छन्। उनैले मुखै रसाउने बादसाहीमा स्वाद भर्छन्। यस पसलमा कालिगड परिवर्तन भइरहे पनि स्वादको बादसाहत् भने कायमै रहन्छ।

सेखले पहिलो पटक सीमापारि भारतीय सहरमा बादसाहीको स्वाद चाखेका रहेछन्। अरू मिठाईभन्दा भिन्न तर जिब्रोबाट नछुट्ने स्वादले सेखलाई तान्यो। उनी त्यहाँबाट चाहिने कच्चा पदार्थ र तरिका सिकेर फर्केपछि गाउँमै प्रयास थाले। दुध मगाएर त्यस्तै मिठाई बनाउन सुरु गरे। पहिलो प्रयासमा भारतमा आएजस्तो स्वाद भएन।

‘दुधको खुवा बनाउने, त्यसपछि गोलो डल्लो बनाउनेसम्म ठिकै हुन्थ्यो। उम्लिँदै गरेको चिनीको चास्नीमा पकाउनुपर्ने हुन्छ। त्यसमा म फेल खान्थें,’ उनले अनुभव साटे, ‘खुवाको डल्लो रसभित्रै फुटेर हलुवा हुन्थ्यो। बिस्तारै आकार र स्वाद ठ्याक्कै मिल्न पुग्यो र बादसाहीलाई आकार दिएँ।’

बादसाहीको स्वाद फैलिँदै गयो। बादसाही मानिसको कोसेली बन्न थाल्यो। यो बाटो भएर आउजाउ गर्नेहरू राजपुरमा विश्राम लिने र बादसाहीको स्वाद लिने चलन बढ्न थाल्यो। अहिले राजपुर बादसाही मिठाईका लागि प्रसिद्ध बन्यो।

यसरी बन्छ बादसाही

उम्लिएको दुधमा फिटकिरी हालेपछि फाट्छ। त्यसबाट छेना निकालेर त्रिवेणी पटेल घण्टौ घोटेर अझ नरम र मलिलो पार्छन्। घोटेर तयार भएको छेनाको एकै आकारका गोलाकार डल्ला बनाउँछन्। यता चिनीको गाढा चास्नी कडा तापमा उम्लिन थालेपछि त्यसमा त्रिवेणीले बिस्तारै छेनाको डल्लो हाल्छन्। चास्नीभित्रै पाकेर त्यो डल्लो खैरो नबनुन्जेल फलामको झाँझले बिस्तारै चलाउँछन्। मिठाईमा चास्नी पूरै डुबेपछि केही बेर छोडेर बाहिर निकाल्छन्। त्यसपछि रस चुहिएर अलिक सुख्खा भएको बादसाही अर्को भाँडोमा राख्छन्। यो अझ स्वादिलो हुन्छ।

एक किलो दुधमा करिब २ सय ५० ग्राम छेना निस्किन्छ। त्यसमा १० वटा बादसाहीको डल्लो बन्छ। एक किलो बादसाहीमा करिब २० वटा हुने उनी बताउँछन्।

यसरी चार किलो दुधले एक किलो बादसाही बन्छ। किलोको भाउमा किन्नेलाई ६ सय रूपैयाँ प्रतिकिलो र प्रति गोटा ३० रूपैयाँमा बादसाही बिक्री हुन्छ। सम्साद भन्छन्, ‘मैले बेच्ने बादसाहीको आकार ठुलो हुन्छ, २ वटा मात्र खाएपछि अघाउने।’

हेर्नमा खैरो रङको आकर्षक, खानामा अद्भुत स्वादले भरिएको रसिलो हुन्छ। यहाँको बादसाही दुबई, साउदी, कतार र मुम्बईमा बढी रुचाइन्छ। उनले भने, ‘हामीले यहाँबाट डब्बामा प्याक गरेर पठाउँछौं। यहाँको बादसाहीले दुनियाँमा नेपाल र राजपुरको लोकप्रिय पहिचान बनाएको छ। म सन्तुष्ट र खुसी छु।’ 

प्रकाशित: ३० भाद्र २०८० ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App