१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बँदेलले मकै खाएर किसान हैरान

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ धोबीखोला तामाड बस्ती गुन्डुमा झन्डै ७० घरपरिवारको बसोबास छ।पहाडको भिरालो पाखोमा परेको यो क्षेत्रमा उब्जनीका नाममा मकै फल्छ।तर त्यो मकै पनि बँंदेलले खाइदिँदा स्थानीयबासी पीडित छन्।

स्थानीय सन्के तामाडको घरको छाप्रोसँगै माथि डेढ रोपनी पाखोबारी भएको बताउँछन्।भिरपाखामा परेकाले पानी नहुने र यही कारण सबै बारीमा उनले चैतमा मकै छरेका थिए।अहिले मकै भाँंच्ने बेला भएको छ।तर उनले भाँंच्न नपाउँदै बँदेलले खाइदिन्छ।

सन्केले दुःख बिसाउँदै भने, ‘यो समस्या अहिलेदेखिको होइन।उहिलेदेखि नै हो।यसका लागि हामीले वन कार्यालय अनि कता हो कता सहयोगका लागि पुग्यौं तर कहींबाट केही भएन ।’  

सन्तेको परिवारमा भाउजू, आफू अनि दुई छोरा गरी चारजनाको परिवार छ।तर उनीहरूको बाँंच्ने आधार भनेको त्यही मकै नै हो।यसबाहेक अरू केही छैन।‘दुवै छोराहरूले पनि सानोमै स्कुल छोडे, पढ्नलेख्न सकेनन्, अहिले उनीहरूको काम पनि केही छैन,’ सन्तेले भने, ‘बारीमा फलेको मकैबाहेक हाम्रो अरू कुनै बाँच्ने आधार छैन।खाने भनेको मकै हो, त्यो पनि रातभरि बँदेलले खाएर हैरान ।’  

धोबीखोला तामाड बस्ती सहरबाट धेरै टाढा पनि छैन।भक्तपुरको सूर्यविनायकबाट झन्डै आठ किलोमिटर दक्षिणमा पर्छ।तर पूरै पहाडको पाखोबारी हो यो ठाउँ।यहाँंका घर पनि सबै एकतले छाप्रा मात्रै छन्।कसैको टहराजस्तै मात्रै छ।गाउँमा आम्दानी गर्न सक्ने अरू कुनै बाटो पनि छैन ।

‘गाउँसम्मै सडक पुगेको छ तर सडकले खान दिँदैन,’ उनीहरूको सामूहिक आवाज थियो, ‘गाउँमा कृषिबाहेक अरू केही गर्न सकिने अवस्था छैन ।’ बिहान ५ बजेदेखि नै पौने घण्टा (४५ मिनेट) को फरकबाट त्यहाँ मिनीबस भने चल्छ।यो ठाउँबाट नजिकको स्कुल तीन किलोमिटर तल सहरतिर छ।साथै स्वास्थ्य चौकी पनि तीन किलोमिटर तल सहरतिरै पर्छ।

स्थानीय एक सय चार वर्षिया मनमाया तामाङले भौगोलिक विकटताका कारण उहिलेदेखि अहिलेसम्म गाउँ जस्ताको त्यस्तै नै रहेको सुनाइन्।‘गाउँमा बाटो पुगेको छ।त्यति हो,’ फरक सुनाउँदै उनले भनिन्।सूर्यविनायक पुग्ने मिनी बसको अन्तिम बस स्टप यही ठाउँमा पर्छ।मिनी बसपार्कबाट अलि माथि चढेपछि यो ठाउँ पुगिन्छ।

पाँंचजनाको परिवारमा रहेका स्थानीय पदमबहादुर तामाङले बँदेलले दुःख दियो भनेर बन्दुकले मार्न नहुने बताए।‘यही कारण कि त राती बारीमा बास बस्नुप¥यो कि त खाए खाओस् भनेर बस्नुप¥यो,’ उनले भने।आफ्नो परिवारको मात्रै नभई स्थानीय ७० परिवारको मकैबाहेक अरू केही स्रोत नभएको उनले सुनाए।

सूर्यविनायक नगरपालिका–७ गुन्डुले राखेको तथ्यांकअनुसार यो वडा ७.४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।वडाको जनसंख्या पाँच हजार ६ सय ८९ जना रहेको तथ्यांक छ।भक्तपुरको सूर्यविनायक नगरपालिका –१ देखि १० सम्ममा सबैभन्दा विकट ठाउँका रूपमा यो ठाउँलाई चिनिन्छ।

प्रकाशित: २९ भाद्र २०८० ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App